स्वास्थ्य मापदण्ड विना जथाभावी खोलिएका आईसोलेशन केन्द्र घातक हुन सक्छन् : सहप्रवक्ता अधिकारी | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

स्वास्थ्य मापदण्ड विना जथाभावी खोलिएका आईसोलेशन केन्द्र घातक हुन सक्छन् : सहप्रवक्ता अधिकारी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य मापदण्ड पुरा नगरी जथाभावी आईसोलेशन सेन्टर नखोल्न सबैलाई आग्रह गरेको छ । कोभिड १९ संक्रमणका बिरामीको संख्या बढेसंगै विभिन्न संघसंस्थाहरुले आईसोलेशन सेन्टर खोल्ने क्रम पनि बढ्दै गएको भन्दै मन्त्रालयले स्वास्थ्य मापदण्ड विनाका आईसोलेशन केन्द्र घातक हुने चेतावनी दिएको छ ।

ठूलो हल वा कोठामा बेड, ओढ्ने ओछ्याउने, अक्सिजनका सिलिण्डर लगायत सामाग्री राखेर आईसोलेशन सेन्टर खोल्ने होडबाजी जस्तो नै चल्न थालेपछि मन्त्रालयले जथाभावी आईसोलेशन सेन्टर नखोल्न सचेत गराएको हो ।

मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले आईसोलेशन सेन्टर खोल्दै गर्दा आवश्यक स्वास्थ्यकर्मीहरु, उपचारमा चाहिने उपकरणहरु, औषधिहरु र क्रिटिकल केयरका लागि लैजाने अस्पतालहरुको समन्वय , प्रत्यक्ष निगरानीका सुनिश्चितता गर्न सुझाव दिएका छन् । उनले सामान्य भौतिक पूर्वाधारको व्यवस्था मात्रै गरेर स्वास्थ्य मापदण्ड पालना गर्न नसक्ने गरी बनाईएका आईसोलेशन केन्द्रहरु स्वास्थ्यका हिसावले अर्को घातक हुनसक्ने चेतावनी दिए ।

सहप्रवक्ता अधिकारीले टोल टोलमा आईसोलेशन सेन्टरका नाममा स्वास्थ्य सामाग्रीहरुको ठूलो खपत हुने र साच्ची आवश्यक पर्ने अस्पतालहरुमा उपचार सामाग्रीको अभाव हुन सक्ने स्थिति श्रृजना भएकाले आफूहरु चिन्तित बनेको बताए । उनले आईसोलेशन सेन्टरमा स्वास्थ्य मापदण्ड अनुसार राख्नै पर्ने स्वास्थ्य सामाग्री, जनशक्तिको व्यवस्थापन तथा त्यहाँबाट निस्कने फोहर व्यवस्थापनको विषय चुनौतीपूर्ण रहेको बताए ।

डाक्टर अधिकारीले कोभिड १९ को उपचार भई रहेको अवस्थामा संक्रमण रोक्ने किसिमका गतिविधिमा विशेष ध्यान दिन पनि आग्रह गरे । उनले आईसोलेशन सेन्टरहरु खोल्दै अस्पताल जस्तो क्रिटिकल केयर गर्ने स्थानहरुमा अक्सिजन लगायत स्वास्थ्य उपचारका सामाग्री अभाव हुने चुनौती पनि बढ्दै जाने भएकाले स्वास्थ्यकर्मीसहितको क्रिटिकल केयर र आवश्यक पर्दा अस्पतालहरुको समन्वय हुने व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याए ।

डाक्टर अधिकारीले संक्रमणलाई फैलन नदिन स्वास्थ्य सर्तकताका मापदण्ड कडाईका साथ अनुशासित भएर पालना गर्न सबैलाई अपिल समेत गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);