विश्वासको मत फकाउन पार्टी एकताको प्रस्ताव | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

विश्वासको मत फकाउन पार्टी एकताको प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत फकाउनका लागि नेकपा एकीकृत समजवादी र जसपासँग पार्टी एकताको प्रस्ताव अघि सार्नुभएको छ । संसद्को पहिलो दलबाहेकका सात दलसँगको गठबन्धनमा प्रधानमन्त्री बनेका प्रचण्डले विश्वासको मत लिनुअघि नै पार्टी एकताको प्रस्ताव अघि सार्नुभएको हो ।

प्रधानमन्त्री दाहालले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टी ९जसपा० अध्यक्ष उपेन्द्र यादवसँग यस्तो प्रस्ताव राखेको नेताहरूले बताएका छन् । प्रचण्डको उक्त प्रस्तावपछि आइतबार प्रधानमन्त्री प्रचण्डलाई भेट्न नेपाल र यादव सिंहदरबार पुग्नुभएको थियो । प्रधानमन्त्रीले मंगलबार विश्वासको मत लिने भएपछि उहाँले बृहत् वामपन्थी एकताको नारा दिएर विश्वासको मत लिने प्रयासमा रहनुभएको नेकपा एकीकृत समाजवादीका एक नेताले बताए । ‘पार्टी एकता जादुको छडीजस्तो छिनमै हुने कुरा हैन,’ उनले नेपाल समाचारपत्रसँग भने– ‘वाम एकताको प्रस्ताव सकारात्मक हो, हामीले पनि प्रयास गरेकै छौं । तर, आजै भोलि नै एकता गर्ने भन्ने असम्भव कुरा हो । उहाँले विश्वासको मत फकाउनका लागि फाल्नुभएको एजेन्डाका रूपमा हामीले हेरेका छौं ।’

सरकारमा सहभागी दलहरूबाटै विश्वासको संकट देखेपछि दाहालले सत्ता गठबन्धनभन्दा बाहिर रहेका दलहरूलाई विभिन्न आश्वासन देखाएर संसद्बाट विश्वासको मत फुत्काउने प्रयास गरिरहनुभएको छ । प्रचण्डसँग रिसाएका माधव नेपालले आइतबार बिहान प्रचण्डसँग तेस्रो भेट गर्नुभएको छ । शुरूमा कांग्रेससँग गठबन्धन तोड्नैपर्ने स्थिति आए एमाले अध्यक्ष केपी ओलीसँग सँगै गएर कुराकानी गर्ने प्रचण्ड र नेपालको बीचमा समझदारीलाई प्रचण्डले उल्लंघन गरेको भन्दै आपत्ति जनाउनुभएको थियो । तर, प्रचण्ड प्रधानमन्त्री भएपछि यी दुई नेताका बीचको यो तेस्रो भेटघाट भएको नेताहरूले बताएका छन् ।

नेपालले प्रधानमन्त्रीसँग पहिलोपटक प्रचण्डका भान्जा गोकुल भण्डारीको हात्तीवनस्थित निवासमा र दोस्रोपटक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटवार्ता गर्नुभएको थियो । त्यसपछि आइतबार माओवादी दलको कार्यालयमा नेपाल–दाहालबीच तेस्रो भेटवार्ता भएको हो । भेटमा प्रधानमन्त्रीले माधव नेपालसँग विश्वासको मत दिन र सरकारमा समेत सहभागी हुन आग्रह गर्नुभएको माधव नेपालको सचिवालयले जनाएको छ । दाहालले आइतबार शुरूमा माधव नेपाल र त्यसपछि जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पनि सँगै भेट गर्नुभएको हो । विश्वासको मत लिनेबारेमा नै छलफल भएको र दुई नेताहरू सकारात्मक रहेको नेताहरूले बताएका छन् ।
यद्यपि, मावध नेपालले २६ गते नै यस विषयमा निर्णय लिने नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले बताउनुभयो । उहाँले

नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘पार्टी अध्यक्ष नेपाललाई प्रधानमन्त्री दाहालले सरकारलाई विश्वासको मत दिन पटकपटक आग्रह गर्नुभएको छ । तर, हामीले के गर्ने भन्ने निर्णय गरिसकेका छेनौं । यस विषयमा निर्णय लिन अझै २ दिन बाँकी नै छ । राजनीतिकले कस्तो कोर्ष लिन्छ त्यही अनुसार निर्णय गर्छौं ।’माओवादीसँगको एकताभन्दा अघि नेकपा एकीकृत समाजवादी र जनता समाजवादीबीच एकता गर्ने गरी पत्र पठाएकोे नेकपा एकीकृत समाजवादीले जनाएको छ ।

नेकपा माओवादीले वाम एकताको प्रयासलाई सफल बनाउन पार्टीका नेताहरूसमेत लागिपरेको नेताहरूले बताएका छन् । ‘प्रधानमन्त्री प्रचण्डले नेकपा एस र जसपालाई सरकारमा ल्याउने प्रयास गरिरहनुभएको छ,’ माओवादीका एक नेताले भने–‘त्यसका लागि आवश्यक परे पार्टी एकता गर्नुपरे पनि पछि नहट्ने बताउनुभएको छ ।’ त्यस्तै, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले भने प्रधानमन्त्रीलाई विश्वासको मत दिने बारेमा छलफल चलिरहेको बताउनुभएको छ ।

नेपाली कांग्रेससँगको पुरानो गठबन्धन तोडेर एमालेसँग मिल्न पुगेका दाहालप्रति कांग्रेस आक्रोशित बनेको छ । २६ गते विश्वासको मत दिने भन्नुभएका प्रधानमन्त्री दाहाललाई कांग्रेसले मत नदिने प्रष्ट पारिसकेको छ । कांग्रेसले मत नदिने मात्रै होइन प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेका दलहरूको मतसमेत घटाउने प्रयासमा लागेको सत्ता गठबन्धनले अनुमान गरेको छ । सत्ता गठबन्धनका मुख्य खेलाडीका रूपमा रहेका नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले कांग्रेस यो सरकार ढाल्न प्रयत्नमा रहेको आरोप लगाउनुभएको छ । जनताले बनाएको यो सरकारले विश्वासको मत नपाओस् भनेर कांग्रेसले खेल्न थालेको उहाँको भनाइ छ ।

अहिलेको सरकारलाई जसपाले सरकारलाई समर्थन गरिसकेको छ भने नेकपा एस अझै पर्ख र हेरको अवस्थामा रहेको तर विश्वासको मत दिने पक्षमा रहेको छ । आइतबारको भेटमा प्रधानमन्त्री प्रचण्डले दुई नेतालाई आफूलाई विश्वासको मत दिन आग्रह गरेका गर्नुका साथै पार्टी एकताबारे पनि छलफल गरेको स्रोतको दाबी छ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराई र प्रधानमन्त्री प्रचण्डबीच पार्टी एकता गर्ने विषयमा शनिबार नै सहमति भइसकेको छ ।

उता लोकतान्त्रिक समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत÷नदिने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ । आइतबार बसेको कार्यकारिणी समितिले ठाकुरलाई अधिकार दिएको हो । पुस २६ मा विश्वासको मत लिनका लागि प्रधानमन्त्रीले समय लिनुभएको छ । सोही दिनसम्म साना दलहरूलाई स्थिर राख्न र आफ्नो पक्षमा विश्वासको मत लिनका लागि प्रधानमन्त्री प्रचण्डले अनेकन कसरतहरू गरी नै रहनुभएको नेताहरूले बताएका छन् । नेपाल समाचार पत्रबाट

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);