वाम एकतालाई बदनाम गर्ने यस्तो छ कांग्रेसको रणनीति | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले एमाले र माओवादीबीच भएको एकतालाई बदनाम गर्दै अगाडि बढ्ने रणनीति अख्तियार गर्ने भएको छ । प्रमुख विपक्षी एमालेले सतारुढ घटक माओवादीसँग पार्टी एकता नै गर्ने गरी चुनावी तालमेलको घोषणा गरेपछि कांग्रेसले त्यसलाई कसरी प्रतिवाद गर्ने भन्नेमा आन्तरिक विमर्श तीव्र पारेको छ ।

वाम गठबन्धन घोषणा भएलगत्तै लोकतान्त्रिक शक्तिबीच गठबन्धन बनाउन हतारिएको उसले त्यसको गृहकार्यसमेत तीव्र रूपमा अगाडि बढाइरहेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबार बसेको बैठकले वाम एकतालाई संविधान कार्यान्वयनका लागि ठूलो चुनौतीको रूपमा लिएको केन्द्रीय सदस्य प्रदीप पौडेलले बताए। ‘यो गठबन्धन चुनाव लड्नका लागि मात्रै बनेको हो भन्नेमा कांग्रेस विश्वास गर्दैन’, पौडेलले अन्नपूर्णसँग भने, ‘यो कम्युनिस्ट पार्टीको पद्धति हाबी गराउने उद्देश्यसाथ गरिएको हो भन्ने हाम्रो ठहर छ।’

विपक्षी दलसँग औपचारिक गठबन्धनमा बसेपछि कांग्रेसले माओवादीका मन्त्रीलाई हटाउने तयारीसमेत अगाडि बढाएको छ । विपक्षी गठबन्धनमा गइसकेको माआवादीकै तर्फबाट वर्तमान सरकारमा गृहमन्त्रीसमेत छन् । कांग्रेसले विपक्षी खेमालाई गृहमन्त्रीजस्ता महत्वपूर्ण जिम्मेवारी दिएर निर्वाचनमा जान उपयुक्त नहुने निष्कर्ष निकालिसकेको छ । कांग्रेसले गठबन्धनका लागि विभिन्न दलसँग छलफल गरेपछि पछिल्लो राजनीतिक अवस्थाबारे आफ्नो रणनीति बनाउन आइतबार दिउँसोसमेत काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यलाई बालुवाटार डाकेर बैठक गरेको छ ।

कांग्रेसका रणनीति :
– विपक्षी खेमालाई गृहमन्त्रीजस्ता महत्वपूर्ण जिम्मेवारी दिएर निर्वाचनमा जान उपयुक्त नहुने ।
– माओवादी मन्त्रीलाई हटाएर राप्रपालाई महत्वपूर्ण मन्त्रालयसहित सरकारमा सामेल गर्ने ।
– एमाले-माओवादीले अविश्वास प्रस्ताव ल्याए त्यसैका आधारमा वाम गठबन्धनको बदनाम गर्ने ।
– वाम एकतालाई लोकतन्त्र सिध्याउने दाउदेखि संविधान कार्यान्वयन हुन नदिने चलखेलका रूपमा प्रचार गर्ने ।

बालुवाटारमा आइतबार साँझ भएको बैठकमा माओवादी मन्त्री हटाउनेदेखि राप्रपालगायत दललाई सरकारमा सहभागी गराउनेसम्मको रणनीतिबारे छलफल भएको थियो । कांग्रेस नेता मीनेन्द्र रिजालका अनुसार आइतबार बसेको बैठक शुक्रबारकै केन्द्रीय कार्यसमिति बैठकको फलोअप मिटिङ थियो ।

‘वाम गठबन्धन चुनाव लड्नका लागि मात्रै बनेको हो भन्नेमा कांग्रेस विश्वास गर्दैन । यो कम्युनिस्ट पार्टीको पद्धति हाबी गराउने उद्देश्यका साथ गरिएको हो ।’- प्रदीप पौडेल, कांग्रेस नेता

माओवादीले भने यसअघि नै प्रधानमन्त्री देउवालाई आफूहरू निर्वाचनसम्म सरकारमा रहिरहने जानकारी गराइसकेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन प्रभावित हुने गरी आफूहरू सरकार फेरबदलको काम नगर्ने बताएका थिए । यद्यपि कांग्रेससम्बद्ध स्रोतका अनुसार प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीलाई बर्खास्त गरेर वामगठबन्धनको मनस्थिति बुझ्न खोजेका हुन् । कांग्रेसका एक नेता भन्छन्, ‘प्रधानमन्त्रीले माओवादीका मन्त्री हटाएपछि विपक्षी गठबन्धनले सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउँछ कि ल्याउँदैन भन्ने हेर्न चाहेका छन् ।

कांग्रेसले वाम घटकहरू अहिले नै सरकार परिवर्तनको खेलमा लागे मंसिरमा हुने भनिएको निर्वाचन स्वतः असम्भव हुने विश्लेषण गरेका छन् । यद्यपि, विपक्षी गठबन्धनले त्यसो नगरे निर्वाचनमा जादा वाम एकतालाई सक्दो बदनाम गराउने नीति कांग्रेसले अख्तियार गर्न खोजेको देखिन्छ । कांग्रेसले वाम एकतालाई लोकतन्त्र सिध्याउने दाउदेखि संविधान कार्यान्वयन हुन नदिनेसम्मको चलखेलका रूपमा जनमानसमा लैजान लागेको उक्त पार्टीका नेताहरूको दाबी छ ।

स्थानीय तहको निर्वाचनदेखि संघीय र प्रदेश तहसम्मको निर्वाचन सँगै गराउन भनेर एक वर्षअगाडि माओवादी र कांग्रेसबीच गठबन्धन बनेको थियो । त्यही गठबन्धनको सहारामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल १० महिनासम्म प्रधानमन्त्रीसमेत भए । माओवादी र कांग्रेसबीच भएको सहमतिकै आधारमा दाहालपछि कांग्रेस सभापति शेरबहादुर देउवा वर्तमान सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री भएका थिए । तर, माओवादी र एमालेबीच भएको ताजा गठजोडले सरकार, संविधानदेखि आसन्न निर्वाचनसम्मको विषयमा विभिन्न अड्कलबाजी गर्न थालिएको छ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);