काठमाडौं, फागुन १२ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले आज देशभर विजय जुलुस गर्ने भएको छ ।
आज बिहानैदेखि देशभर विभिन्न कार्यक्रमको आयोजना गर्दै पुनःस्थापनाको खुशीयालीमा विजय जुलुस मनाउन लागिएको हो ।
काठमाडौंमा आयोजना हुने जुलुसमा अध्यक्षद्वय पुषपकमल दाहाल र माधवकुमार नेपाल सहभागी हुनेछन् । मंगलबार दिउँसो चितवन पुगेका दाहाल नेपाल त्यहाँको कार्यक्रम छोट्याएर मध्यान्ह १२ बजे काठमाडौंको शान्तिवाटीमा हुने विजय जुलुसमा सहभागी हुने बताइएको छ ।
आजै संसदीय दलको बैठक
साथै नेकपाको उक्त समूहले आजै संसदीय दलको बैठक डाकेको छ । संसद् पुनस्र्थापना भएपछि पार्टीले संसदीय दलको बैठक डाकेको हो ।
अपराह्न ४ बजे दलको बैठक डाकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठको सचिवालयले जनाएको छ ।
नेकपा संसदीय दलका अध्यक्ष एवम् प्रधानमन्त्रीले पुस ५ गते संसद् विघटन गरेपछि नेकपा दुई चिरामा विभाजित बनेको छ ।
यद्यपि निर्वाचन आयोगले आयोगमा यसअघि दर्ता भएको केपी शर्मा ओली र पुष्पकमल दाहाल अध्यक्ष भएको नेकपालाई नै आधिकारिक भनेको छ ।