नेकपा विवादमा दुई पक्षबीच म्याच फिक्सिङ, एउटा पक्ष विद्रोहको तयारीमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेकपा विवादमा दुई पक्षबीच म्याच फिक्सिङ, एउटा पक्ष विद्रोहको तयारीमा

काठमाडौं, २३ भदौ । भारतको सहयोगमा पार्टीकै नेताहरु मिलेर सरकार ढलाउन लागेको भनी प्रधानमन्त्री केपी शर्मा ओलीबाट आएको सनसनीपूर्ण अभिव्यक्तिपछि भांडिएको सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक अन्नत भदौ २६ गते डाक्ने सहमति भएको छ । असार १० गते सुरु भइ चार दिन चलेर भांडिएको बैठक झण्डै अढाइ महिनापछि बस्न लागेको हो ।

बैठकको मिति तय हुनु सकारात्मक भएपनि, दिन अझै बाँकी भएकोले बैठकको अन्यौलता भने कायमै छ । तथापी, बैठक बसेमा नेकपा भित्र शक्ति र सत्ता प्राप्तिको लागि बढेको किचलोको झिनो रुपमै भए पनि निकास निक्लिन्छ भन्नेमा भने पार्टी पंक्तीमा केही आशा पलाएको छ । यस अघि पनि नेकपाको धेरै बैठकहरु, बैठक सुरु हुनु भन्दा थोरै समय अघि मात्रै स्थगित हुने गरेकोले २६ गतेको बैठकलाई लिएर पनि आशंकाले हेर्न नेकपाको राजनीतिलाई हेर्दै र बुझ्दै आएकाहरु बाध्य छन् ।

एकलौटी शासन सत्ता चलाउने अवसर पाएको र प्रतिपक्ष निकै कमजोर अवस्थामा रहेकोले नेकपाको सरकार बिना बाधा अघि बढ्दै देशको लागि एकसेएक क्रान्तिकारी विकासे योजनाहरु ल्याई अघि बढ्न सक्थ्यो । तर शक्ति, सत्ताको लोभमा पार्टी भित्रैबाट सरकारलाई अंकुश लगाउँदै पाए पदै हुत्याउने गरी चलखेल बढेपछि नेकपा स्थायी कमिटी बैठक लामो समय अवरुद्ध हुन पुग्यो । शक्ति हुत्याउन भइरहेको चलखेललाई राम्रैसँग बुझ्नु भएका प्रधानमन्त्री ओलीले त्यसकै रिसमा एकतर्फी लामो समय स्थायी कमिटी बैठकलाई पेण्डिङमा राखिदिनु भयो ।

झण्डै अढाइ महिनाको यो अवधिमा अनेक कसरतपछि बैठक बस्ने टुंगोसम्म पार्टी नेतृत्व पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल उर्फ प्रचण्ड र महासचिव विष्णु पौडल बसेर बैठक मिति र एजेण्डा तय भएको छ । सहमतिमा तय भएको भनिएको २६ गतेको बैठकमा सुझाव कार्यदलले दिएको प्रतिवेदनमाथि छलफल हुने र त्यसलाई परिमार्जनसहित पारित गरिएको प्रतिवेदनलाई केन्द्रीय कमिटीको बैठकमा लैजाने सहमति भएको बुझिएको छ ।

नेकपा भित्रको शक्ति र सत्ता संघर्षमा त्रिपक्षीय भीडन्त देखिन्छ । तर तय भएको बैठकको एजेण्डालाई हेर्दा दुई पक्षीय म्याच फिक्सिङ भए जस्तोे देखिन्छ । यसबाट एउटा पक्ष अझै विद्रोहको लागि शक्ति सञ्चय गरिरहेको बुझ्न गाह्रो देखिंदैन । स्थायी कमिटी बैठक भांडिएपछि केही समय दुई अध्यक्षबीच पानी बाराबारको जस्तो अवस्था भएकोमा, यो अढाइ महिनाको अवधिमा प्रधानमन्त्री र अध्यक्ष प्रचण्डबीच पटक पटक बालुवाटारमा छलफल भयो । विवाद समाधानको लागि सुझाव दिन भनी महासचिवको संयोजकत्वमा ६ सदस्यीय सुझाव कार्यदल नै गठन भयो । त्यही कार्यदलले दिएको सुझावको आधारमा दुई अध्यक्षबीच पुनर्मिलन भइ त्यसकै जगमा स्थायी कमिटी बैठक बस्न लागेको छ ।

कार्यदलले दिएको सुझावको आधारमा प्रतिनिधि सभाको यो कार्यकालभर प्रधानमन्त्रीमा ओलीलाई नै निरन्तरता दिने र पार्टीको नेतृत्व आगामी महाधिवेशनले तय गर्ने भन्नेमा भित्री सहमति भइसकेको छ । महाधिवेशनको तिथी मिति तोक्ने काम स्थायी कमिटीको बैठकपछि बस्ने केन्द्रीय कमिटी बैठकले गर्नेछ । तर एक व्यक्ति एक पदको जिम्मेवारी हुनुपर्छ भन्दै शक्तिको लागि तेश्रो धार बनाउँदै आउनु भएका वरिष्ठ नेता माधव नेपाल पक्षधर ओली–प्रचण्डबीच भएको म्याच फिक्सिङको विपक्षमा देखिन्छ ।

होस, नेकपाको अढाइ महिनादेखि भांडिएको बैठक बस्दैछ । यो बैठकले थाँती रहेका ७ वटा विभिन्न राष्ट्रिय मुद्दाहरुमा गहन छलफल गरी जनताको लागि केही सकारात्मक सन्देश दिन्छ भन्नेमा नेपाली आशावादी छन् । राष्ट्र र राष्ट्रियताको खोल ओडेर फेरी शक्ति र सत्ताको लोभमा मुलुकमा राजनीतिक अस्थिरता आउने गरी जनताको आशलाई निराशामा बदल्ने कोशिस नेतृत्वबाट नहोस । कोरोनाको यो महामारीमा नेतृत्वको चेत खुलोस ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);