काठमाडाैं, २३ कार्तिक । नेपाली कांग्रेस पदाधिकारीहरुको अनौपचारिक बैठक आजपनि बस्दैछ । शनिबारको बैठक विनानिष्कर्ष टुंगिएपछि कांग्रेस पदाधिकारीहरुको अनौपचारिक बैठक आज पनि बोलाइएको हो ।
शनिबार पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले उठाएको १६ बुँदे मागको विषय टुंगोमा पुग्न नसकेको कारण आजपनि बैठक बोलाइएको हो ।
बैठकमा सहमहामन्त्री डा. प्रकाशशरण महत र पूर्वउपसभापति गोपालमान श्रेष्ठले गठन भइसकेका विभाग र महाधिवेशन मिति हेरफेरमा सहमति गरेर अघि बढ्नुपर्ने धारणा राख्नुभएको थियो ।
कांग्रेस पूर्वमहामन्त्री अर्जुननरसिंह केसीले विधानविपरीत भएका गल्तीहरु सच्याउन माग गर्दै विधानसम्मत् भएका निर्णयहरु आफूहरु मान्न तयार भएको बताउनुभयो । बैठकमा पार्टी समायोजनको विषय, क्रियाशील सदस्यता वितरणमा देखिएको समस्या र महाधिवेशनको कार्यतालिका संशोधनको विषयमा कुरा उठेको बतइएको छ ।




