Our Network

कार्तिक ८ २०७८, सोमबार

प्रविधिमा सरकारको छलाङ, अब घरमै बसेर जग्गाको नक्सा हेर्न सकिने

काठमाडौं । डिजिटल नेपालको अवधारणासाथ काम गरिरहेको सरकार प्रविधिमा थप एक कदम अगाडि बढेको छ ।

सरकारले ‘नेपाल ल्याण्ड इन्फरमेशन सिस्टम’ र ‘मेरो कित्ता’ अनलाइन प्रणालीको शुभारम्भ गरेको छ । नापी विभागमा बिहीबार आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले सो प्रणालीको शुभारम्भ गरेका हुन् ।

नापी कार्यालयबाट सञ्चालन भइरहेका सेवाहरु अनलाईन मार्फत प्रवाह गर्न तयार भएको ‘नेपाल ल्याण्ड इन्फरमेशन सिस्टम’ र जग्गाको नक्सा अनलाइबाट घरमै बसेर हेर्न, प्रिन्ट गर्न र राजश्व तिर्नसकिने अनलाइन प्रणाली ‘मेरो कित्ता’को प्रधानमन्त्रीले शुभारम्भ गरेका हुन् ।

‘मेरो कित्ता’ मार्फत् आफ्नो जग्गा धनी पुर्जा, आफ्नो कित्ता, आफू बसेकै ठाउँबाट एप्समार्फत् हेर्न सकिने सरकारले जनाएको छ । यो सेवा पहिलो चरणमा काठमाडौं उपत्यकाका नापी कार्यालयहरूबाट सुरू हुने नापी विभागले जनाएको छ ।

यसअन्तर्गत काठमाडौं उपत्यकाका डिल्लीबजार, कलंकी र भक्तपुरको कार्यालयमा यो सेवा लागू हुने विभागले जनाएको छ । क्रमशः देशभरका १ सय २६ वटा कार्यालयबाट यस्तो सेवा प्रदान गरिने विभागले जानकारी दिएको छ ।

नयाँ वर्षको पहिलो दिन बुधबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘मेरो कित्ता’बारे जानकारी दिएका थिए ।

सरकारले सम्पूर्ण सरकारी निकायलाई ‘पेपरलेस’ (कागजविहिन) बनाउन विभिन्न कामहरु गरिरहेको छ । त्यसका लागि सरकारले पेपरलेस अर्थात सबै सेवा तथा अत्यावश्यक कागजी क्रियाकलापहरुलाई प्रतिस्थापन गर्दै अनलाइनबाट सञ्चालन गर्ने प्रणाली सञ्चालनमा ल्याएको छ ।

सरकारले नागरिक एप, माटोको डिजिटल नक्सा, अनलाइनमार्फत श्रमस्वीकृति लगायत थुप्रै प्रणाली सञ्चालनमा ल्याइसकेको छ ।आधुनिकीकरणतर्फको, डिजिटल प्रयोगतर्फको, सबभन्दा पछिल्लो प्रविधि प्रयोग गर्ने काममा सरकार तीब्र रुपमा लागिरहेको छ ।

आइ.एन.ए

Leave a Reply