गणतन्त्रपछि राजाका शालिक भत्किए, १६ वर्षपछि सरकारले नै मनायो पृथ्वी जयन्ती | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

गणतन्त्रपछि राजाका शालिक भत्किए, १६ वर्षपछि सरकारले नै मनायो पृथ्वी जयन्ती

काठमाडौं । संसदीय राजनीतिमा आएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कै बलमा १६ वर्षअघि सार्वजनिक विदा कटौती गरिएको राष्ट्रिय एकता दिवस अर्थात पृथ्वी जयन्तीमा माओवादी केन्द्रकै नेतृत्वको सरकारले पुनः सार्वजनिक बिदा दिएको छ । सरकारले बुधबार राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउन सार्वजनिक बिदा दिएको हो ।

पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसरमा सरकारले सार्वजनिक बिदा दिएर उहाँप्रति सम्मान गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एकता दिवसलाई भव्यताका साथ मनायो ।

सरकारको एक घटकका रूपमा रहेको राप्रपाले पृथ्वी जयन्ती मनाउन सार्वजनिक बिदा दिनुपर्ने माग राखेको थियो । संसद्का प्रायः सबै दलको समर्थनमा प्रधानमन्त्री बनेका नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) कै बलमा बिदा कटौती गरिएकोमा अहिले उहाँले नै सार्वजनिक बिदा दिनुभएको जिकिर गर्दै राप्रपाका महामन्त्री राजेन्द्र गुरुङले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘राष्ट्रिय एकता दिवस जनताको माग र राप्रपाको एजेन्डा भए तापनि नेपालका सबै दलहरू विस्तारै राप्रपाको एजेन्डामा आउँदै गरेका देखियो । संघीयता र धर्म निरपेक्षता यो मुलुकलाई आवश्यक हैन । विस्तारै दलहरू सच्चिएर देश र जनताको आवश्यकतालाई महसुस थालेको छ ।

राज्यले सार्वजनिक बिदा दिएर यो दिवसलाई सरकारले नै मनाउनुपर्छ भन्ने आम नागरिकको पनि माग रहेको जिकिर गर्दै उहाँले उक्त एजेन्डा कार्यान्वयन भएकोमा सबै नेपालीहरूमा खुसी छाएको बताउनुभयो । राप्रपाले एजेन्डा केन्द्रित राजनीति गरेको दाबी गर्दै उहाँले भन्नुभयो– ‘हिजो जसले दौरा सुरुवाल लगाउँदा यो त पञ्चेहरूले लाउने हो भन्ने गणतन्त्रवादीहरू आज दौरा सुरुवालमै सजिएर सपथ खाइसकेका छन् ।

अब यसै गरी राप्रपाले उठाएको हिन्दु राष्ट्र र अभिभावकीय राजसंस्थालाई पनि विस्तारै उहाँहरूले स्वीकार्नुहुन्छ ।’ प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गत ११ गते पहिलोपटक नेपाली पोशाक दौरा सुरुवाल लगाएर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्रीको सपथ लिएसँगै दौरा सुरुवालको विषयले चर्चा पाएको थियो ।

उहाँले राप्रपाले प्रदेशलाई स्वीकार नगरेकोले विस्तारै संघीयता पनि खारेज हुने विश्वास व्यक्त गर्नुभयो । विश्वेश्वर प्रसाद कोइरालाले पनि राष्ट्रिय एकता र मेलमिलापको नीति अवलम्बन गर्नुभएको जिकिर गर्र्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भन्नुभयो– ‘राष्ट्रिय एकता दिवसलाई जसले कटौती गर्यो आज उसैले आवश्यक ठानेर सार्वजनिक बिदाको निर्णय गर्यो ।’

२०६४ साल अघिसम्म राष्ट्रिय एकता दिवसका दिन बिदा दिने चलन भए पनि गणतन्त्र स्थापनापछि नेताहरू नै बडो क्रान्तिकारी भएर पुराना सम्पदा, संस्कृतिहरू, राजाका शालिकहरू भत्काउने काम भएको टिप्पणी गर्दै कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले भन्नुभयो– ‘सबै जात धर्म वर्गलाई एकै ठाउँमा ल्याएर सिंगो नेपाल एकीकरण गर्ने राजालाई सम्झन अहिले सबै राजनीतिक दलहरू एक भएका छन्, यो सबैका लागि खुसीको कुरा हो ।’

मुलुक संघीय गणतन्त्रमा प्रवेश गरिसकेपछि समेत देशभरमा राजाका शालिकहरू भत्काएर क्रान्तिकारिता देखाउने माओवादी नै राजसंस्थाको वकालत गर्दै हिँडेको राप्रपाको एजेन्डामा सहमत देखिनु मुलुकको व्यवस्था परिवर्तन हुने कुराको संकेत भएको माओवादीका एकाथरी नेताहरूको भनाइ छ ।

पृथ्वी जयन्तीको अवसरमा राप्रपाले बुधबार भृकुटी मण्डपमा आयोजना गरेको कविता गोष्ठीमा विभिन्न कविले राष्ट्रनिर्माणका क्रममा राष्ट्रनिर्माताले झेल्नुपरेका दुःख कष्ट, त्याग तथा साहस र योगदानको पक्षलाई विभिन्न आयामबाट अभिव्यक्त गरेका छन् । सोही अवसरमा रक्तदान कार्यक्रमसमेत गरिएको थियो । पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन राप्रपाले जलपान समारोहको आयोजना गरेर प्रधानमन्त्री, मन्त्री, विभिन्न राजनीतिक दलका प्रमुख तथा नेता, नेपाल सरकारका उच्चपदस्थ व्यक्तित्व एवं नेपालको राष्ट्रिय जीवनका विभिन्न क्षेत्रका व्यक्तित्वलगायतलाई आमन्त्रण गरेको थियो ।

उक्त कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता राचन्द्र पौडेल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्दका वरिष्ठ उपाध्याक्ष एवं उप्रप्रधानमन्त्री नाराणकाजी श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछाने, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत नेताहरूको सहभागिता रहेको थियो ।

प्रधानमन्त्री प्रचण्ड भने बुधबार नै गोरखा जानुभएका कारण कार्यक्रममा सहभागी नभएको उहाँको सचिवालयले जनाएको छ ।
नेपाल एकीकरणका अगुवा पृथ्वीनारायण शाहको जन्मजयन्ती पुस २७ गते सार्वजनिक बिदा दिँदै आए पनि युद्धको पृष्ठभूमिबाट भरखरै शान्ति प्रक्रियामा आउन लागेको माओवादीकै मागबमोजिम २०६३ सालको अन्तरिम सरकारले बिदा कटौती गरेको थियो ।

२०७४ सालमा मन्त्रीपरिषद्को बैठकमा तत्कालीन गृहमन्त्री बिमलेन्द्र निधिले पुस २७ गते सार्वजनिक बिदा दिने प्रस्ताव ल्याए पनि सार्वजनिक पर्व एवं सट्टा बिदा र कार्यालय समय निर्धारण गर्नेसम्बन्धी प्रस्ताव अस्वीकृत भएको थियो । त्यस्तै, मन्त्रिपरिषद्को बैठकमा तत्कालीन सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले पृथ्वी जयन्तीमा बिदा दिनुपर्ने माग राखे पनि सुनुवाइ भएको थिएन । तत्कालीन आपूर्ति मन्त्री दीपक बोहोराले पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिने प्रस्ताव ल्याउनुपर्ने माग गरे पनि सो प्रस्ताव पारित नभएको चर्चा त्यसबेलै चलेको थियो ।

नेपाली नोटमा पृथ्वीनारायणको तस्विर अङ्कित गर्न माग गर्दै आएको राप्रपाले देशैभर रहेका सबै जिल्ला समितिलाई पृथ्वीजयन्तीका दिन राष्ट्रिय एकता दिवस मनाउन परिपत्र गरेको र त्यसैअनुसार देशव्यापी कार्यक्रम भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । यसअघि पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा एक टोलीले सिंहदरबार अगाडि शाहको शालिकमा पुगेर माल्यार्पण तथा पुष्पगुच्छा चढाएको थियो ।

अध्यक्ष लिङ्देनले राष्ट्रनिर्माताले बाइसे चौबिसे राज्यमा छरिएका भू–भागलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेर हामी सबैलाई नेपालीका रूपमा परिचित गराएकाले उहाँलाई सबैले सम्मान गर्नुपर्ने बताउनुभयो । सरकारले पृथ्वीजयन्तीमा दिएको सार्वजनिक बिदाले बहुसङ्ख्यक नेपाली जनताको भावना र चाहनाको सम्मान भएको बताउँदै उहाँले तत्कालीन समयमा भएको एकीकरणले विश्वमानचित्रमा नेपाल र नेपालीको अस्तित्व सम्भव भएको बताउनुभयो । समाचारपत्रबाट

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);