व्यापक आर्थिक असमानताको कारण भ्रष्टाचार (भिडियोसहित)


राजनीतिक व्यवस्था फेरिएसँगै नेपाल र नेपालीको जीवनस्तर पनि निकै फेरिने अपेक्षा जनतामा थियो । तर नेपाल र नेपालीको अवस्था उस्तै रह्यो । फेरियो त नेतृत्वको जीवनशैली मात्र । धनी र गरिबबीचको दुरी कम हुनुको साटो व्यापक हुँदै गयो । सहरमा भ्रष्टाचारबाट आर्जित रकमले ठडिएका आलिशान महलले जतालाई गिजाइरहेको छ । पहिले पहिले हुनेखानीहरुलाई सामन्त भन्दै सफायाको अभियान चलाउने नेताहरुको जीवनशैलीले कथित सामन्तको जीवनशैलीलाई माथ गरिदिएको छ । यति हुँदा पनि सम्बन्धित निकाय मौन रहँदा इमान्दार जनतामा आक्रोसको ज्वारभाटा उठ्ने अवस्था देखिंदैछ ।

राजनीतिलाई दोष दिए पनि या नदिए पनि प्रजातन्त्रको पुनस्र्थापनापछि देशमा आर्थिक असमानता व्यापक रुपमा देखिंदै गएको छ । धनी र गरिबबीचको दुरी यति व्यापक बन्दै छ की यो क्रम यस्तै रुपमा अघि बढ्ने हो भने, राजनीतिले स्थायित्व पाउन सक्ने अवस्था नै छैन । पंचायन वा राणाकालिन समयमा इनेगिने जिम्बल, मुखिया वा भारतदार जस्ता तत्कालिन व्यवस्थाले संरक्षण दिएका केही व्यक्तिहरुमा अन्य जनताको भन्दा केही बढी सम्पत्ति देखिने गथ्र्याे । त्यो बाहेक धनी देखिने अन्य कारणमा भाग्यले साथ दिएका केही व्यक्तिहरु पर्न जान्थे । अर्थात राजमार्ग बन्न जांदा संयोगवश राजमार्गको छेउमा घर जग्गा पर्न जानेहरु एकाएक धनी देखिन्थे । त्यो बाहेक तत्कालिन शासकले विर्ता, बकस भन्दै दिएका सम्पत्तिका कारण केही व्यक्ति धनी बन्न जान्थे ।

यस्तै यस्तै धनीहरुलाई अहिलेका राजनीतिकर्मीहरुले त्यसबेला सामन्ती शोषक भन्ने गर्थे । अहिलेको राजनीतिक नेतृत्व गर्नेहरुले ति कथित सामन्ती शोषकहरुलाई सफाया गर्दै शोषितहरुको पक्षमा भन्दै ति कथित सामन्तहरुमाथि विजय प्राप्त गरेर अहिलेको शासन सत्ता चलाउने अवस्थामा पुगेको यथार्थता सबैको सामू छर्लङ छ । तर प्रजातन्त्रको पुनस्थापनासँगै समाजवाददेखि विभिन्न प्रकारका वादहरुको सपना बांड्दै गरिएको वर्तमान राजनीतिले त्यस बेलाको इनेगने रुपमा देखिने आर्थिक असमानता, जो त्यति ठूलो थिएन, लाई समेत माथ गर्दै सिंगो परिवेश नै आर्थिक असमानताको दलदलमा फसाउँदै लगेको छ ।

पहिला पहिला बैंकिङ क्षेत्रमा जागिर खांदा प्राप्त हुनसक्ने घर कर्जा जागिरको आकर्षण मानिन्थ्यो । अन्य क्षेत्रमा काम गर्ने कर्मचारीको लागि घर निर्माण गर्नु भनेको आकासको फल जस्तै थियो । तर अब त्यस्तो छैन । अहिलेको राजनीतिले व्यापक रुपमा नबधनाढ्यहरुको जन्म दिइरहेको छ । नवधनाढ्य वर्गको विकास राष्ट्र सेवक भनिने कर्मचारीहरुबाट नै जन्मिरहेको छ । पहिला पहिला राजनीतिक तहमा देखिने केही भ्रष्टाचारका घटनाहरु अब घटना बन्न छाडेसंगै वास्तविकता बनी रहेका छन् । सरकारी निकायहरुमा कुनै पनि काम गराउनु पर्दा प्याकेजमा डिल हुने अवस्था छ । राज्यस्तरमा हुने भ्रष्टाचारदेखि जनताबाट उठाएर खाने पैसा समेतले कर्मचारीतन्त्रलाई भ्रष्ट मात्र बनाएको छैन सोच्नै नसक्ने आर्थिक शिखरमा समेत पुर्याइ दिएको छ ।

आज केही कर्मचारी बाहेक अधिकांशको देशको प्रमुख सहरहरुमा आलिशान महलहरु खडा भएका छन् । जागिर खाएको केही वर्षमा नै देखिएको आर्थिक परिवर्तन हेरिदिने निकायहरु देशमा नभएको होइनन् । तर ति निकायहरु पनि भ्रष्टहरुसँगै एकाकार गर्दै आर्थिक उपार्जनमा नै व्यस्त छन् । कहिलेकांही राजनीतिका नीति निर्माताको तहमा भ्रष्टाचारसंग सम्बन्धित भ्रष्टाचार नियन्त्रण आयोग गठन भइ हाले पनि ति भ्रष्ट र चाप्लुस कर्मचारीकै बाहुल्यतामा अझ पूर्व सचिव भन्दै बनाइने संयन्त्रले भ्रष्टाचार घटाउनु भन्दा आफू समेत भ्रष्टाचारमा लिप्त हुन प्रवृत्त हुने गरेसंगै अब नेपालको परिचय नै भ्रष्टाचार बन्दै गएको तितो यथार्थ आजको वास्तविकता हो भन्नलाई हिचकिचाउनु पर्ने अवस्था रहेन । राजनीति गर्नेहरुलाई भ्रष्टाचारी तप्काले छपक्कै घेरेको छ ।

यो यति धेरै बलियो छ की जतिसुकै इमान्दार व्यक्ति पनि या त यो घेराको गुरुत्व आकर्षण शक्तिद्वारा तानिन पुग्छ, या त बेलुन बन्दै आकाशतिर हुत्तिन पुग्छ । बेलुन बनेर आकाशतिर हुत्तिने रहर कसैलाई हुँदैन । त्यसैले दुबै थरिको केमेष्ट्रि मिल्न जान्छ । भ्रष्ट कर्मचारी संगै देशको राजनीति पनि उनीहरुकै बाटोमा स्खलित हुन पुग्छ । आज भनिने गरेको आजको राष्ट्र सेवकको तलब गणना गरिने हो भने जीवनकालमा घर त कुरै छोडिदिउ सामान्य गोठ पनि बन्न सक्ने अवस्था रहँदैन ।

अझ अर्काे वास्तविकता त के छ भने राष्ट्र सेवकका छोराछोरी सामान्य स्कूलमा पढ्दैनन् । नेपालका महंगा स्कूलहरुमा पनि पढ्दैनन् । पश्चिमा विकसित देशहरुका सबैभन्दा ठूला विद्यालयदेखि विश्वविद्यालयसम्ममा उनीहरुको पढाइ हुन्छ । उनीहरुको नाउँमा नेपालले अनौपचारिक क्षेत्रबाट मात्र करोडौं रकम विदेश पठाउँछ । यो रकमको गणना गर्ने हो भने नेपालले प्राप्त गर्ने विदेशी अनुदान भन्दा ठूलो पनि हुनसक्छ, तर हेरिदिने निकाय छैन ।

राजनीतिदेखि कर्मचारीतन्त्रसम्ममा देखिएको यस्ता प्रकारका अनगिन्ति बदलावहरुले देशलाई थला बसालिसकेको छ । यो वर्गलाई देशमा घट्ने ठूलाठूला घटनाले छुंदैन । बरु त्यो बिपत्तिको समय थप आयआर्जनको निमित्त मनग्य प्रयोगमा आउने गर्छ । तलदेखि माथिसम्म मौलाएको आजको भ्रष्टाचारको अवस्था नै आर्थिक असमानताको प्रमुख जड बनेको छ । राज्य भित्र जबसम्म यस्तो कुचक्रको व्यवस्थापन हुन सक्दैन तबसम्म देशको विकास हुँदैहुँदैन । वास्तविक जनताको जीवनस्तरमा सुधार आउँदै आउँदैन । देश विकास नहुनुको प्रमुख कारण नै भ्रष्टाचार हो ।

सबैले सोच्नुपर्छ, पहिला पहिला राजनीति गर्दा सफायामा परेका आत्माहरुले सराप्नु भन्दा पहिल्यै वर्तमान अवस्थामा सुधार गर्न सकिएन भने जन आक्रोसको बलीबेदीमा फेरी अर्काे ज्वारभाटा उठ्न गइ इतिहासको पुनरावृत्ति हुन गयो भने अन्यथा मान्नु पर्ने छैन ।

Leave a Reply