रेल त आयो, तर चल्ने कहिले ? (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

रेल त आयो, तर चल्ने कहिले ? (भिडियोसहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले गत माघ १९ गते ढल्केबरमा आयोजित एक कार्यक्रमलाई सम्बोधित गर्दै भन्नु भएको थियो, ‘अब चाँडै म जनकपुर जयनगर रेल चढ्न आउँदैछु ।’ प्रधानमन्त्री ओलीले ढल्केबरमा निर्माण गरिएको नेपालकै पहिलो ४ सय केभी सबस्टेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उक्त कुरा बताउनु भएको थियो तर रेल चढ्ने त के छोपेर राखेको रेलको त्रिपालसमेत खोलिएको छैन ।

प्रधानमन्त्री ओलीले रेल चढ्ने कुरा गरेको पनि आज दुई महिना बढि भइसक्यो, तर सबै तयारी सम्पन्न भईसक्यो भनिएको रेल भने कुदेकै छैन । नेपाल रेल्बे कम्पनीले कुर्था–जनकपुर–जयनगर रुटमा सञ्चालनका लागि भारतीय रेल निर्माता कम्पनी कोनकोनसँग खरिद गरिएका दुई सेट लोकोमोटिभ (ईञ्जिन) सहितका डब्बा गत असोजमै आईसकेको भएपनि रेल चल्ने भने कुनै सुरसार नै छैन । रेललाई यतिबेला जनकपुर स्टेशनमा त्रिपाल आडाएर थन्क्याईएको छ । रेलमार्गमा अरु सबै किसिमका तयारी पूरा भए पनि कानूनको अभावकै कारण सो रेल सेवा शुरु हुन नसकेको बताईंदै छ ।

आवश्यक जनशक्ति र थप इञ्जिन ल्याउनका लागि भारत सरकारसँग सम्झौता भइसकेको नेपाल रेल्वे कम्पनीले जनाएको छ । रेल्वे श्रोतले, कानून नआउँदासम्म इञ्जिन ल्याउन नमिल्ने भएकाले ल्याउन नसकिएको बताएको छ । कम्पनीले, कुर्था–जयनगर रेल सञ्चालनका लागि प्राविधिक तयारी पनि भईसकेको बताएको छ । रेल ईञ्जिन र डब्बाको आपुर्तीकर्ता भारतीय कम्पनी कोनकोनको समन्वयमा २६ जना प्राविधिक कर्मचारी ल्याउने भनिएको छ । ति प्राविधिक कर्मचारीमा पाइलट, स्टेशन मास्टर, पावर म्यानेजर, सिनियर ट्राफिक म्यानेजर लगायत रहेका छन् ।

पहिलो चरणमा जयनगर देखि कुर्थासम्मको ३५ किमी लम्बाइमा रेल सञ्चालन हुनेछ । कुर्थादेखि विजलपुरासम्म थप १७ किमी रेलमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । विजलपुरासम्म गरी ५२ किमीमा छिट्टै रेल सञ्चालन हुने बताईएपनि पहिलो चरणमा चल्नु पर्ने रेल समेत चल्न सकेको छैन । रेल्वे सञ्चालन तयारीको हकमा रेल्वे कम्पनीले जयनगरलेखि कुर्थाबिचको ३५ किलोमिटर यात्राका लागि सामान्य भाडा दर ७५ रुपैयाँ तोकिएको छ । यसैगरि डिलक्स केबिनका लागि भाडादर ३ सय ७५ रुपैयाँ प्रस्ताव गरिएको छ । सरकारले उक्त रेलमार्ग बर्दिवाससम्म पुग्ने र पूर्वपश्चिम रेलमार्ग पनि बर्दिवास जाने भएकाले त्यहाँ पुगेर जोड्ने योजना लिएको छ ।

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको सो रेलमार्ग सञ्चालनका लागि गत असोज २ गते ल्याईएका दुई सेट डेमो रेलमा एक हजार २ सयदेखि एक हजार ३ सयसम्म यात्रुले बसेर र उभिएर यात्रा गर्न सक्ने छन् । यात्रुबाहक रेल भएकाले यात्रुको झोला र सामान्य सामान मात्रै राख्न सकिनेछ । सबै तयारी पुरा भएर पनि आबश्यक कानुनको अभावमा रेल्वे ईञ्जिन र डब्बाहरु बिगत ६ महिनादेखि त्यतिकै थन्किएर रहेका छन् । रेल्वे सम्बन्धि कानुन निर्माणकै लागि सरकारले संसदमा विधेयक ल्याउने भनिएपनि त्यता पट्टी कुनै काम अगाडि बढ्न सकेको छैन । र कानुन नबनेसम्म रेल सेवा सञ्चालन गर्न नसकिने सम्बध्द क्षेत्रका अधिकारीहरु बताउँछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);