सरकारको ओतमा बसेर प्रतिपक्ष हुँ भन्न एमाले तयार छैनः ओली | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३ २०८३, बिहीबार

सरकारको ओतमा बसेर प्रतिपक्ष हुँ भन्न एमाले तयार छैनः ओली

काठमाडौँ । 

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको संरक्षणमा रहेर प्रतिपक्षको भुमिका निर्वाह गर्ने पक्षमा एमाले नरहेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा जारी एमाले राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै ओलीले नेकपा एमाले देशमा अस्तित्वमा रहेको प्रमुख प्रतिपक्षी दल भएको उल्लेख गर्दै सरकारका गलत कामको प्रतिवाद गर्ने बताउनुभएको हो । ओलीले गएको निर्वाचनमा एमालेको पराजयलाई जनताबाट अलगिएको परिणामका रूपमा व्याख्या गर्न नमिल्ने जिकिर गर्नुभयो । निर्वाचनका लागि सुरुदेखि नै प्रतिकूल वातावरण सिर्जना गरिएको र एमालेलाई एक्ल्याउने प्रयास भएको उहाँको आरोप छ । उहाँले संसदको असंवैधानिक विघटनलाई मान्यता दिइएको भन्दै न्यायालयको भुमिकामाथि प्रश्न उठाउनु भयो । संविधान र कानूनअनुसार न्यायिक निर्णय हुन नसकेको भन्दै उहाँले त्यसबेला न्यायालयले न्याय दिन नसकेको टिप्पणी गर्नुभयो । निर्वाचनको वातावरण नभएको भन्दै एमालेले शुरुदेखि आवाज उठाए पनि पार्टीले निर्वाचन बहिष्कार नगरेको उहाँले बताउनु भयो । निर्वाचनमा सहभागी नभएको भए एमालेमाथि थप गलत व्याख्या र प्रहार हुनसक्ने भएकाले प्रतिकूल अवस्थामा पनि चुनावमा गएको उहाँको भनाइ थियो ।

ओलीले विभिन्न शक्ति लागेर एमालेलाई समाप्त पार्न खोजे पनि पार्टी अझै बलियो अवस्थामा रहेको दाबी गर्नुभयो । उहाँले टर्कीमा आयोजित जलवायु परिवर्तनसम्बन्धी कोप सम्मेलनमा नेपालको सहभागितालाई लिएर सरकारको आलोचना गर्नुभयो । नेपालको सहभागिता कमजोर रहेको भन्दै उहाँले जलवायु परिवर्तनको मुद्दा पर्यटनसँग मात्र नभई हिमाल, हिमनदी, जल पुनर्भरण प्रणाली र समग्र जनधनको सुरक्षासँग जोडिएको बताउनु भयो । हिमालको संरक्षण नेपालको मात्र नभई विश्वव्यापी सरोकारको विषय भएको उल्लेख गर्दै ओलीले जलवायु परिवर्तनका असर रोक्न गम्भीर पहल आवश्यक रहेको बताउनु भयो ।

Leave a Reply