सत्तारुढ दल नेकपाका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले, गुटगत भेला नगर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल लगायत सचिवालयका पाँच नेताहरुलाई निर्देशन दिनु भएपछि नेकपा विवाद नयाँ मोडतर्फ धकेलिएको छ । प्रधानमन्त्री ओलीको अनुपस्थितिमा केही चरणका अनौपचारिक बैठक गरेर पार्टी बैठक बोलाउन दुई पृष्ठको लिखित माग पत्र बोकी बालुवाटार पुगेका दाहाल लगायतका नेताहरुलाई अध्यक्ष ओलीले गुटगत भेला गर्नु भन्दा सामुहिकतामा अगाडि बढ्नु स्वयंम पार्टी र देशका लागि उत्तम हुने सुझाव दिनु भएको थियो ।
पार्टीमा आफू हाबी हुन अनौपचारिक बैठक गरिरहेका नेताहरुलाई प्रधानमन्त्रीले दिएको जवाफपछि नेकपा विवादले कुन मोड लिने हो त्यो भने हेर्न बाँकी छ । तत्कालिन एमाले र तत्कालिन माओवादी केन्द्रको अध्यक्षको हैसियतमा अहिले सचिवालयमै रहेका केही नेताहरुलाई सुइँको समेत नदिइ सट्याकसुटुक पार्टी एकता गरेका ओली र दाहालबीच पछिल्ला दिनमा के कारण गांड कोराकोर भइरहेको छ जनताले मात्र होइन स्वयंम पार्टीकै नेता कार्यकर्ताले पनि बुझ्न नसकेर रनभुल्लमा परिरहेका छन् ।
ओली र प्रचण्ड मिल्दा दुई ठूला कम्युनिष्ट पार्टीकै धेरै जसो नेताले थाहै नपाई फ्याट्ै एक भए । एकताको त्यो उत्साह र उमंग अनुरुप पार्टीलाई गतिशील र सरकारलाई चलायमान बन्न नदिन नेकपा भित्रको कुन तत्वले बखेडा झिकिरहेको छ त्यसलाई बेलैमा चिन्न र किनारा लगाउन स्वयंम ओली र प्रचण्डले नै सामथ्र्य राख्न सक्नुपर्छ । यदि जनभावना अनुरुप पार्टीलाई एक ढिक्का बनाउन पहिलो पुस्ताका नेताहरुले पनि आफूले छाना ओडेको कोटरीबाट बाहिर निस्केर भूमिका खेल्न सकेनन् भने, दोश्रो र तेश्रो पुस्ताका नेताहरुले हस्तक्षेपकारी भूमिका निर्वाह गर्न पनि ढिलाई गर्नु हुँदैन ।
जब नेकपामा दुई अध्यक्ष ओली र दाहाल मिल्छन तब नेकपालाई गतिशील बनाउन कसैले चाहेर पनि रोक्न सक्दैन । तर दुई अध्यक्ष मिल्दा आफ्नो भविष्य अनिश्चित देख्ने नेकपा भित्रकै एउटा तप्काले दुबै नेतालाई सदैव उरालधुराल पारेर ओली र दाहाललाई मिल्नै नदिने प्रपञ्च रचिरहेका छन् । जबसम्म ओली र दाहाल यो जालमा माछो जस्तो परिरहन्छन तबसम्म नेकपा एकीकृत स्वरुप धारण गर्न सम्भव छैन । त्यसैले पार्टी एकता गर्दाको भावनालाई आत्मबोध गर्दै ओली र दाहालले नयाँ समीकरण निर्माण गर्न अत्यावश्यक भइसकेको छ । नेपाली राजनीतिमा ओली र प्रचण्डको आ–आफ्नै विशिष्ट प्रकारको अस्थित्व छ ।
१४ वर्ष कठोर कारावासको सजाय काटेका ओली र दश वर्षे जनविद्रोहको नेतृत्व गरेका दाहाल दुबै नेपाली जनताबाट अपार ताली र गाली खाने नेतामा पर्दछन् । पार्टी एकताको भावना अनुरुप ओली र दाहालले एउटै धु्रवमा रहेर अघि बढेको अवस्थामा नेकपा रुपी जहाजको सहज अवतरण असम्भव पनि छैन । पदका लागि अध्यक्ष दाहालले मूलधारसँगै मिलेर पार्टीमा आफ्नो अधिपत्य जमाउने बाटो अंगिकार गर्नुपर्नेमा पूर्व एमालेको अर्काे धारसँग मित लाउन खोज्दा नेकपा समस्यामा पर्दै गएको देखिन्छ ।
मूलधारसँग विद्रोह गरेर अर्काे धारसँग सहकार्य गर्न खोज्दा स्वयंम दाहालकै भविष्य पनि धरापमा पर्ने त होइन भन्ने प्रश्न चिन्ह पनि खडा हुँदै गएको छ । त्यसैले जाली र महाजालीको नेपाली कथा जस्तो ओली र प्रचण्डले एक अर्कालाई सिध्याउने खेलोखड्को गर्नु भन्दा पार्टीलाई एक ढिक्का गरी सरकारलाई प्रभावकारी बनाउने प्रण गर्न जरुरी छ । त्यसका लागि स्थायी समितिको निर्णय बमोजिम सरकारका काममा प्रधानमन्त्री ओली केन्द्रित हुने र पार्टी काममा दाहाल केन्द्रित हुने हो भने नेकपामा कुनै समस्या नै आउने देखिंदैन ।
तर दुई नेता यसरी अघि बढ्दा नेकपा कै अरु केही नेताहरु किनारामा पर्ने भयले आक्रान्त छन र जनताको मन नै कुटुक्क गर्ने गरि पार्टीलाई आफ्नो स्वार्थको लागि यो वा त्यो नाउँमा अस्थिर र तरंगित बनाइरहेका छन् । जसको सजाय मुलुकले भोग्नु पर्ने अवस्था सृजना भइरहेको छ । परिणामत जसरी दुई नेताले सहमतिमा पार्टी एकतालाई निष्कर्षमा पु¥याएका थिए, यसलाई महाधिवेशनसम्म लैजाने कार्यभार दुबै नेताको काँधमा छ ।
महाधिवेशनले नै पार्टीको नीति, सिद्धान्त, विचार र नेतृत्व चयन गर्ने भएकोले त्यस अघि नेकपामा भइरहेको यो झगडाको कुनै अर्थ छैन । त्यसैले सबैले महाधिवेशनले गर्ने निर्णयलाई स्वीकार गर्ने मानसिकता बनाउँदै अहिले पार्टी र सरकारलाई गतिशील र चलायमान बनाउने दिशामा केन्द्रित हुन जरुरी छ ।