कमजोर राजनीति भित्र चलखेल गर्ने भारतीय चालबाजी ।। (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कमजोर राजनीति भित्र चलखेल गर्ने भारतीय चालबाजी ।। (भिडियोसहित)


नेपालको कमजोर राजनीति भित्र भारतीय चलखेल र चालबाजी बढेको छ । तर भारतीय चालबाजीलाई नेपाली नेतृत्वले बुझ्न सकेको देखिंदैन । भारतीय एक प्रतिनिधि आउँदा भारतीय चालबाजीलाई बुझ्नु भन्दै आफै भित्र सशंकित भएर आफैं कमजोर हुने प्रवृत्ति नेपाली नेतृत्वमा देखिन्छ । यो अवस्था अझ बढी सत्तारुढ दल नेकपा भित्र देखिन्छ । भारतले छदम भेषमा आफ्ना दुतहरु पठाइ प्रधानमन्त्रीलाई विवादमा पार्न खोज्नु र त्यसलाई बुझेर आपूm बलियो हुने रणनीति बनाउन नसक्नुमा भारतलाई दोष दिनु सान्दर्भिक देखिंदैन । यसलाई सार्वभौमिकतासँग जोड्नुको औचित्य पनि छैन ।

नेपालको राजनीति इतिहासकै कमजोर मोडमा पुगेको आभाष मिल्न थालेको छ । राजनीति कमजोर भएको हो या जनताको मनोबल कमजोर भएको हो, यतातर्फ पनि केही सोच बनाउनु सान्दर्भिक नै रहला । राजनीति कमजोर भएसँगै नेतृत्वबाट हुने हरेक कामहरु जनताको नजरमा विवादास्पद देखिने अनि जनता सर्वाधिक असुरक्षित महसुस गर्दै सानोभन्दा सानो विषयहरुमा पनि आवश्यकताभन्दा बढी सशंकित हुने अवस्थाले देशको निर्णय प्रक्रियामा गम्भीर संकट उत्पन्न हुँदै गएको देखिएको छ । सामान्य घटनाहरुले पनि ठूलो महत्व पाउन थाल्नु, अनि वास्तविकता भन्दा बढी अतिरन्जित समाचारहरुले प्रश्रय पाउनु, सबैतिर निरासाका स्वरहरु मात्र देखिनु र राजनीतिक नेतृत्व संधैभरि रक्षात्मक अवस्थामा रहनु इत्यादि कुराहरुले राज्यलाई कमजोर बनाउँदै गएको कुराको प्रमाणित गर्दछ ।

भारतीय एक कर्मचारीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुत बनाएर नेपाल पठाए, भारतीय दुतावासले नेपालको परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्यो, परराष्ट्र मन्न्त्रालयले भारतीय कुटनीतिक विमानको अवतरणको लागि अनुमति दियो, मोदीका प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग भेट गरे, दुईपक्षीय कुराकानी भयो, यसको यथार्थ विवरण राज्यले सार्वजनिक पनि गर्यो । यस प्रसंगमा यत्रो होहल्ला गर्नुपर्ने विषय थियो कि थिएन ? यो नेपालको सार्वभौमिकतासँग नै जोडेर बोल्नु पर्ने विषय हो कि होइन ? नेपालको सार्वभौमिकता नेपाली जनताको हातमा छ भन्ने कुरा सबैलाई थाहा होला कि नहोला ? जनताको हातमा रहेको सार्वभौमिकता कुनै एक या दुई नेताको कारण संकटमा पर्यो भनेर कराउनु वास्तविकता बुझ्न नसक्नु बाहेक अरु केही होइन, राजनीतिक कुण्ठा बाहेक अरु केही होइन ।

भारतीय प्रतिनिधिमण्डलको यो भ्रमण पश्चात भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेको नेपाल भ्रमण हुँदैछ । यस विषयलाई लिएर पनि ठूलै हंगामा हुने निश्चित नै छ । एउटा बिडम्बना पनि हो कि जुन देशसँग सीमा विवाद छ, त्यो देशको सेना प्रमुखले हाम्रो राष्ट्रपतिबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्राप्त गर्दछ । विगतदेखि नै चलाइएका यस्तै बिडम्बनापूर्ण सम्बन्धहरुकै कारण नेपाल पछि परेको यथार्थता वास्तविकता हो ।

तथापी सबै विषय एकै पटक उठ्नु र उठाउनु समस्या निराकरणको हिसाबले युक्तिसँगत नहोला । त्यसो त हरेक प्रसंगमा भारतीय छदम चालबाजी अनि कुटिल राजनीति घुसेको नै हुन्छ । छदम भेषमा जासुसलाई नेपाल पठायो, त्यसको दुई दिन पनि नपुग्दै एकतर्फी रुपमा नेपालतर्फका नाकाहरु खोलि दियो, प्रतिनिधिमण्डल भारत फिर्ता भएसँगै संचार माध्यमहरुबाट नेपाल र नेपालका प्रधानमन्त्रीलाई विवादास्पद बनाउने गरी अनेक प्रकारका समाचारहरु सम्प्रेषण गरायो, यी सबै विषयहरु नेपाललाई कमजोर बनाउनकै निमित्त भारतले खेलेको चालबाजी थियो । यसलाई नेपालले कहिलेसम्म बुझ्ने होला ? अझ त्यसमाथि पनि त्यही विषयलाई लिएर नेकपा भित्र देखिंदै गएको प्रचारवाजी प्रोपागाण्डाहरुले त अझै बढी भारतीयहरुलाई मनोरन्जन दिइरहेको छ ।

अब यसपछि प्रधानमन्त्रीलाई विवादास्पद बनाउनको निमित्त भारतले खेल्ने चालबाजी अरु देख्न लायकको हुने राजनीतिज्ञहरु बताउँछन् । नेपालीहरुको भावना राष्ट्रवादी छ । राष्ट्रवादी दृष्टिकोण कै कारण वर्तमान प्रधानमन्त्रीलाई सत्ता सम्हाल्ने अवसर प्राप्त भएको हो । अब यो राष्ट्रवादी श्रेय कम गर्नको निमित्त भारतीय चालबाजी अरु मुखरित हुने स्थिति छ । हरेक हथकण्डा प्रयोग गर्दै नेपाली नेतृत्वलाई भारतवादी भएको देखाउने भारतीय चालबाजीको शिकार नेपाली नेतृत्व हुने वास्तविकता पनि अब देखिदै जाने क्रममा छन् ।

जसले जुन प्रकारले अर्थ लगाए पनि प्रधानमन्त्री केपी शर्मा ओलीकै कारणले तिलमिलाएको भारतको नजरमा प्रधानमन्त्री ओली नज्दिक हुनसक्ने सम्भावना छैन । राजनीतिको यो कालखण्डामा भारतले प्रधानमन्त्री ओलीलाई विश्वास गर्ने अवस्था पनि छैन । ओलीको सत्तालाई रुचाउने अवस्था पनि छैन । भारतले दुरीमा राख्दा प्रधानमन्त्रीको छवी जनतामा अझ राम्रो हुनेतर्फ भारत सचेत छ । त्यसैले जसरी पनि आफ्नो फन्दामा पार्दै भारतवादी रुपमा चित्रण गर्नेतर्फ कुनेै कसर भारतले बाँकी राख्ने छैन ।

यो सिंगो परिवेशको समीक्षा गर्दै जनमानसले एउटा धारणा बनाउन जरुरत छ । नेतृत्वलाई भिडाएर तमासा बनाउँदै नेपालको राजनीतिलाई कमजोर बनाउनेतर्फ भारतीय चालबाजी पनि बुझ्न जरुरी छ । भारतको विषयलाई लिएर पैदा हुने नेपाली तरंग भारतको लागि संधै सुखद हुने गर्छ । अहिलेको तरंगबाट पनि भारतले राम्रैसँग मजा लिइरहेको छ । भारतीय विषयलाई संचार क्षेत्रले पनि वेवास्ता गर्न सक्नुपर्छ । कुनै पनि घटनालाई सामान्य रुपमा केही पनि नभए जस्तो गर्दै पचाउन सक्ने क्षमता नेपालीहरुमा विकास हुनुपर्छ ।

नेपालको सार्वभौमिकता त्यति कमजोर छैन । एक जनाको हातमा सार्वभौमसत्ता रहँदा त कसैले हल्लाउन सकेको थिएन । अहिले त तीन करोड जनताको हातमा सार्वभौमिकता छ । शंका गर्नु पर्दैन । एक दुई जना नेता बिग्रिए पनि देशको सार्वभौमिकताको रक्षा गर्न नेपाली जनता सक्षम छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);