नेकपा राजनीति, छाँया प्रधानमन्त्री बन्ने केपी ओलीको स्वभाव छैन (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८०, बुधवार

नेकपा राजनीति, छाँया प्रधानमन्त्री बन्ने केपी ओलीको स्वभाव छैन (भिडियोसहित)


सत्तारुढ दल नेकपा भित्र व्यक्तिगत लाभहानी र मान–प्रतिष्ठाको लडाईले नेतृत्वगण विभाजित देखिन्छ । विकासको मुद्दा र नीतिगत छलफलमा भन्दा उत्कण्ठा साँध्न हुने छलफल र विवादले नेकपामा निरन्तरता पाइनै रहेको छ । यसले सरकारलाई अलमलाएको मात्र छैन, नेकपालाई पनि कमजोर बनाउँदै लगेको छ । प्रधानमन्त्रीलाई साथ दिइ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दामा महत्वपूर्ण निर्णय गर्दै जानु पर्ने बेलामा प्रधानमन्त्रीसँग निरर्थक विवाद गरेर नेतृत्वले समय खेर फालिरहेको छ ।

राजनीतिक सन्तुलनको नाममा शुरु भएको नेकपा भित्रको शक्ति असन्तुलन अहिलेसम्म सन्तुलनको आशा गर्न सकिने अवस्थामा पुगेको छैन । विवाद उठाउने, उत्कर्षमा पुग्ने, मच्चिने, थच्चिने अनि हच्किने अनेक उपक्रमबाट गुज्रिरहेको आन्तरिक राजनीतिको अध्याय अझै कति लम्बिने हो थाहा छैन । जनताले दिएको अवसरलाई अवसरका रुपमा लिंदै देशको उन्नति र प्रगतिका लागि एकाकार हुनुपर्ने नेतृत्व गण व्यक्तिगत लाभहानी, मान–प्रतिष्ठा अनि आफ्नो गुट उपगुटसँग सम्बन्धित हुँदै नीतिगत छलफलभन्दा पनि व्यक्तिगत र आ–आफ्नो उत्कण्ठा साँध्नको निमित्त हुने छलफल र वादविवादले निरन्तरता पाउँदा प्रधानमन्त्रीको अगाडि बाँकी सबै नेतृत्वगण कुहिरोको काग हुँदै गएको आशंका बढेको छ ।

प्रधानमन्त्री इतरका नेतृत्वहरुका अगाडि हरेक कुरामा चटृानी अडान देखाउँदै आफ्नो नीतिबाट टसमस नहुने प्रधानमन्त्रीको स्वभावले सबै नेतृत्वलाई रक्षात्मक बनाएको छ । अनि जनतामा कमसेकम प्रधानमन्त्रीको नेतृत्वको स्पष्ट अडान स्थापित गरेको छ । त्यसो त नेकपामा उठेको सत्ता राजनीति जनताको एजेण्डा थिएन । उसको मान्छेले पायो–मेरो मान्छेले पाएन, आफ्नो गुटलाई अगाडि बढायो–मेरो गुटलाई अघि बढाएन, एउटा अध्यक्षले अर्काे अध्यक्षलाई पेलेको जस्ता निरर्थक गैर राजनीतिक सवालहरुमा केन्द्रित राजनीतिक नेतृत्व एजेण्डा नै कमजोर भएसँगै स्वर पनि मलिन हुँदै गएको देखिन्छ ।

मूलतः जसरी पनि प्रधानमन्त्रीलाई दुबै पदबाट विस्थापन गर्ने उद्देश्य राखी बढेको राजनीतिक उत्कर्ष त्यो कार्यको असम्भवतासँगै निरर्थक बनेको छ । पछिल्लो समय उठेको मन्त्रिमण्डल पुनर्गठन लगायतका एजेण्डाहरु पनि विस्तारै किनारा लाग्दै गइरहेको स्वयं नेताहरु नै बताउन थालेका छन । कोभिडको पैmंलदो संक्रमण, अनि निकट भविष्यमै नेपालीको घर आँगनमा प्रवेश गर्दै गरेको चाडपर्वको कारण पनि छिटृै कुनै निर्णय हुन नसक्ने प्रायः निश्चित देखिन्छ ।

नेकपाको नेतृत्वले प्राप्त गरेको यो अवसरलाई राजनीतिका दिग्गज नेताहरुले किन पहिचान गर्न सकिरहेका छैनन् ? प्रधानमन्त्री ओली यो कार्यकालको पूरा समय दुबै पदमा रहने निर्णय भइसक्दा पनि दुई वर्ष निर्विवाद काम गर्न किन नदिएको होला ? एक जना राजदूत नियुक्ति गर्दा समेत पार्टी भित्र असन्तोष बढ्ने खालको सोच किन भित्रिएको होला ? सबैले बुझ्नु पर्ने कुरा के हो भने, प्रधानमन्त्री ओलीको नेचर छाँया प्रधानमन्त्री बन्ने खालको छैन । यो प्रकारको अभ्यासको कल्पना गर्नु सो पार्टीका वरिष्ठ नेताहरुको निमित्त कोरा कल्पना मात्र हुन जान्छ ।

बरु प्रधानमन्त्रीसँगै होमा हो मिलाएर यो समय देश र जनताको निमित्त राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा पार्टी पंक्तिले निर्णय गर्दै प्रधानमन्त्रीलाई बाध्यात्मक अवस्था सृजना गर्ने हो भने आगामी कार्यकाल पनि नेकपाका लागि सुगम हुन जानेमा कसैको सन्देह छैन । प्रधानमन्त्रीसँगको विवाद सबैको लागि महँगो बन्दै जाँदा पनि असफल प्रयत्नको अभ्यासले समय बर्बादी बाहेक केही देखिंदैन ।

समयको महत्व बुझ्न नसक्ने पार्टी तथा नेतालाई समयले नै किनारा लगाइ दिन्छ । जनताले सबै नेताहरुको एक एक क्षणको हिसाब राखिरहेका छन् । सरकार असफल हुँदा सत्ता मात्र असफल हुँदैन । सिंगो पार्टी नै असफल हुन्छ । प्रतिपक्षीरहित जस्ता वातावरण सधैं हुँदैन । जनताको यत्रो ठूलो बहुमत पनि संधै पाईदैन । सानो मन, सानो चिन्तन, अनि सानो बुझाइले राजनीतिक यात्रा पनि छोटो बनाइ दिन सक्छ । राजनीति चलायमान यात्रा पनि हो । समयलाई बुझ्न अनि समयको गतिशीलतालाई पक्रन नसक्ने नेतृत्वको यात्रा लामो हुन सक्दैन ।

जनताको जनजीवनसँग सम्बन्धित काम कुराहरुमा यथाशिघ्र ध्यानाकर्षण होस । हरेक प्रकारले जनता पीडित बन्दैछन । मलमपटिृ लगाउने योजना र कार्यक्रम सार्वजनिक होस । नेतृत्वको निरर्थक असमझदारीबाट गुज्रिएको पार्टी राजनीतिलाई विराम दिंदै कर्तव्यपथमा एकाकार हुनु नै समयको माग हो । आजको आवश्यकता हो ।

एक कदम पछि हट्दैमा नेतृत्वको वजन घट्दैन । बरु महानता देखिन्छ । दुई कदम अगाडि र एक कदम पछाडिको राजनीतिक प्रशिक्षण दिने प्रशिक्षक राजनीतिज्ञहरुले यो नीतिलाई पनि व्यवहारमा उतार्न सके देशले राजनीतिक स्थिरता प्राप्त गर्न सक्थ्यो कि ?

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);