सांसदहरुको प्राथमिकता : विकास, सुशासन र समान अवसर | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८२, सोमबार

सांसदहरुको प्राथमिकता : विकास, सुशासन र समान अवसर

काठमाडाैं । नवनिर्वाचित सांसदहरुले विकास, सुशासन र समान अवसरलाई प्राथमिकतामा राखेका बताउनुभएको छ ।
बिहीवार निर्वाचन आयोगमा प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित प्रमाणपत्र लिएपछि संचारकर्मीहरुसँग कुरा गर्दै उहाँले रोजगारी, उत्पादनमा वृद्धि र देशको समृद्धि नै आफूहरुको मुख्य एजेण्डा रहेको बताउनुभएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद समिना मियाँले हालै भएको निर्वाचनले पुराना दल र राजनीतिक प्रवृत्तिलाई जनताले अन्त्य नयाँ पुस्तामा पुस्तान्तरण गरेको बताउनु भयो । उहाँले जनताको माग र इच्छाअनुसार काम गर्नु नै आफ्नो प्राथमिक लक्ष्य भएको स्पष्ट पार्नुभयो । पार्टीले काठमाडौँका पूर्वमेयर बालेन्द्र साहलाई भावी प्रधानमन्त्री तोकेर निर्वाचनमा गएकोले जनतामा उहाँमाथि ठूलो भरोसा गरेर मत दिएको बताउनु भयो । साहले काठमाडौंमा गरेका विकासका कामलाई देशभर विस्तार गर्ने योजना रहेको उहाँको भनाई छ ।

रास्वपाकै सांसद प्रभा ढकालले जनताको प्राथमिकता विधिको शासन, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा र स्वरोजगार रहेकोले सोहीअनुसार काम गर्ने बताउनुभयो । उहाँले ठूला भाषणभन्दा साना तर प्रभावकारी काममार्फत परिवर्तन सम्भव हुने उल्लेख गर्नुभयो । हरेक दिन हजारौँ युवाहरु विदेशिन बाध्य रहेको उल्लेख गर्नुहुँदै उहाँले देशमा नै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । पहुँचका आधारमा सेवा प्रदान भइरहेकोले त्यसलाई हटाउन अति आवश्यक रहेको उहाँको भनाई छ । यसलाई बलियो कानून बनाएर प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।

सांसद श्रद्धा कुँवर क्षेत्रीले नयाँ सरकारले विकास र बजेट विनियोजन गर्दा देशभर सन्तुलित रुपमा गर्नुपर्ने बताउनुभयो । उहाँले लुम्बिनी प्रदेशसँगै कर्णाली र सुदूरपश्चिम जस्ता पिछडिएका क्षेत्रका सम्भावनालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । सबै क्षेत्रलाई समान रूपमा हेर्नु राज्यको दायित्व रहेको उहाँको भनाइ छ ।

नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले बढ्दो महँगी, विदेशिएका युवाहरुको समस्यालाई संसदमा उठाउने जानकारी दिनुभयो । उहाँले नेपालको संविधानमा राखिएका व्यवस्थाको प्रभावकारी कार्यान्वयन, राष्ट्रिय स्वाधीनताको संरक्षण तथा जनजीविकासँग जोडिएका मुद्दामा ध्यान दिने बताउनुभयो । संघीय लोकतान्त्रिक व्यवस्था माओवादी जनयुद्धबाट प्राप्त उपलब्धि भएको उल्लेख गर्दै उहाँले यसको कार्यान्वयनमा देखिएका कमजोरी सुधार गर्नुपर्नेमा जोड दिनुभयो । महिला, दलित, अपाङ्गता भएका व्यक्ति लगायतका उत्पीडित वर्गलाई राजनीतिक मूलधारमा ल्याउने वातावरण यसै व्यवस्थाले सिर्जना गरेको उहाँको दाबी छ ।

उहाँले व्यवस्था बदलिएको भएपनि जनताको अवस्थामा अझै परिवर्तन ल्याउनुपर्ने भएकोले धेरै काम गर्न बाँकी रहेको बताउनुभयो । चुनावमा पार्टीले व्यहोरेको हारको बारेमा समिक्षा गर्दै अगाडी बढ्ने उहाँको भनाई छ ।

Leave a Reply

ताजा समाचार