काठमाडौँ ।
राष्ट्रिय सभामा नेपाली काँग्रेस संसदीय दलकी नेता कमला पन्तले प्राकृतिक विपत्तिका बेला सरकारको उपस्थिति प्रभावकारी नभएको भन्दै आलोचना गर्नुभएको छ ।मंगलवारको राष्ट्रिय सभा बैठकमा बोल्दै पन्तले बाढी र पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनस्र्थापनामा राज्यको उपस्थिति कागजमा मात्र नभई पीडितको घरदैलोमा देखिनुपर्नेमा जोड दिनुभयो । भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायतका जिल्लामा पु¥याएको क्षतिप्रति चिन्ता व्यक्त गर्दै उहाँले मृतकप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना प्रकट गर्नुभयो । बाढीका कारण तिमुरे, स्याफ्रुबेँसी, बेत्रावती र त्रिशुली क्षेत्रका बस्ती तथा सडक, सञ्चार र जलविद्युत आयोजना जस्ता महत्त्वपूर्ण पूर्वाधारमा गम्भीर क्षति पुगेको उहाँले बताउनु भयो । सरकारले विदेशी प्राविधिक टोलीलाई फिर्ता पठाएको भन्ने सुन्नमा आएको उल्लेख गर्दै उहाँले संकटको समयमा यस्तो गैरजिम्मेवार व्यवहार नगर्न सचेत गराउनु भयो । तीन तहका सरकारबीच समन्वयको अभाव देखिएको र राहत वितरणमा पारदर्शिता नभएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो ।
सरकारले सामाजिक सञ्जालमार्फत नभई संसद्मा उपस्थित भएर आधिकारिक जानकारी दिनुपर्ने उहाँको माग छ ।शवको पहिचान र व्यवस्थापनमा मानवीय संवेदनशीलता अपनाउन आग्रह गर्दै उहाँले डीएनए वा फिंगरप्रिन्ट प्रविधि प्रयोग गरी प्रशासनिक झन्झटबिना शव आफन्तलाई बुझाउने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनु भयो । साथै, सीमा क्षेत्र र छिमेकी मुलुकसम्म पुगेका शवहरूको खोजी र व्यवस्थापनबारे पनि उहाँले सरकारको जवाफ माग गर्नुभयो । जलवायु परिवर्तनका कारण मुलुक नै जोखिममा परेको उल्लेख गर्दै नेता पन्तले पुनर्निर्माणका कार्यहरू जोखिमयुक्त ठाउँमा नभई सुरक्षित स्थानमा गरिनुपर्ने बताउनु भयो । उहाँले बेपत्ता नागरिकको शिघ्र खोजीका लागि सरकारका सम्पूर्ण निकायलाई सक्रिय हुन आग्रह गर्दै राष्ट्रिय सहकार्यका लागि आह्वान समेत गर्नुभयो ।




