ट्राफिक प्रहरीलाई ट्राफिक सांकेतिक चिन्ह अंकित बोर्ड हस्तान्तरण | ईमाउण्टेन समाचार

Our Network

असार ३ २०८३, बिहीबार

ट्राफिक प्रहरीलाई ट्राफिक सांकेतिक चिन्ह अंकित बोर्ड हस्तान्तरण

शालिकराम चालिसे

नुवाकोट, १३ माघ । नुवाकोटको विदुर नगरपालिकाले जिल्ला ट्राफिक कार्यालयलाई ट्राफिक सांकेतिक चिन्ह अंकित बोर्ड हस्तान्तरण गरेको छ । आइतबार एक कार्यक्रमको आयोजना गरि नगरपालिकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख सुरेन्द्र विष्टलाई ट्राफिक सांकेतिक चिन्ह अंकित बोर्ड हस्तान्तरण गरेको हो ।

बोर्ड हस्तान्तरण कार्यक्रममा बोल्दै विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले सवारी साधन दुर्घटना न्यूनिकरणको लागि नगरपालिकाले आवस्यक श्रोत साधनको व्यवस्था गराउने प्रतिवद्धता जनाउनुभयो । उहाँले नागरिकको जिउधनको सुरक्षाको विषयमा नगरपालिकाले विशेष प्राथमिकताको साथ काम गरिरहेकोले प्रहरी कार्यलय र ट्राफिक कार्यलयसँग निरन्तर समन्वय भइरहेको बताउनुभयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख सुरेन्द्र विष्टले ट्राफिक नियम पालना गरेर मात्र यात्रा गर्न सबै यात्रु तथा सवारी साधन चालकहरुले ध्यान दिनुपर्ने बताउनुभयो ।

यस्तै विदुर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष टकलमान श्रेष्ठले स्वच्छ र सुन्दर नगरपालिका निर्माण गर्नलाई अस्तव्यस्त रुपमा सञ्चालन भएका पसल र रोकिएका सवारी साधनका कारण समस्या भइरहेको गुनासो गरेका छन् ।

पछिल्लो समय नुवाकोटमा सहरीकरण बढेसँगै सडक दुर्घटनाम बढ्न थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

Leave a Reply