एजेन्सी, २६ कार्तिक । अमेरिकाका राष्ट्रपति–निर्वाचित जो बाइडेनले आफ्नो प्रमुख प्रबन्धक चिफ अफ स्टाफ रोन क्लाइनलाई मनोनयन गर्नुभएको छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको दैनिक कार्यसूची व्यवस्थित गर्ने महत्वपूर्ण जिम्मेवारीमा बाइडेनले लामो समयदेखि सल्लाहकारका रुपमा कार्यरत रोन क्लाइनलाई छनौट गर्नुभएको हो ।
रोन क्लाइनलाई ह्वाइट हाउसको कार्यव्यवस्था बारे निकै लामो अनुभव छ । सन् २०१४ मा इबोला सम्बोधन सम्बन्धी ह्वाइट हाउसमा संयोजकको भूमिका निर्वाह गरिसकेका क्लाइनले अमेरिका कोरोनाबाट सबैभन्दा बढी प्रभावित भइरहेको बेला ह्वाइट हाउसमा महत्वपूर्ण जिम्मेवारी पाउनु भएको हो ।
बाइडेनले अहिलेको अवस्थामा सबै पक्षबीच सन्तुलन कायम गरी कार्य गर्न क्लाइन सफल हुने विश्वास व्यक्त गर्नुभएको छ । तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाको पहिलो कार्यकालको समयमा पनि क्लाइनले बाइडेनको चिफ अफ स्टाफका रुपमा सेवा गरेका गर्नूभएको थियो ।
क्लाइनको नियुक्तिले बाइडेन प्रशासनले काम थाले लगत्तै कोरोना संक्रमण नियन्त्रणमा लाग्ने संकेत तर्फ प्रमुख रुपमा ध्यान केन्द्रित गर्ने सम्भावना देखाएको छ । क्लाइनलाई जनस्वास्थ्यका साथै ह्वाइट हाउसका लागि इबोला नियन्त्रण टोलीको संयोजक भएर काम गरेको अनुभव छ ।