कर्णालीमा एमाले एकढिक्का छ : यामलाल कँडेल | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८३, आइतबार

कर्णालीमा एमाले एकढिक्का छ : यामलाल कँडेल

काठमाडौं । एमाले संसदीय दलका नेता यामलाल कँडेलले कर्णाली प्रदेशमा एमाले एकताबद्ध भएको बताएका छन् ।

शुक्रबार कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै कँडेलले केन्द्रमा जे भएपनि प्रदेशमा एमाले एकढिक्का रहेको बताएका हुन् । एमालेभित्र केही आन्तरिक समस्या भए पनि बाहिर हल्ला गरे जस्तो केही नभएको पनि उनले बताए ।

‘प्रदेशमा एमाले एकजुट छ, हामी सबै सांसद एक ठाउँ छौं, केन्द्रको विवादलाई आधार बनाएर गरिने कुराहरुले न हाम्रो सम्बन्ध सुमधुर हुन्छ, न त राम्रो संस्कार नै बस्छ’– यामलालले भने ।

माधव गुटका केही सांसदले ‘फ्लोर क्रस’ गर्न सक्छन् भनेर चरित्र हत्या गरिएकोमा उनले कडा आपत्ति जनाएका छन् । उनले भने–‘एमालेका सांसदहरुको चरित्र हत्या गर्नु निन्दनीय छ, दलीय सीमालाई मिचेर सार्वजनिक निष्ठामाथि आँच आउने काम भएको छ, त्यो राम्रो होइन ।’

विकास र समृद्धिका लागि पार्टीगत सम्बन्धलाई राम्रो बनाउन जरुरी रहेको कँडेलले बताए । कँडेलले भने–‘दलगत मान्यताका कुरा गर्दा सत्य तथ्य कुरा लुकाउने परम्परालाई अन्त्य गर्नुपर्छ, पार्टीगत रुपमा व्यक्तिगत सम्बन्ध राम्रो बनाउनु जरुरी छ, दलगत सम्बन्धलाई सुधार गरौं, कर्णालीका समस्यामा एकजुट भएर लागौं ।’

राजनीतिक उतार–चढावलाई लिएर कसैले पनि सम्बन्ध बिग्रिने खालका अभिव्यक्ति दिनु गलत रहेको कँडेलको भनाई छ । नेकपा हुँदाको विवाद विकसित भएर एमालेभित्र आएको र सबै मिलेर विवादको अन्त्य गर्नुपर्ने उनले बताए । कसैले पनि एमालेभित्रको विवादलाई आधार बनाएर टिक्छु भन्ने अभिव्यक्ति दिनु गलत भएको पनि कँडेलले बताए ।

‘एमाले भित्र सांगठनिक समस्या देशभर देखिएको छ, त्यो सुधिँ्रदै जान्छ, तर त्यही कुरालाई आधार बनाएर कसैले टिक्छु भनेर सोच्नु राम्रो होइन । हामीले हाम्रो सम्बन्ध सुधार गर्नुपर्छ । एमालेका सांसदलाई आँच पुग्नेगरी दिइएका अभिव्यक्ति सह्य हुदैन् ।’ – नेता कँडेलले भने । एकअर्काको बारेमा धावा बोलेर दलगत सम्बन्ध सुधार नहुने उनको तर्क छ । कँडेललाई एमालेले मुख्यमन्त्रीका लागि प्रस्ताव गरेको छ ।
आइ.एन.ए

Leave a Reply

ताजा समाचार