गण्डकी प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव, एक चौथाई सांसदले बैठक बोलाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

गण्डकी प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव, एक चौथाई सांसदले बैठक बोलाउने

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बिहीबार दिउँसो प्रदेशको सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका हुन् । कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउने प्रस्तावसहित मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको छ ।

बिहीबार रातिबाट लागु हुने गरी संसदको अधिवेशन अन्त्य गरिएको भएपनि संविधान बमोजिम एक चौथाई सदस्यले बैठकको माग गर्ने छन् । त्यस्तो बैठक बोलाउनु पर्ने बाध्यकारी व्यवस्था छ।

तीन वटै दलले बिहीबार पत्रकार सम्मेलन गरेर प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्नुको कारणबारे जानकारी गराएका छन् ।

विकास खर्च गर्न नसकेको, महंगी बढाएको, भ्रष्टाचार र अनियमितता गरेको, कोरोना संक्रमितको उचित व्यवस्थापन गर्न नसकेको लगायतआरोप तीन दलले सरकारमाथि लगाएका छन् । अविश्वास प्रस्तावमा कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जनता समाजवादी पार्टीका दुई जना सांसदले हस्ताक्षर गरेका छन् ।

राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय बुधबार गरेको थियो । सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय केन्द्रले गरे पनि सरकारविरुद्ध ल्याएको अविश्वास प्रस्तावमा जनमोर्चाका सांसदले हस्ताक्षर गरेका छैनन् ।

गण्डकी प्रदेशमा ६० जना सांसद छन् । जसमा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२, जनमोर्चाका तीन, जसपाका दुई र एक जना स्वतन्त्र सांसद छन् ।स्वतन्त्र सांसद दिपक मनाङ्गे मुख्यमन्त्री गुरुङकै पक्षमा छन् ।

आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);