काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि गरेको छ ।
निगमले शनिबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा समान १÷१ रूपैयाँ मूल्य वृद्धि गरेको हो ।
योसँगै पेट्रोलको मूल्य प्रतिलिटर एक सय २१ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ४ रुपैयाँ प्रतिलिटर कायम भएको छ । त्यस्तै निगमले आन्तरिकतर्फको हवाई इन्धनमा २ रुपैयाँ प्रतिलिटर बढाएर ७६ रुपैयाँ कायम गरिएको जनाएको छ ।
खाना पकाउने ग्यास र अन्तर्राष्ट्रिय हवाइ उडानमा प्रयोग हुने इन्धनको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ ।
निगमका अनुसार मूल्य वृद्धिपछि पनि निगमलाई पेट्रोलमा ६ रुपैयाँ ७२ पैसा, डिजेलमा ४४ पैसा तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर ४ सय १७ रुपैयाँ ४७ पैसा घाटा रहेको छ ।
त्यस आधारमा १५ दिनमा ७० करोड ६६ लाख रुपैयाँ घाटा हुनेछ । निमगका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार नेपाल भारत सीमाको रक्सौलको तुलनामा वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर २९ रुपैयाँ २३ पैसा र डिजेल प्रतिलिटर ३५ रुपैयाँ ४१ पैसा नेपालतर्फ सस्तो छ ।