राजधानीमै पुल नहुँदा जनतालाई सास्ती, प्लाईको पुलले छिचोल्दै वर्षायाम | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

ललितपुर, ३ भाद्र । महालक्ष्मी नगरपालिका वडा नं. २, मा पर्ने कर्मनासा खोलामा पक्की पुल नहुँदा हजारौं स्थानीय जनता सास्ती खेप्न बाध्य भएका छन। राजधानी काठमाडौंसँगै जोडिएको कर्मनासा खोलामा पक्की पुल निर्माण गर्न स्थानीय प्रतिनिधि र निर्माण कम्पनीले ढिलाई गरेपछि जनआक्रोश बढ्दो छ।

 

‘कर्मनासा खोलामा पहिले पक्की पुल थियो, पछि त्यसलाई व्यवस्थित गर्ने नाममा ठेकेदार कम्पनीले पक्की पुल भत्काएर सामान्य डण्डीको भरमा प्लाईको पुल बनाएर त्यसै छाडिदिएको छ’– स्थानीय लक्ष्मण श्रेष्ठले भने । बलियो पुल नहुँदा खोला तर्न समस्या भएपछि थुप्रै पटक स्थानीय जनताले यहाँका स्थानीय प्रतिनिधिसँग गुनासो गर्दा पनि सुनुवाई भएको छैन । स्थानीय प्रतिनिधि र ठेकेदार कम्पनीले बेवास्ता गरेपछि जनताले वर्षायाममा खोला तर्न समस्या भोग्नु परेको हो।

 

 

वर्षात्को बेला प्लाईको पुलमा आउजाउ गर्दा थुप्रै स्थानीय खोलामा लडिसकेका छन् । व्यवस्थित पुल बनाउने भनेर निर्माण कम्पनी जागृती पूर्णचण्डी जेभीले गत जेठमा पक्की पुल भत्काएर प्लाईको पुल हालेको थियो । स्थानीय डा. बिविसा बानियाँले भने,– ‘भएको पुल भत्काएर प्लाईको पुल त बनाए, तर त्यसपछि पुल बनाउन कोही देखिएन’ । प्लाईको पुल बनाउनुअघि कर्मनासा खोलामाथि बनेको पक्की पुलमा सवारीका साधनसमेत चल्ने गर्थे । बानियाले भने,– ‘अहिले त पैदल हिड्न पनि गाह्रो छ।’

 

जागृती पूर्णचण्डी जेभी नामको निर्माण कम्पनीले एक करोड बीस लाखमा पुल बनाउने ठेक्क लिएको थियो । ‘नयाँ पुल बन्ने त परै जाओस् भएको पुल पनि भत्काएर निर्माण कम्पनी नै खै कता हरायो’– स्थानीय श्रेष्ठले भने । पुल भत्काएर अलपत्र छाड्ने निर्माण कम्पनीमाथि कारबाही गर्न समेत स्थानीयले माग गरेका छन्।

 

महालक्ष्मी नगरपालिका वडा नं. २, का वडा अध्यक्ष रामबहादुर केसीले जनताको समस्याप्रति संवेदनशील रहेको भन्दै पुल निर्माणको काम तत्काल सुरु गर्ने आश्वासन दिएका छन् । ‘कर्मनासा खोलामा पक्की पुल नभएर जनताले दुःख पाएका छन्, मैले पुल निर्माणको कार्य तत्काल अघि बढाउछु’– वडा अध्यक्ष केसीले भने।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);