उर्लिएको त्रिशूली-रसुवागढीदेखि चितवनसम्म बाढीको प्रलयकारी वितण्डा | ईमाउण्टेन समाचार

Our Network

भदौ १५ २०८३, मंगलबार

उर्लिएको त्रिशूली-रसुवागढीदेखि चितवनसम्म बाढीको प्रलयकारी वितण्डा

काठमाडौं । स्याँफ्रुबेंसी,टिमुरे, बेत्रावती लगायत भोटेकोशी बाढीले बगाएका स्थानहरु अहिले चित्कार र विलापको बगर बनेको छ । भदौ १० गते मध्यरातमा भोटेकोशीको मुहानबाट गर्जंदै झरेको कालो लेदो र चट्टानी बाढीले केरुङ, रसुवागढी, स्याफ्रुबेंसी, मैलुङ हुँदै बेत्रावतीका सयौं वर्ष पुराना बस्तीहरूलाई केही मिनेटमै सोहोरेर त्रिशूलीको गहिराइमा बिलाइदियो । भदौ १० गते बिहान जब रसुवा र नुवाकोटका सीमावर्ती बासिन्दा नयाँ दिनको दिनचर्या शुरु गर्दै थिए । हिमालको फेदबाट ढुङ्गा र माटोको भीषण गडगडाहट सुनियो । सीमाक्षेत्र केरुङतर्फ भीषण हिमताल वा पहिरो थुनिएर फुटेको बाढी भोटेकोशीको साँघुरो गल्छीबाट उर्लिएको थियो । पानीको सतह सामान्यभन्दा धेरै मिटर माथि उठेको थियो । खोला किनारका घरहरू तासको पत्ताझैं ढले र सडकहरू क्षतविक्षत भए । कतिले आँखा अगाडि आफ्नै घर र छिमेकीका परिवार खोलाले निलेको देखे । न बचाउन गुहार माग्न सके न कता भाग्ने पत्तो भयो । बेत्रावती बजारको आधा भाग अहिले त्रिशूलीको बगर भएको छ ।
रसुवाको केरुङ नाका र रसुवागढी भन्सार क्षेत्रबाट शुरु भएको यो महाविपद्ले सडक सञ्जाललाई क्षतविक्षत पारेको छ । टिमुरे, तातोपानी, स्याफ्रुबेंसी र मैलुङका जलविद्युत आयोजनाहरूमा कार्यरत प्राविधिक, श्रमिक र स्थानीय व्यापारीहरू गरी सयौं व्यक्ति बाढीको पहिलो चपेटामा परे । मैलुङमा निर्माणाधीन तथा सञ्चालित हाइड्रोपावरका क्याम्पहरू बगाउँदा सम्पर्कविहीन हुनेहरूको संख्या धेरै छ । बेत्रावतीमा फलाखु खोला र त्रिशूलीको संगमले अझै विशाल रूप लिएर नुवाकोटको त्रिशूली बजार, बट्टारको तल्लो भूभाग, देवीघाट, धादिङको गल्छी, मलेखु, जोगिमारा हुँदै चितवनको मुग्लिन र देवघाटसम्म ताण्डव मच्चाएको छ । धादिङ र चितवनका तटीय फाँटहरूमा लगाइएको धानबाली हजारौं हेक्टर बलौटे लेदोले पुरिएको छ । २०७२ को महाभूकम्प भोगेका हामीले नदीले यसरी सिङ्गो गाउँ र हजारौं मान्छेलाई एकै निमेषमा बगाएको इतिहास कहिल्यै सुनेका थिएनौँ ।
नेपाल सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले हेलिकप्टर र डोरीको सहायताले जोखिमयुक्त ठाउँबाट उद्धारको प्रयास गरिरहे पनि कतिपय स्थानमा लगातारको वर्षा, बाक्लो कुहिरो र सडक सञ्जाल पूरै विच्छेद भएकाले माथिल्लो रसुवा पुग्न निकै कठिन भएको छ । अहिलेसम्म करिव ४ हजार नागरिक बेपत्ता रहेका छन् । तर यकिन तथ्यांक आइसकेको छैन । नदी किनारमा आफन्त खोज्न उभिएका बालबालिका र वृद्धवृद्धाको आँसुले जोकोहीको मुटु चसक्क पार्छ ।

Leave a Reply

ताजा समाचार