पूर्व प्रधानमन्त्रीहरुको व्यवस्थापन नै नेकपाको समस्या (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पूर्व प्रधानमन्त्रीहरुको व्यवस्थापन नै नेकपाको समस्या (भिडियोसहित)


सत्तारुढ दल नेकपा भित्रको विवाद अझै मिलेको छैन भन्ने बुझ्न अब कठिन रहेन । नेकपाको केन्द्रीय कमिटी बैठक तोकिएको समयमा बस्न नसकेर एक महिना पर धकेलिएको छ भने, सचिवालय बैठक निर्णय दिन नसक्ने अवस्था र स्थायी कमिटी बैठक पनि बैठकको निमित्त बैठक जस्तो देखिएको छ । यसले कठोर र मजबूत कार्यकर्ताले भरिएको अनुशासित संगठनको रुपमा रहेको नेकपा पार्टी अब त्यो अवस्थामा नरही राजनीतिक शून्यतातर्फ स्खलित एउटा भीड जस्तो देखिएको छ । समस्याको जड पत्ता नलागाइ अब पनि यसैगरी अघि बढे नेकपा पार्टी अब बेमेलहरुको झुण्डको रुपमा परिणत नहोला भन्न सकिन्न ।

सामान्यतया कम्युनिष्ट पार्टी भन्ने बित्तिकै सांगठनिक सञ्जाल, कठोर र मजबुत कार्यकर्ताहरुको अनुशासित, नीतिवद्ध र स्पष्ट दृष्टिकोण भएको संगठनको रुपमा हेर्ने गरिन्छ । सांगठनिक संरचना नै पार्टीको राजनीतिक आधार हुनुका साथै सत्तामा रहे पनि नरहे पनि विचार र सिद्धान्तको आधार स्तम्भको श्रोत पनि पार्टी पद्धती नै मनिन्छ । तर यतिखेर नेपालमा सत्ता चलाइ रहेको नेकपा सम्पूर्ण रुपमा सांगठनिक हिसाबले शून्य जस्तै छ । न यसको जनतासम्म पुग्ने पार्टी पद्धती छ, न सत्तामा पार्टीको सैद्धान्तिक सर्वाेच्चता नै छ, न नेतृत्वले यसको आवश्यकता नै महशुस गरेको छ ।

यही अवस्थाले राजनीतिक शून्यतातर्फ तीब्र गतिमा स्खलित हुँदै गएको भीड जस्तो अवस्थामा नेकपा पुगेको छ । इतिहास सम्झनेहरु तत्कालिन नेकपा एमालेलाई मजबुत संगठन भएको, स्पष्ट कार्यदिशा र अनुशासित राजनीतिक कार्यकर्ताहरुले भरिएको संगठन मान्दथे । त्यस्तै विभिन्न समयमा विभिन्न विचलनहरु आए पनि र पार्टी नेतृत्वमा अनेकौं फुटहरुबाट चोइटा चोइटा हुँदै गएतापनि बचेका कार्यकर्ताहरु कहीं न कहीं कुनै न कुनै सिद्धान्तप्रति आवद्ध रहेकै कारण तत्कालिन नेकपा माओवादी पनि सांगठनिक हिसाबले दह्रो नै मानिन्थ्यो । दुई पार्टीको राजनीतिक बन्धन कसिलो थियो । नौ नौ महिनाको सत्ताको स्वादसंगै विसंगति विकृतिहरुले दुबै पार्टीको नेतृत्व पंक्तिलाई कही न कहीं विचलित गरेको देखिए तापनि मूलभूत रुपमा पार्टी दरिलो भएकै कारण नेताहरुमा पार्टीप्रति हुनुपर्ने कसिलो बन्धन कायमै थियो ।

एकाएक भएको दुई पार्टी बीचको एकीकरणले दुबै पार्टी भित्रको पार्टीगत संरचना र आवद्धताको बन्धन एकाएक फुस्किन पुग्यो । फुस्किएको बन्धन एकीकृत पार्टीमा पुग्दा पनि कसिन सकेन । जसको कारणले गर्दा दुबै पार्टीको पार्टीपंक्ति यतिखेर राजनीतिक जत्था जस्तो मात्र देखिंदै गएको छ । पार्टी एकीकरणको यति लामो अवधि बितिसक्दा समेत पार्टी एकीकरण टुंगाउन सामान्य पहल कदमी समेत नलिनुले दुबै पार्टी नेतृत्वमा नेकपाको भविष्यप्रति शंका रहनु नै हो भन्ने निष्कर्षमा पार्टी पंक्ति कै महत्वपूर्ण नेताहरु पुगेका छन् ।

थुप्रै ठूला नेताहरु भएर मात्र पार्टी संगठन मजबुत हुने रहेनछ भन्ने दृष्टान्त पनि स्थापित हुँदैछ । अझ त्यस माथि पनि पूर्व प्रधानमन्त्रीहरुको भीड त झन पार्टीको निमित्त अभिषाप नै बन्दै गएको कुरा स्वयंम दोश्रो वरीयताका सोही पार्टीका नेताहरु बताउन थालेका छन् । सचिवालयको बैठक बस्यो निर्णय दिन सकेन, स्थायी कमिटी बैठक बैठकमा मात्र सीमित रह्यो, औचित्यमै प्रश्न चिन्ह खडा भएपछि एउटा सुझाव कार्यदल बनाए, लाज छोप्ने प्रयत्न गरियो । केन्द्रीय समिति बैठक बस्नै सकेन । यस्तै यस्तै उपक्रमबाट गुज्रिएको नेकपाको सांगठनिक अवस्थाले पार्टी भित्रको राजनीतिक वातावरण अब छंदै छैन कि भन्ने अवस्थासम्म पुर्याएको छ ।

देशमा प्रधानमन्त्रीको पद एउटा मात्र हुन्छ, सबै पूर्व प्रधानमन्त्रीहरुको आकांक्षा सोही पदप्रति तीब्र देखिन्छ । सिंगो पार्टी संगठनलाई सबैले हाम्रो भन्ने अवस्था छैन । तेरो मान्छे, मेरो मान्छे भन्दै रुमलिएको गुटगत राजनीति भित्रको चश्मा यतिसम्म प्रदूषित बनिसकेको छ की, कुनै पनि प्रकारको निर्णयलाई पचाउन सक्ने अवस्था कहीं कतै छैन । जतिखेर पनि अंक गणितीय खेलमा मात्र टिकेको नेकपाको भविष्य कतिबेला के हुने हो भन्ने अवस्थामा छ ।

सिद्धान्त र विचार भन्दा पनि व्यक्तिगत कुण्ठा र प्रवृत्तिहरुको प्रवेशसंगै अकर्मण्य बन्दै गएको सरकार अनि पार्टी पंक्ति देख्दा, यो अवस्था रही रहनु भन्दा छिटृै नै एक प्रकारले निकास दिनेतर्फ सबै प्रवृत्त हुनुपर्ने धेरैको बुझाई बन्दै गएको छ । नेकपाका नेताहरुले इतिहासबाट बुझुनु पर्ने एउटा दृष्टान्त के पनि हो भने, समकक्षी नेताहरुबीचको सहकार्य सम्भव हुँदो रहेनछ ।

पूर्व प्रधानमन्त्रीहरु वर्तमान प्रधानमन्त्रीप्रति सहिष्णु हुँदा रहेनछन । यो कुरा नेपाली कांग्रेसमा स्वर्गीय कृष्णप्रसाद भटृराई र स्वर्गीय गिरिजा प्रसाद कोइरालाबीच पनि लागू भयो । द्वन्द्वकै कारण कृष्णप्रसाद भटृराई पार्टीबाट अलग्गिन बाध्य भए । त्यसपछि गिरजाप्रसाद कोइराला र शेरबहादुर देउवाबीच त्यही अवस्था सृजना भयो । इतिहासदेखि एक ढिक्का रहेको पार्टी फुट्न पुग्यो । त्यसपछि सुशिल कोइराला र शेरबहादुर देउवाबीच पनि राम्रो सम्बन्ध देखिएन । तर घटनाक्रमले वर्तमानमा नेपाली कांग्रेस भित्र एक जना मात्र पूर्व प्रधानमन्त्रीको रुपमा रहेकै कारण नेतृत्व तहमा त्यति ठूलो हंगामा देखिएको छैन ।

तर नेकपा भित्र नौ नौ महिनाको सत्ता साझेदारीले जन्माएका पूर्वप्रधानमन्त्रीहरु दीर्घकालसम्म पार्टीको समस्याको रुपमा रहने लगभग निश्चित छ । पार्टीले उपयुक्त निर्णय गरी पूर्व प्रधानमन्त्रीलाई देशको सक्रिय राजनीतिबाट पर राख्दै मानार्थ राजनीतिज्ञको रुपमा ग्रहण गर्ने वातावरण नबनेसम्म पार्टी र सरकार अकर्मण्यको सिकार बन्ने लगभग पक्का नै छ ।

त्यसैले पनि समस्याको जड पत्ता लगाउनेतर्फ पार्टी पंक्ति अघि बढ्नु पर्छ, बेमेलको झुण्डमा परिणत हुँदै गएको पार्टीलाई निकास दिनेतर्फ पार्टीले सोच्नु पर्छ । जतिसुकै ठूलो देखिए पनि सुन्निएको रहेछ भने त्यो शरीर बोझ बाहेक केही पनि हुँदैन, सम्बन्धित पक्षले बोध गर्न जरुरी छ ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);