काठमाडाैं । एमाले नेताहरूसहित कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका प्रधानमन्त्री केपी ओलीलाई कांग्रेस नेताहरूले विश्वासको मत नदिने प्रतिक्रिया दिएका छन् ।
बुधबार देउवानिवास पुगेका प्रधानमन्त्री ओलीले आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए। जवाफमा देउवासहितका कांग्रेस नेताहरूले विश्वासको मत दिन नसकिने प्रतिक्रिया दिएको कांग्रेस नेता प्रकाशशरण महतले बताएका हुन।
‘मूलभूत रूपमा उहाँले विश्वासको मत मैले लिइरहेको छु। यसमा कांग्रेसको सहयोगको अपेक्षा छ भन्नुभयो। हामीले कांग्रेस विपक्षी पार्टी हो। अहिले हामीले तपाईंलाई सहयोग गर्ने अवस्था छैन भन्ने कुरा राख्यौं’, महतले भने। प्रधानमन्त्री ओलीले आउँदो २७ वैशाखमा प्रतिनिधि सभाबाट विश्वासको मत लिने तय गरेका छन ।
भेटमा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीसहित एमालेका तर्फबाट महासचिव ईश्वर पोखरेल र नेताहरू सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा ’बादल’, विष्णु पौडेल सहभागी थिए। कांग्रेसका तर्फबाट सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला, विमलेन्द्र निधी, शशांक कोइराला, पूर्णबहादुर खड्का, प्रकाशशरण महतलगायतले सहभागिता जनाएका थिए ।