कोषको रकम खर्चै नगरी उपभोक्ताको ढाड सेक्दै आयल निगम (भिडियाे) | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

कोषको रकम खर्चै नगरी उपभोक्ताको ढाड सेक्दै आयल निगम (भिडियाे)

पेट्रोलियम पदार्थ वितरणमा एकाधिकार कायम गरेको नेपाल आयल निगमले पछिल्लो नौ महिनामा ११ पटक पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेको छ । गत माघ २८ गते यता मात्रै झण्डै एक महिनाको अवधिमा निगमले तीन पटक मुल्य वृद्धि गरेको छ । मुलुक राजनैतिक खिचातानीमा रहेको र सबै दलको ध्यान यतिबेला सत्ता राजनीतिमा केन्द्रित भएको मौका छोपेरै भन्नु पर्दछ निगमले ईन्धनको भाउमा पटक पटक वृद्धि गर्दै आएको छ ।

यसरी निरन्तर पेट्रोलियम पदार्थको मूल्य बढेसँगै सार्वजनिक यातायात, हवाई सेवादेखि हरेक उपभोग्य वस्तुको मूल्य अक्कासिन थालेको छ । योसँगै निर्माण सामाग्रीको उत्पादन र ढुवानीमा समेत मुल्यवृद्धिको असर पर्ने भएबाट विकास आयोजनाहरु समेत महंगिने निश्चित छ । निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मुल्य बढेकै कारण नेपालको आन्तरिक खपतमा उपयोग हुँदै आएको पेट्रोलियम ईन्धनको मूल्य बढाएको बताएको छ ।

निगमले आफुले गरेको मुल्य वृद्धिलाई जायज बताउनकै लागि सीमावर्ती भारतिय शहर रक्सौलमा पेट्रोल प्रतिलिटर १ सय ४९ रुपैयाँ ९२ पैसा र डिजेल १ सय ३९ रुपैयाँ ११ पैसा रहेको र यता बीरगञ्जमा निगमले पेट्रोल प्रतिलिटर रु. १ सय १६ रुपैयाँ ५० पैसा र डिजेल ९९ रुपैयाँ ५० पैसामा बिक्रि गर्दै आएको बताएको छ । तर, गत बर्षबाटै स्वचालित मूल्य प्रणाली लागु गरेको निगमले अन्तर्राष्ट्रिय बजारमै ईन्धनको मुल्यमा बृध्दि हुँदाको चाप थेग्न मूल्य स्थिरीकरण कोषको उपयोग गर्ने तर्फ भने चासो राखेको पाईन्न ।

गत बर्ष विश्वव्यापी रुपमै कोरोना संक्रमणको अवधीमा गरिएको लकडाउनकै कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर प्रतिव्यारेल २० डलरमा झरेपछि निगमले गत वर्षको १९ चैतमा प्रतिलिटरमा १० रुपैयाँ मूल्य घटाएको थियो । त्यतिबेला पेट्रोल ९६ रुपैयाँ र डिजेल ८५ रुपैयाँ कायम थियो । त्यतिबेला लकडाउनका कारण आर्थिक गतिविधी घटेसँगै इन्धनको खपतमा पनि कमी आएसँगै इन्धनको मूल्यमा समेत गिरावट आएको थियो ।

अहिले आर्थिक गतिविधीले तिब्रता लिएसँगै इन्धनको खपत र मूल्य पनि बढेको हो । गत साउनदेखि अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य निरन्तर उकालो लाग्दै गएर तीन गुणाभन्दा माथी अर्थात् प्रति ब्यारेल ७० डलरसम्म पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेसँगै निगमले पनि मूल्य बढाउँदै आएको छ । गत साउनदेखि हालसम्म पेट्रोल प्रतिलिटरमा १४ रुपैयाँ र डिजेलमा ११ रुपैयाँ बढेको छ ।

लगातार इन्धनको मूल्य बढ्दै गए उपभोक्तालाई राहत दिने भन्दै ब्यवस्था गरिएको मूल्य स्थिरिकरण कोषमा यतिबेला उपभोक्ताबाटै संकलन गरिएको ११ अर्ब रुपैयाँ रहेको छ । तर, त्यो रकमबाट बढेको मुल्य समायोजन गर्ने तर्फ भने निगमले चासो देखाएको छैन । पछिल्लो समय निगमले इन्धनको मूल्य समायोजन गर्दा समेत निगमलाई १५ दिनमा १ अर्ब २७ करोड ७० लाख रुपैयाँ घाटा हुने निगमले बताएको छ ।

निगमका अनुसार पछिल्लो पटक गरिएको मुल्यवृध्दि पछि पनि निगमलाई पेट्रोलमा ९ रुपैयाँ ३५ पैसा, डिजेलमा ५ रुपैयाँ ८० पैसा र खाना पकाउने एलपीजी ग्यासमा ३ सय ९२ रुपैयाँ घाटा छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);