अनुत्तरदायी बनिरहेको राजनीति (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

अनुत्तरदायी बनिरहेको राजनीति (भिडियोसहित)

राज्यको हितलाई प्रमुख नारा बनाइ राजनीति गर्दै आएका दलहरुको पछिल्लो व्यवहारलाई अनुत्तरदायीको संज्ञा दिइएको छ । सत्तापक्षमात्र नभइ प्रतिपक्षसमेत जनचासोका विषय सम्बोधन गर्न असफल भैरहेका छन् । यसले जनतामा चरम निराशा सिर्जना गरेको छ ।

मुलुकको राजनीति पछिल्ला दिनमा जनताप्रति अनुत्तरदायी बन्दै गइरहेको छ । सरकार सञ्चालनको जिम्मेवारी बोकेको सत्तारुढ दल नेकपा होस् वा सरकारका काम कारबाहीको खबरदारी गर्ने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, जनचासोका विषयहरु सम्बोधन गर्नबाट चुक्दै गैरहेका छन् । जसले गर्दा जनतामा उत्पन्न निराशा आक्रोशतर्फ उन्मुख भइरहेको अवस्था देखिँदैछ । तरपनि राजनीतिक दलहरुले आफूलाई जनकेन्द्रित बनाउने चेष्टा गरिरहेका छैनन् । यो वास्तवमै देश र जनताका लागि दुर्भाग्यपूर्ण अवस्था हो ।

विश्वव्यापी फैलिएको कोरोना महामारीका कारण मुलुक अहिले आक्रान्त छ । जसका कारण विकास निर्माणका कामले गति लिन सकिरहेको छैन । बेरोजगारीको अवस्था चुलिँदा जनतालाई हातमुख जोर्न समेत हम्मेहम्मे पर्दै जान थालेको छ । भ्रष्टाचार, अनियमितता, अपराधका घटनाले सीमा नाघिरहेको अवस्था छ । महँगीले आकाश छोएको छ । राजनीतिज्ञ जनताप्रति जिम्मेवार नभए जस्तै मुलुकको स्थायी सरकार मानिने प्रशासन संयन्त्र पनि जनताप्रति उत्तरदायी हुन सकेको छैन । मुलुकमा भ्रष्टाचार बढ्नुमा जनताले तिरेको करबाट तलब भत्ता खाने कर्मचारी नै सबैभन्दा बढी जिम्मेवार देखिएका छन् । कतिपय अवस्थामा राजनीतिज्ञलाई भ्रष्टाचार गर्न सिकाउनेमा कर्मचारीकै अगुवाहरुको नामसमेत जोडिने गरेको छ । तर अवस्था कस्तो दुर्भाग्यपूर्ण छ भने, जीवन नै भ्रष्टाचारमा बिताएका ती अनुहारहरु नै भ्रष्टाचार नियन्त्रणको बहस पैरवी गरिरहेका भेटिन्छन् । मुलुकलाई नै खोक्रो बनाउने गरी भइरहेका यस्ता गतिविधि नियन्त्रण गर्नेतर्फ राजनीति गर्नेहरुलाई सोच्ने फुर्सद समेत हुन छोडेको छ ।

जनताले आम निर्वाचनमार्फत नेकपालाई कुशलतापूर्वक सत्ता सञ्चालनको र नेपाली कांग्रेसलाई रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्न जिम्मेवारी सुम्पेका थिए । जनताले सुम्पिएको जिम्मेवारी अनुरुप राजनीतिक दल अगाडि बढेको हुन्थे भने मुलुकमा सुशासनका संकेत देखिने थिए । तर राजनीतिक दलले आफूलाई सत्तास्वार्थमा मात्र केन्द्रित गरिरहँदा जनताले भोगका समस्याबाट बेखबर जस्तै देखिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा सर्वदलीय बैठक बस्छ, सरकारका कामको खबरदारी गर्न जनताबाट जिम्मेवारी पाएको प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवाले एक शब्द बोल्दैनन् । कतिपय नेताहरुको ध्यान आफूलाई प्राप्त जिम्मेवारी बिर्सिएर उद्घाटन र शिलान्यासमा केन्द्रित हुने गरेको छ । सत्तापक्षले गर्ने काममा प्रतिपक्षको दिलचस्पी छ ।

उता सत्तारुढ दलभित्रै आफैं सत्तापक्ष र प्रतिपक्षको अभ्यास भइरहेको पनि जनताले देख्नु परिरहेको छ । राजनीतिक दलले देखाएको यो जगहसाईबाट जनताले कहिले मुक्ति पाउने हुन्, त्यसको पनि टुंगो छैन । मुलुकमा लामो समयदेखि राजनीतिक अस्थिरता व्याप्त रह्यो । त्यसबाट वाक्क भएका जनताले निर्वाचनमार्फत आफ्नो अभिमत जाहेर गरेर सत्ता सञ्चालनको साँचो सुम्पिएकै हुन् । तर त्यसप्रति विशेषगरी सत्तारुढ नेकपाका नेताहरु गम्भीर र जिम्मेवार नबनिदिँदा राजनीति भन्ने शब्द प्रति नै वितृष्णा जाग्ने अवस्था सृजना हुँदै गैरहेको छ ।

राजनीतिलाई मार्गदर्शन गर्न कुशल र सुयोग्य नेतृत्व चाहिन्छ । कुशल अभिभावकको अभावमा घर बिग्रेजस्तो दूरदर्शी नेतृत्व नहुँदा समाज मात्र होइन, देश नै लथालिङ्ग हुनपुग्छ । जुन अवस्था अहिले मुलुकको नियती बनेको छ । पार्टीहरुमा एकल नेतृत्व स्थापित नहुँदा ऐंजेरु पलाएझैं बहुध्रुव खडा भएका छन् । बहुध्रुवकै कारण राजनीतिक दलले जनमुखी गन्तव्य भेदन गर्न सकेका छैन ।

त्यसैले राजनीतिक दलमा व्याप्त बहुध्रुवलाई निमिट्यान्न पारेर सबैपार्टीमा एकल नेतृत्वको कसरत गर्न ढिला भैसकेको छ । जब पार्टीहरुमा एकल नेतृत्व स्थापित हुन्छ, तबमात्र राजनीति जनताप्रति उत्तरदायी बन्ने ग्यारेन्टी हुन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);