नेकपा सचिवालय बैठकअघि ओली र दाहालबीच संवाद, २६ दिनपछि दाहाल र ओलीको वान–टू–वान वार्ता | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

नेकपा सचिवालय बैठकअघि ओली र दाहालबीच संवाद, २६ दिनपछि दाहाल र ओलीको वान–टू–वान वार्ता

ईमाउन्टेन संवाददाता
काठमाडौं, २० मंसिर ।
नेकपा सचिवालय बैठकअघि प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । सचिवालय बैठकमा छुट्टाछुट्टै प्रतिवेदन पेश गरेर आमनेसामने भएका ओली र दाहालबीच २६ दिनको संवादहिनता तोड्दै आज वार्ता भएको हो ।

ओली र दाहालबीच भएको वार्तालाई अर्का वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालले समूहले आशंकाको दृष्टिले हेरेको छ । पार्टीमा पेश भएका छुट्टाछुट्टै प्रतिवेदनलाई एकलरुप दिएर अघि बढ्नुपर्ने आवाज पार्टीमा उठिरहेका बेला दुई अध्यक्षबीच भएको वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

नेकपा सचिवालय बैठकअघि दुई अध्यक्षबीच वार्ता भएको हो । गत बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित भएपछि बैठक आजका लागि सारिएको थियो ।

सचिवालय बैठकमा पार्टी भित्र उत्पन्न समस्या र नेताहरु बिचको अन्र्तद्वन्द्वका विषयमा छलफल हुने बताइएको छ । पछिल्लो केही महिनायता नेकपामा विवादले स्थायी समाधान पाउन सकेको छैन । नेतृत्वको कार्यशैली, सरकारका कामकारबाही र पार्टीबाट सरकारलाई भइरहेको असहयोगलाई लिएर पछिल्लो विवाद सुरु भएको थियो ।

कार्तिक २८ गतेको सचिवालय बैठकमा अध्यक्ष दाहालले एकल प्रस्ताव राखेपछि विवाद झन बल्झिएको हो । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीसहितका नेताहरुले उक्त प्रस्तावमा प्रस्तुत विषयवस्तु, भाषा एवं शैलीलाई लिएर गम्भीर आपत्ति जनाउनुभएको थियो । त्यसको जवाफ स्वरुप मंसिर १३ गतेको सचिवालय बैठकमा अध्यक्ष ओलीको तर्फबाट छुट्टै प्रस्ताव पेश भएको थियो । पार्टी सचिवालयमा यस किसिमका परस्पर विरोधी दुईओटा प्रस्ताव पेश भएपछि नेकपामा विभाजन केन्द्रदेखि स्थानीय कार्यकर्तासम्म पुगेको छ ।

अहिलेको सचिवालय बैठकमा प्रस्तुत परस्पर विरोधी प्रतिवेदनहरुले नेकपामा विभाजन बढाइरहेको समयमा यी दुवै प्रतिवेदनलाई फिर्ता गरेर अर्को संयुक्त प्रतिवेदन सचिवालयमा पेश गर्नुपर्ने कुरा पनि नेकपा भित्रैबाट आइरहेको छ । तर दाहाल–नेपाल समूह सचिवालयमा प्रस्तुत प्रस्ताव र्फिता लैजाने मनस्थितिमा देखिँदैन । दुबै समूह आआफ्नो अडानमा अडिक रहेर सहमति जुट्न नसकेको अवस्थामा नेकपाको भविष्यमा शंका उपशंका गर्ने क्रम जारी छ ।

यस्तोमा गत भदौं २६ गतेको सहमतिलाई थप परिभाषित गरेर अगाडि बढ्नेमा समझदारी हुनसक्ने नेताहरु बताउँछन् । भदौ २६ गते संसद्को पूरा कार्यकाल ओली प्रधानमन्त्री रहने तर कार्यकारी अध्यक्षको रुपमा दाहालले पार्टीको नेतृत्व गर्ने सहमति जुटेको थियो । सरकारले दीर्घकालिन महत्वका महत्वपूर्ण निर्णय गर्दा र राजनीतिक नियुक्ती दिँदा पार्टीसँग समन्वय गरेर गर्नुपर्ने सहमति भएको थियो । तर त्यो सहमतिको इमान्दारीपूर्ण पालना नभएको नेताहरु बताइरहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);