पर्साको ठोरी गापा वडा ३ मा पर्ने घट्टे खोलामा झोलुङ्गे पुल बन्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पर्साको ठोरी गापा वडा ३ मा पर्ने घट्टे खोलामा झोलुङ्गे पुल बन्ने

बीरगञ्ज, २३ माघ । पर्साको ठोरी गापा वडा ३ मा पर्ने घट्टे खोलामा झोलुङ्गे पुल बन्ने भएको छ। चितवन राष्ट्रिय निकुन्ज किनारमा पर्ने उक्त खोलामा यस अघि रहेको काठको पुल जिर्ण हुँदा स्थानीयलाई सास्ती हुने गरेको छ।

साविक निर्मलवस्ती गाविसको वडा ३ र ४ जोड्ने उक्त खोलामा पुल नहुँदा सालघारी र देविथान गाउँका स्थानीयवासीलाई आवतजावतमा समस्या हुने गरेको थियो। त्यसैगरी सोही वडामा रहेको नेरामावि ओडारमा अध्ययन गर्ने नयाँवस्ती र ब्रम्हानगरका विद्यार्थीहरु दिनहुँ ओहोरदोहोर गर्ने उक्त खोलामा चालु आर्थिक वर्षमा निर्माण सम्पन्न हुने गरी पुल निर्माण हुन लागेको हो।

संघीय सरकारको करीब ३० लाख लागतमा निर्माण हुने पुलको लम्बाइ ३२ मिटर र चौडाइ डेढ मिटर हुने पुल निर्माण उपभोक्ता सदस्य होम श्रेष्ठले  जानकारी दिए। ब्रम्हानगरको चितवन राष्ट्रिय निकुन्ज किनार छेउमा रहेको देविथान टोलका स्थानीयलाई बिरगंज ठोरी हुलाकी सडक छेउ पुग्न बैकल्पिक बाटो समेत रहेको उक्त खोलामा निर्माण हुन लागेको झोलुङ्गे पुलको बिहिबार ठोरी गापा अध्यक्ष पदमलाल श्रेष्ठले शिलान्यास गरे। सो अवसरमा अध्यक्ष श्रेष्ठले दैनिक विद्यार्थी एवम् स्थानीय कृषि र अन्य कार्यका लागि आवतजावत गर्ने उक्त खोलामा पुल निर्माण भएपछि स्थानीयलाई सहजता हुने विश्वास व्यक्त गरे। पुलको चौडाई डेढ मिटर र संरचना समेत बलियो हुने भएकाले सो पुलबाट मोटरसाईकल र तीन पाङ्ग्रे अटो रिक्सा समेत सजिलै आवतजावत हुन सक्ने अध्यक्ष श्रेष्ठले बताए। 

शिलान्यास कार्यक्रममा ठोरी ३ का वडाध्यक्ष सुर्य लामा , नेकपा नेता सुर्य थिङ लगायत स्थानीयको समेत उपस्थिति थियो। यस्तै अध्यक्ष श्रेष्ठले बिहिबार नै ठोरी ३ रामनगर, नयाँवस्तीमा निर्माण हुन लागेको गणेश मन्दिरको पनि शिलान्यास गरेका छन्।

जिर्ण मन्दिर निर्माण गर्न गत  मङ्सिर मसान्तदेखि महायज्ञ समेत सन्चालन गरिएको उक्त ठाउँमा ठोरी गापाले चालु आर्थिक वर्षमा रु ३ लाख बजेट विनियोजन गरेको छ।  बुधबार पनि रामनगरमा खानेपानी वितरण सहज बनाउन रामनगर नजिकै निर्माण हुन लागेको खानेपानी ट्याङ्कीको शिलान्यास गरिएको थियो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);