भीम रावलले भ्रष्टाचार गरेको कर्ण थापाको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

भीम रावलले भ्रष्टाचार गरेको कर्ण थापाको आरोप

काठमाडौं, ३१ चैत । नेकपा एमालेका ओली पक्षका सुदूरपश्चिम प्रदेशका इन्चार्ज कर्ण थापाले एमालेका नेता भीम रावललाई भ्रष्टाचारको आरोप लगाएका छन् ।

तत्कालीन नेकपाको खातामा रहेको रकम हिनामिना गरेको भन्दै थापाले नेता रावलमाथि भ्रष्टाचारको आरोप लगाएका हुन् । तत्कालीन नेकपाको खातामा रहेको ३० लाख रकम विना कुनै जानकारी व्यक्तिको खातामा राख्न लगाएको थापाको आरोप छ ।

पार्टीको पैसा हिनामिना गरेको अभियोगमा आवश्यक परे रावल विरुद्ध भ्रष्टाचारको मुद्दा हाल्ने चेतावनी थापाले दिएका छन् । तत्कालीन नेकपा सुदूरपश्चिमका अध्यक्ष समेत रहेका थापाले भने– ‘पार्टीको पैसा हिनामिना गर्नेलाई कारबाही हुन्छ, हामी तत्काल प्रकियामा जान्छौँ, आवश्यक परे मुद्दा हाल्छौं ।’

थापाका अनुसार रावलले प्रदेश पार्टी कार्यालयका सचिव दिनेशचन्द्र सुवेदीको खातामा पार्टीको ३० लाख रकम रकमान्तरण गरेका थिए । पार्टीका प्रदेश अध्यक्ष कर्ण थापालाई जानकारी नगराई १३ पुसमा कृषि विकास बैंकबाट ३० लाख रकम झिकिएको थियो । सो रकम सुबेदीको खातामा भेटिएको छ ।

रकमान्तरण गर्न प्रदेश अध्यक्ष कर्णबहादुर थापा, तत्कालीन नेकपाका सचिव नेपबहादुर चौधरी र सचिवमध्ये दुई जनाको हस्ताक्षरले खाता सञ्चालन हुने व्यवस्था थियो । तर,रावलले पार्टी र पार्टी अध्यक्षलाई जानकारी नदिएरै रकम रकमान्तरण गरेको आरोप लगाइएको छ । नेकपामा विवाद बढेपछि प्रदेश इन्चार्ज भीम रावलको निर्देशनमा चौधरी र सुवेदीको हस्ताक्षरले पार्टीको रकम निकालिएको कर्णले बताए ।

रावलसहित नेपवहादुर चौधरी, दिनेशचन्द्र सुवेदी र केशव रावलविरुद्ध मुद्दा दर्ताको तयारी अन्तिम चरणमा रहेको थापाले बताए । रावलकै निर्देशनमा माग फारम बिना केशव रावललाई पनि ५ लाखको चेक काटिएको थियो । पार्टीको खातामा भएको ३८ लाख मध्ये ५ लाख केशव रावलको नाममा चेक काटिएको थापाले बताए ।

थापाले भने – ‘के का लागि चेक काटिएको हो, प्रयोजन पनि खुलाइएको छैन ।’ पार्टीको रकम व्यक्तिको खातामा पठाउने बैंकलाई पनि मुद्दा दायर गरिने थापाले बताए । ‘हामीले जोगाएर राख्दै आएको रकम हो त्यो, तर उहाँहरुले हिनामिना गर्नुभयो’ – थापाले भने । उनका अनुसार सो पैसा एमालेको हो । ‘पार्टी एक हुँदा नेकपाको नामबाट खाता खोलेर रकम राखेका थियौं, त्यसमा माओवादी केन्द्रको कुनै हिस्सा छैन,सबै रकम एमालेकै हो’– कर्णले भने ।

आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);