एजेन्सी, ३१ चैत । अमेरिकाको मिनेसोटामा प्रहरीको गोली लागेर एक अश्वेत नागरिकको मृत्यु भएको छ ।
मिनेसोटाको ब्रूक्लीन सेन्टरमा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका २० वर्षे युवा डन्टे राइटको उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरी अधिकारीले ट्राफिक नियम उल्लंघन गरेका राइटलाई पक्राउ गर्न खोज्दा गोली लागेको बताएको छ । नियम उल्लंघन गरेर भाग्न खोजेका उनलाई इलेक्ट्रिक सक दिनका लागि प्रहार गरिने टेजर प्रहार गर्नुपर्नेमा महिला प्रहरी अधिकारीले भुलबस गोली प्रहार गरेको र यसलाई दुर्घटनाको रुपमा लिनुपर्ने प्रहरीले बताएको छ ।
राइटको मृत्युपछि विरोध प्रदर्शन भएका छन् भने प्रदर्शन नियन्त्रण गर्न स्थानीय प्रशासनले ब्रूक्लीनमा कर्फ्यू लागु गरेको छ ।
मिनेसोटाको मिनियापोलसमा जर्ज फ्लोइडको हत्या अभियोगमा पूर्व प्रहरी अधिकारीमाथिको सुनुवाई जारी रहेका बेला ब्रूक्लीन सेन्टरमा अर्को घटना घटेको हो ।