काठमाडौं । नेकपा एमालेका नेपाल–खनाल पक्षका सांसदको बैठक सिंहदरबारमा सुरु भएको छ ।
सिंहदरबार स्थिति संघीय संसद सचिवालयमा बैठक सुरु भएको हो । बैठक स्थलमा माधव नेपाल, भीम रावल लगायतका नेपाल–खनाल पक्षका सांसदहरु प्रवेश गरिसकेका छन् ।
बैठक कक्षमा प्रवेश गर्नु अघि सांसद झपट रावलले आफूहरुको प्रयास असफल भएको बताएका छन् । बैठकमा प्रवेश गर्नुअघि उनले पत्रकारसँग भने –‘ अन्तिम प्रयास असफल भयो, हामी स्तब्ध छौँ ।’
प्रतिनिधि सभामा आज प्रधानमन्त्रीले विश्वासको मत लिनु अघि नेकपा एमालेको फागुन २८ गतेको बैठकको निर्णय फिर्ता लिनु पर्ने लगायतको माग नेपाल–खनाल पक्षले राख्दै आएको थियो ।
ती माग सम्बोधन नगरे आफ्ना पक्षका सांसदले प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिने लगायतको कठोर निर्णय गर्ने नेपाल खनालका पक्षले बताउँदै आएको छ ।
माग सम्बोधनका लागि आज बिहान ९ बजेसम्मको समय दिइएको थियो । तर सो समयसम्म कुनै छलफल अघि नबढेपछि नेपाल गुटले रणनीति बनाउन बैठक राखेको हो ।
आज दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दै छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने कार्यतालिका रहेको छ ।
आइ.एन.ए