काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले कोरोना संक्रमतिको उपचारका लागि बेड छैन भन्नु लाचारी र लज्जास्पद भएको बताएका छन् ।
नेपाली कांग्रेसले शनिबार एक विज्ञप्ती जारी गर्दै सरकारले ‘अस्पतालमा शैया उपलब्ध गराउन नसकिने भई सकेको’ भन्दै सार्वजनिक गरेको वक्तव्यले सरकारको लाचारी मात्रै नभई गैह्र जिम्मेवार प्रवृत्ति पुष्टि गरेको दाबी गरेको छ ।
स्थितीको संमेदनशीलता दृष्टिगत गरी नागरिकलाई गम्भीर बन्न राज्यले अपिल गर्नु स्वभाविक र आवश्यक भएपनि अपिल गरिरहँदा हतास र त्रास नभई विश्वास प्रवाह गर्नु जिम्मेवारी सरकारको कर्तव्य भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
स्वास्थ्य मन्त्रालयले शुक्रबार एक अपिल जारी गर्दै देशका २२ जिल्लामा संक्रमण दर डरलाग्दो गरी बढी रहेको र स्वास्थ्य प्रणालीले नै थेग्न नसक्नुका साथै अस्पतालहरुमा बेड उपलब्ध गराउन नसकिने भई सकेको भन्दै नागरिकहरुलाई संवेदनशील बन्न आग्रह गरेको थियो ।
कांग्रेसको विज्ञप्तीमा भनिएको छ –‘ पुरै वर्ष दिन सत्ता द्वन्दमा बिताउने, संसद विघटन गरेर मध्य महामारीमा चुनाव घोषणा गर्ने, समयको सदुपयोग गरेर पर्याप्त तयारी नगर्ने, तीन महिनामा सबै नेपालीलाई खोप भनेर सस्तो लोकप्रियताको अभिव्यक्ति दिने अनि अहिले आएर बेड छैन, भेन्टिलेटर, अक्सिजन आदि पर्याप्त छैन भनेर निरीहता प्रस्तुत गर्ने? इतिहासकै सबैभन्दा गैह्र जिम्मेवार अभिव्यक्ति र जनताको जीवनप्रति खेलबाडको व्यवहार हो यो । ’
यस्तो निरीहता र अयोग्ताले आजको संकट पार लगाउन नसकिने पनि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तीमा उल्लेख गरेका छन् ।
नेपालमा बेड, भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन सिलिन्डका साथै, आवश्यक स्वास्थ्य सामाग्री विस्तारमा सरकारसँग भएको बजेट, पूर्वाधार साथ खोपको पछिल्लो खेप आयातमा अन्तर्राष्ट्रिय पहलकदमीहरुका विषयमा सरकार प्रष्ट, पारदर्शी, योजनाबद्ध र दृढ ढंगले प्रस्तुत हुन कांग्रेसले सुझाएको छ ।
नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संकटामा राज्य हतास होइन नागरिकलाई ढाडस बन्न पनि सुझाउँदै युद्धस्तरमा समाधान खोज्न आह्वान समेत गरेको छ ।