जेठ ३१ सम्म निषेधाज्ञा थप्ने कपिलवस्तु प्रशासनको तयारी, नथप्न जनप्रतिनिधिको दबाब | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

जेठ ३१ सम्म निषेधाज्ञा थप्ने कपिलवस्तु प्रशासनको तयारी, नथप्न जनप्रतिनिधिको दबाब

शम्भु माली,
कपिलवस्तु । कोरोनाको दोश्रो भेरियन्ट र यस संक्रमणको ‘चेन ब्रेक’ गर्न भन्दै कपिलवस्तुमा चौथो पटक थप भएको निषेधाज्ञाको अवधि जेठ २४ गते (भोलि) मध्यराति १२ बजे सकिँदै छ । बैशाख २१ गतेबाट जिल्लामा निषेधाज्ञा भएकोमा ठ्याक्कै भोलि १ महिना ३ दिन पुरा हुने छ ।

यस्तो स्थितिमा निषेधाज्ञाको पक्ष र विपक्षमा विभिन्न कुराहरु आइरहेका छन् । लामो समयसम्मको निषेधाज्ञाले मुख्य गरी निम्न आय भएका र मजदुरी गरि खाने वर्गलाई समस्या परिरहेको छ भने व्यापारी वर्गबाट अब लकडाउन खोल्नु पर्ने राय आउन थालेको छ । तर आम सर्वसाधारण भने संक्रमित र मृत्यु हुनेहरुका खबरले निषेधाज्ञा खोल्न नहुने पक्षमा देखिन्छन् ।

अहिले जिल्लामा कोरोना संक्रमणको दरमा केही कमी देखिन्छ भने मृत्युदर पनि कम छ, यस अर्थमा कम छ । तर जिल्लामा जुन हिसाबले निषेधाज्ञा भयो त्यस अनुसार पीसीआर र एन्टिजेन जाँच भने हुन सकेको छैन ।

१० पालिकाहरुमध्ये एक दुई पालिकाबाहेक कसैले पनि व्यापक रुपमा पीसीआर जाँचको दायरा बढाउन सकेनन् । जिल्लाका कोरोना फोकल पर्सन उमेश घिमिरेले यो विडम्बना भएको बताएका छन् । उनले भने–‘जिल्लामा १ महिना बढी निषेधाज्ञा त भयो तर, पालिकाले पीसीआर र एन्टिजेन टेस्ट बढाउन सकेनन् । यसले गर्दा कोरोना संक्रमण घटेजस्तो देखिन्छ । तर त्यो स्थिति छैन । भित्रभित्रै भुसको आगो झैँ कोरोना सल्किरहेको छ ।’

‘यदि जाँच नबढाई जनतालाई घरमा थुन्ने मात्र काम हुन्छ भने यो निषेधाज्ञा लगाएर केही नतिजा हासिल गर्न सकिन्न । भोलिको स्थिति भयावह देख्छु मैले’, उनले थपे । हुन पनि उनले भने जस्तो जिल्लामा कोरोना जाँच हुन सकेको छैन । यस्तो स्थितिमा निषेधाज्ञा थपिएला कि भोलिबाट खुल्ला भन्नेमा जिल्लाबासीले निर्णय कुरेर बसेका छन् ।

तर यसको निर्णय लिने काम भने जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक नवराज अधिकारी, जिल्ला समन्वय समितिका सभापति नारायण खनाल, जिल्लाका १० पालिकाका नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत सहितको जिल्ला विपद् व्यवस्थापन समिति डीसीसीएमसीको बैठकले गर्ने छ । सम्भवतः आइतबार (आज) डीसीसीएमसीको बैठक बसेर निर्णय आउने छ ।

एक श्रोतका अनुसार जनप्रतिनिधिहरु निशेधाज्ञा खोल्नु पर्ने पक्षमा देखिएका छन् । गोप्य श्रोत भन्छ ‘डीसीसीएमसीका पछिल्ला ३ वैठकमा निषेधाज्ञा गर्न नहुने या खुकुलो गर्ने भन्दै जनप्रतिनिधिले नै प्रशासनलाई दबाब दिने गरेको र संक्रमणको भयावह स्थिति नभएको भन्दै खोल्दा फरक नहुनेमा कतिपय जनप्रतिनिधिले जिद्धि गर्ने गरेको पनि श्रोतले बतायो ।

यता प्रशासनले भने जनप्रतिनिधिको कुरा पनि सुन्ने तर निर्णय लिँदा स्वास्थ्यकर्मीको भनाई र जिल्लाको स्थिति हेरेर निर्णय लिइने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । आफूसंग प्रत्यक्ष रुपमा जनप्रतिनिधिले निशेधाज्ञा खोल्न दबाब नदिएको तर त्यस्तै कुरा सुन्नमा आएको उनको भनाई छ ।

यद्यपी प्रमुख जिल्ला अधिकारी पाण्डेले जेठ ३१ गतेसम्म निशेधाज्ञा हुन सक्ने संकेत गरेका छन् । यस विषयमा आइतबार दिउँसो १ बजे डीसीसीएमसीको बैठक बस्ने पनि उनले जानकारी दिए । जिल्लामा जाँच नबढे पनि अस्पतालमा विरामीहरुको संख्या कमी नभएका कारण निषेधाज्ञा खोल्दा झन् जोखिम हुने पाण्डेको भनाई छ । छिमेकी जिल्ला रुपन्देही लगायतमा पनि जेठ ३१ गतेसम्मको लागि निषेधाज्ञा भएकाले कपिलवस्तुमा पनि यस्तै खालको निर्णय हुन सक्ने पाण्डेले बताए ।

दोश्रो भेरियन्टपछि कपिलवस्तुमा अहिलेसम्म कोरोनाका कारण १ सय ५९ जनाको ज्यान गएको छ भने ३ हजार १ सय ३६ जना संक्रमित भएको कोरोना फोकल पर्सन उमेश घिमिरेले बताए । उनका अनुसार यो गत चैत्र यताको तथ्याङ्क हो । अहिले ६ सय ८६ सक्रिय संक्रमितले उपचार गराइरहेका छन् ।

यता जिल्लाको खास बस्तुस्थिति नबुझी निशेधाज्ञा खोल्न जनप्रतिनिधिले प्रशासनलाई दबाब दिनु गलत भएको पत्रकार, नागरिक समाज, मानवअधिकारकर्मी, स्वास्थ्यकर्मी, राजनीतिज्ञ र सर्वसाधारणले बताउँदै आएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);