वाम एकताको बहस : कांग्रेस तरंगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

वाम एकताको बहस : कांग्रेस तरंगित

काठमाडौं । वामपन्थी पार्टीहरूलाई एकता प्रक्रियामा ल्याउन फेरि बहस चलेको छ । स्थानीय तह निर्वाचनको संघारमा एकताको बहस चलेको हो । २०७४ मा प्रदेश र संघीय निर्वाचनमा वामपन्थी दलहरू मिलेर वाम गठबन्धन बनेको थियो । त्यतिबेला गठबन्धनलाई निर्वाचनमा दुई तिहाइ नजिक बहुमत प्राप्त भयो । 

यसपटक पनि स्थानीय तह निर्वाचनअघि वाम एकताको बहस चलेको छ । तर, प्रमुख वामपन्थी दल एमाले र अन्य दलहरू माओवादी केन्द्र र एकीकृत समाजवादीबीच राजनीतिक रूपमा भने शत्रुतापूर्ण सम्बन्ध छ । तैपनि यसबीचमा चलेको वाम एकताको बहसले सत्ता नेतृत्व दल नेपाली कांग्रेस तरंगित छ ।

मंगलबार विराटनगरमा नेता डा. शेखर कोइरालाले वामपन्थी दलहरू मिल्लान् भन्ने चिन्ता कांग्रेसलाई भएको बताए । ‘सबैको मत गठबन्धन गरेर जानु हुँदैन भन्नेछ । तर, यसो भनिरहँदा २०७४ मा जस्तो एमाले र माओवादीहरू फेरि मिल्लान् कि भन्ने चिन्ता पनि छ,’ उनले भने । कोइराला वामपन्थी दलहरू माओवादी केन्द्र र एकीकृत समाजवादीसँग कांग्रेसले निर्वाचनमा गठबन्धन गर्न नहुने पक्षमा उभिएका नेता हुन् । 

यसरी कांग्रेस तरंगित हुने गरी वाम एकताको बहस छेड्ने एमाले नेता घनश्याम भुसाल हुन् । आइतबार पोलिटब्युरो बैठकमा उनले वाम एकता प्रक्रियाको नेतृत्व एमालेले लिनुपर्ने बताए । मंगलबार पनि काठमाडौंमा पत्रकारहरूसँग उनले भने, ‘तीन पार्टीमा वैचारिक र सैद्धान्तिक समस्या छैन । हामी जाने बाटो एउटै हो भने तीन पार्टी किन चाहियो ?’

उनका अनुसार वामपन्थी शक्तिहरूबीचको वर्तमान विभाजन कृत्रिम हो । हुन पनि वामपन्थी दलहरू एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीमा ‘प्रवृत्तिगत’ मतभेद छ । 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीलाई प्रतिनिधिसभा विघटनपछि ‘अहंकारी र स्वेच्छाचारी’ नेता भन्ने गरेका छन् । ओलीले बलियो कम्युनिस्ट सरकारलाई ढालेर दक्षिणपन्थी सरकार कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा बनाएको भन्दै प्रचण्ड र नेपालको आलोचना गर्ने गरेका छन् । 

यसरी वामपन्थी दलहरूमा प्रवृत्तिगत मतभेद मात्र छ । वाम राजनीतिक विश्लेषक भीम भुर्तेल पनि भन्छन्, ‘एमाले-माओवादी र एकीकृत समाजवादीबीच गठबन्धन नहोला भन्न सक्दिनँ । यिनीहरूमा प्रवृत्तिको बाहेक अन्य केहीको समस्या छैन । सैद्धान्तिक र वैचारिक पक्षमा समान बुझाइ छ ।’

स्थानीय निर्वाचनमा कांग्रेसका दोस्रो तहका नेताहरूले माओवादी र एकीकृत समाजवादीलाई होच्याउने अभिव्यक्ति दिँदै पनि आएका छन् ।उपसभापति धनराज गुरुङले दुई दललाई भन्ने गरेका छन्, ‘कचौरे’ र ‘चमेरो’ जस्ता पार्टी । महामन्त्री गगनकुमार थापाले गठबन्धनविरोधी अभिव्यक्ति दिँदै आएका छन् । यसप्रति प्रचण्ड र नेपाल रुष्ट छन् । 

विश्लेषक भुर्तेल गठबन्धनविरोधी कांग्रेस नेताहरूको अभिव्यक्तिले पनि दुई दल र एमालेसँगै अन्य साना वाम घटकहरूबीच एकता हुने सक्ने सम्भावना देख्छन् । र, यहीबेला नेता भुसालले एकताको बहस छेडेकाे हुन सक्छ । 

वामपन्थी नेता वामदेव गौतम त अझ गत वर्षको चैतदेखि नै वाम एकताको पक्षमा छन् । उनी नेकपा एकता राष्ट्रिय अभियानका संयोजक हुन् । 
समाजवादसम्मको राजनीतिक यात्राका लागि एकता आवश्यक रहेको उनको बुझाइ छ । तर, उनको अभियान प्रभावकारी भने छैन । 

गत वर्षको २३ फागुनमा सर्वोच्च अदालतले ऋषिराम कट्टेलको नेकपाको आधिकारिकता दिएपछि ओली र प्रचण्डले नेतृत्व गरेको नेकपा स्वतः खारेजमा परेको थियो । त्यसपछि कानुनी रूपमा दुई पार्टी अलग भएको हो । अलग हुँदाको राजनीतिक पृष्ठभूमि भने नेकपा हुँदा शक्ति बाँडफाँटलाई लिएर भएको तिक्तता र ओलीले ५ पुस २०७७ मा गरेको संसद् विघटन हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);