संसद्को पहिलो बैठक : कांग्रेस संयमित, ओलीमा पुरानै आक्रोश देखियो | ईमाउण्टेन समाचार

Our Network

चैत २५ २०८०, आइतबार

संसद्को पहिलो बैठक : कांग्रेस संयमित, ओलीमा पुरानै आक्रोश देखियो

काठमाडौं । संसद्को सबैभन्दा ठूलो दल भएर पनि प्रतिपक्षी बेन्चमा पुगेको नेपाली कांग्रेस प्रतिनिधिसभाको पहिलो बैठकमा संयमित देखियो । सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको संघीय संसद्को पहिलो बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता पूर्वप्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति सकारात्मक देखिनुभएको हो । तर, सोही बैठकमा सत्ताको चाबी बोकेको नेपाल कम्युनिस्ट पार्टी ९एमाले० मा भने पुरानै आक्रोश देखियो ।

तत्कालीन कांग्रेससँगको गठबन्धन छाडेर एकाएक एमालेसँग गठबन्धन गरी नयाँ सरकार निर्माण गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालप्रति भित्री असन्तुष्टि भए पनि संसद्को पहिलो बैठकमा देउवाले असन्तुष्टि पोख्नु भएन । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बहुदलीय लोकतन्त्रको अभ्यासअनुसार प्रचण्डले एमालेलगायत अरू दलको बहुमत पु¥याएर प्रधानमन्त्री भएपछि देशको जिम्मेवार दल कांग्रेसले त्यसलाई सहज स्वीकार गरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘संसदीय व्यवस्थामा उहाँले बहुमत पु¥याएकाले हामीले त्यसलाई सहज स्वीकार गरेका छौं । आगामी पाँच वर्ष देश र जनताका पक्षमा काम गर्नुहोस् भन्ने शुभेच्छा छ ।

हामी बाहिर बसेर गुण र दोषका आधारमा खबरदारी गरिरहन्छौैं ।’ उहाँले कांग्रेस–माओवादीलगायत पाँच दलको गठबन्धनले स्थानीय प्रदेश र संघीय निर्वाचन सहज रूपमा गरेको र मुलुकको व्यवस्था रक्षाका लागि एक ठाउँ रहे पनि नयाँ सरकार बनाउने सन्दर्भमा प्रचण्डजीले कांग्रेससहितका दलहरूलाई धोका दिएर प्रतिगमन भनिएकाहरूसँग मिलेको टिप्पणी गर्दै संसदीय राजनीतिमा पछिल्लो अभ्यास जनताप्रतिको धोका भएको आरोप लगाउनुभयो ।

संसद् भवन बाहिर कांग्रेस सचेतकले यसो भनिरहँदा पार्टी सभापति देउवाले भने प्रचण्डप्रति सहानुभूति प्रकट गर्नुभएको थियो । देउवाले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै भन्नुभयो– ‘प्रचण्ड प्रधानमन्त्री हुनुभएको छ, नयाँ मन्त्रिपरिषद् गठन भएको छ । प्रचण्डजीलाई बधाई दिन चाहन्छु, र सफलताको शुभकामना छ ।’ तत्कालीन गठबन्धन भत्किएपछि देउवाले यो नै पहिलोपटक सार्वजनिक मञ्चमा बोल्नुभएको हो । पार्टीका आन्तरिक छलफलहरूमा एमाले र प्रचण्डले धोका दिएको गुनासो गर्दै आएका देउवाले संसद्को सम्बोधनमा भने कसैप्रति गुनासो गर्नुभएन ।

सहकार्य र शक्ति बाँडफाँटका सम्बन्धमा छलफल चलिरहँदा एमालेका अध्यक्ष ओली निवास बालकोट पुगेर सत्ता समीकरण परिवर्तन गरेका दाहाललाई देउवाले पहिलो संसद् बैठकमा सम्बोधन गर्ने क्रममा पटकपटक कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । बैठकअघि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै कांग्रेसका नेता अर्जुननरसिंह केसीले कांग्रेसले संसद्मा सशक्त र रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने र जनताको सरोकारका विषयलाई केन्द्रमा राखेर संसदमार्फत् सरकारलाई निर्देशन दिने काम गर्ने बताउनुभयो ।

बैठकलाई सम्बोधन गर्ने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले अघिल्लोपटक आफूले विघटन गरेको संसद् पुनःस्थापना गरेर आफूलाई पाखा लगाएको भाव व्यक्त गर्नुभयो । आफूले गरेको संसद् विघटनलाई सही सावित गराउने प्रयास गर्दै ओलीले भन्नुभयो– ‘प्रतिनिधिसभा विघटन गर्दा प्रतिगमन हुने भए बेलायतमा त कतिपटक प्रतिगमन भएछ भएछ । संसदीय प्रणालीको जन्मदाता देशमा अस्तिसम्म पनि प्रतिगमन भइरहेको थियो । यत्तिधेरै जान्ने पनि अलि नहोऔं की रु मौकाअनुसारका यति धेरै व्याख्या पनि नगरौं ।’

उहाँले निर्वाचन अघिका गतिविधि हेर्दा केही परिवर्तनको अपेक्षा जनतामा भएकै कारण नयाँ दलहरू आएको टिप्पणी गर्दै भन्नुभयो– ‘यो सरकारलाई सहज परिस्थति छैन । धेरै असहजताका बीच काम गर्नु पर्नेछ ।’ आफ्नो नेतृत्वको अघिल्लो सरकार ढालेको स्मरण गराउँदै उहाँले भन्नुभयो– ‘लोकतान्त्रिक मूल्य मान्यतामा रहेको मुलुकमा सरकार बन्न पाएको छैन, बिगार्नेतिर लाग्न हुन्न ।’ ओलीको सम्बोधनमा वर्तमान नयाँ सरकारका अपेक्षा र योजनाभन्दा पनि अघिल्लो सरकार विघटनकै कुराले बढी प्राथमिकता पाएकाले ओलीले आफैंले बोकेका प्रचण्डलाई पुनः छाडिदिने संकेत गरेजस्तो महसुस भएको प्रतिनिधिसभा सदस्य एवं कांग्रेसका केन्द्रीय सदस्य रामहरी खतिवडाले बताउनुभयो ।

उहाँले आगामी पाँच वर्षे कार्याकालका लागि शुरू भएको प्रतिनिधिसभाको पहिलो बैठकमा सत्ता सहयात्री दल एमालेमा पुरानै रिसिइबी बाँकी नै रहेको अनुभूति देखिएको टिप्पणी गर्नुभयो । संसद् बैठकमा ओलीबाहेक अन्य राजनीतिक दलका नेताहरूले वर्तमान सरकारप्रति कुनै टिप्पणी गरेनन् । दलका शीर्ष नेताहरूले नव निर्वाचित सांसदहरूलाई बधाइ एवं शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डप्रति सहानुभूतिसमेत प्रकट गर्नुका साथै सकारात्मक भएर अघि बढ्ने विश्वास व्यक्त गरे ।

बैठकमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीय शासन प्रणालीले देशको अर्थतन्त्र ओरालो लागेको टिप्पणी गर्नुभयो । उहाँले भएका कारखाना बन्द भएकोमा असन्तुष्टि व्यक्त गर्दै मन्त्री र सांसदहरू धेरै हुँदा अर्थतन्त्रले नधान्ने र संघीयता नटिक्ने दाबी पनि गर्नुभयो ।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले राप्रपाले राष्ट्रियता, सुशासन, विकास र सेवा प्रवाहको विषयलाई संसद्मा सशक्त ढंगले उठाउने बताउनुभयो । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठ चौधरीले सरकारलाई आफ्नो पार्टीले विश्वासको मत दिने जानकारी गराउनुभयो । संसद् बैठकमा बोल्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समेत प्रचण्डलाई विश्वासको मत दिने संकेत गर्नुभयो । समाचारपत्रबाट

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);