कोरोनाविरुद्धको खोप नेपालका लागि बुधबार ऐतिहासिक दिन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कोरोनाविरुद्धको खोप नेपालका लागि बुधबार ऐतिहासिक दिन

काठमाडौ, १४ माघ । कोरोना महामारीका कारण असहज अवस्था व्योहोरिरहेको नेपालको लागि बुधबारको दिन ऐतिहासिक बनेको छ । नेपालमा आइपुगेको कोरानाविरुद्धको १० लाख डोज वितरणका लागि राष्ट्रिय खोप अभियान सुरु गरेसँगै कोरोना महामारीका कारण थिलथिलो बनेको अवस्थामा राहत अनुभव महसुस गर्न सक्ने अवस्था भएको हो ।

बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक कार्यक्रममार्फत् अभियानको उद्घाटन गरेसँगै मुलुकभर सातै प्रदेशमा एकसाथ खोप लगाउने कार्यक्रम सुरु भयो । सातवटै प्रदेशमा रहेका ६२ अस्पताल, उपत्यकाका १७ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट खोप लिने सूचीमा रहेका व्यक्तिलाई एकैसाथ खोप दिइएको हो । पहिलो चरणमा एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी लगायतका अग्रपंक्तिमा खटिने कर्मचारीहरुलाई दिइने गरी अभियान सुरु भएको छ ।

विश्वमा खोप उत्पादन भइ प्रयोगको चरणमा गएसँगै नेपालमा पनि खोप ल्याउने प्रतिबद्धता सरकारले यसअघि जाहेर गरेको थियो । सरकारले पहिलो चरणमा सो प्रतिबद्धता अक्षरस कार्यान्वयन गर्न सफल भयो । बुधबारको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई आवश्यक खोप भित्र्याउने पहल भैरहेको र तीन महिनाभित्र सम्पूर्ण नेपालीलाई निःशुल्क खोप उपलब्ध गराइने प्रतिबद्धता समेत जाहेर गर्नुभएको छ । नेपालले खोप भित्र्याउनका लागि गरेको गृहकार्य र हालसम्म देखाएको तदारुकताका कारण यसमा विश्वस्त हुनसक्ने आधार रहेको देखिन्छ ।

यतिबेला विश्वभर नै खोपको माग उच्च रहेको छ । विश्व जगतलाई कोरोनाभाइरसको संक्रमणले नराम्ररी प्रभावित पारेकाले विश्वका शक्ति राष्ट्रहरु अहिले खोप निर्माता कम्पनीहरुसँग खोपको लागि सिधै सम्पर्क स्थापित गर्दै खोपमा अग्राधिकार लिने होडवाजीमा छन् । तर यही बीच नेपालले कुल जनसंख्याको साढे तीन प्रतिशत भन्दा बढीलाई पुग्ने संख्यामा खोप ल्याउन सफल भयो । सरकारले खोपका लागि गर्दै आएको कुटनीतिक पहलका कारण पनि विश्वभर खोप लगाउने क्रम सुरुआत हुँदा नै नेपालले खोप ल्याउन सकेको देखिन्छ । खोप लगाउन सुरु गरिएका अधिकांश मुलुकमा अग्रपंक्तिमा काम गर्नेलाई खोप लगाउने र कुल जनसंख्याको दुई देखि चार प्रतिशतलाई खोप लगाइरहेको आँकडा बाहिरिइरहेको छ । यसले नेपाल खोप पाउने मुलुकको दौडमा पछि नरहेको प्रष्ट पारेको छ ।

अहिले अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेका कम्पनीले संयुक्त रुपमा निर्माण गरेको खोप उत्पादन गरिरहेको भारतले समेत हाल नेपालकै हाराहारीमा जनसंख्याको अनुपातमा खोप लगाएको देखिन्छ । अहिलेको अवस्थामा नेपालले समानुपातिक रुपमै खोप पाउनुले आगामी दिनमा थप खोप आयात भइ कोरोना महामारीबाट मुक्ति पाइने आशा गर्नु गलत हुने छैन । नेपालमा कोरोनाविरुद्धको खोप आएको एक साता मात्रै भएको छ । यो एक साताको बीचसातै प्रदेशमा खोप पठाइ बुधबारबाट खोप अभियान नै सुरु गर्न सक्नुलाई सरकारको सफलताको रुपमा विश्लेषण गरिएको छ । नेपालमा जारी राजनैतिक संकटका बीच सरकारले खोप अभियानलाई प्राथमिकता दिइ कोरोना अन्त्यको प्रयास गर्नु सराहनीय छ ।

१० लाख डोज खोप ल्याइ वितरण गरेपनि सरकारको चुनौती अहिले सकिएको छैन । कोरोना महामारीको उच्च जोखिममा रहेकाहरु अझै ठूलो संख्यामा जनमानस खोपको प्रतिक्षामा छन् । खोपको मूल्य यसअघि अपेक्षा गरिएभन्दा सस्तो रहेपनि विश्वभर खोपको माग हेर्दा नेपालले थप खोप ल्याउन जोडदार रुपमा कुटनीतिक प्रयास जारी राख्नुपर्ने देखिन्छ । अहिले नेपालमा देखिएको राजनैतिक संकटका कारण सरकारलाई काम गर्न असहज अवस्था भएपनि यी सबै चुनौती पन्छाइ पर्याप्त मात्रामा खोप ल्याएर नागरिकको जीवन रक्षामा लाग्नु सरकारको प्रमुख दायित्व हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);