भारतीय खुफिया प्रमुखको गोप्य भ्रमण । नेपाल र नेपालीको लागि सुखद होइन ।। (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

भारतीय खुफिया प्रमुखको गोप्य भ्रमण । नेपाल र नेपालीको लागि सुखद होइन ।। (भिडियोसहित)


सत्तारुढ दल नेकपा भित्र आन्तरिक किचलो बढिरहेको बेला भारतीय जासुसी संस्था रअ का प्रमुख नेपाल आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । काठमाडौंमा आई विभिन्न भेटघाटमा रहेका उनको भ्रमणको उद्देश्यबारे सरकारले अहिलेसम्म केही खुलाएको छैन । नेपालमा हैसियत अनुसार समकक्षीसँग गोप्य रुपमा भेटघाट गर्नुलाई स्वभाविक रुपमा लिन सकिन्छ तर राजनीतिक रुपमा भए गरेका भेटघाटलाई भने कदापी राम्रो मान्न सकिन्न । यसतर्फ सरकार र सम्बन्धित राजनीतिक दलका नेताहरु गम्भीर हुन जरुरी देखिन्छ ।

नेपाल भारत सम्बन्ध यतिबेला इतिहासकै कमजोर मोडमा छ । सीमा विवादका साथै कालापानी क्षेत्रको नक्सा प्रकाशनसँगै अरु कमजोर बनेको नेपाल भारत सम्बन्धकै बीच भारतीय जासुसी संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयल गोप्य रुपमा नेपाल भित्रिएका छन् । त्यसो त उनी ठूलो चर्चा गर्न लायक व्यक्तित्वका रुपमा गनिंदैनन् पनि । तथापी नेपालको विशेष अवस्थाले गर्दा केही आशंकाहरु थपिन गएका छन् ।

केही समयदेखि शान्त जस्तो देखिएको भारतीय कुटनीति विस्तारै सतही बन्दै जाने क्रमको सुरुवातको रुपमा यसलाई हेर्न सकिन्छ । निकट भविष्यमै हुने भारतीय सेना प्रमुखको नेपाल भ्रमणको पूर्व सन्ध्यामा भएको यो गोप्य जासुसी भ्रमण अर्थपूर्ण नहोला भनेर सोच्नु भारतीय राजनीतिलाई नबुझ्नु हुन सक्छ । नेपालमा सत्तारुढ दल भित्र आन्तरिक किचलो बढी नै रहेको छ । भारतीय आशिर्वादबाट आपूmलाई स्थापित गराउन खोज्ने पात्र र प्रवृत्ति यतिबेला उपर्युक्त अवसरको खोजीमा छ ।

त्यसो त नेपालले नक्सा प्रकाशन गरेको केही समय पनि नहुँदै भारतीय चलखेल तिव्र भएको थियो । सत्तारुढ दल भित्र आकाशै खस्ला जस्तो गरी उल्झाइएको निरर्थक विवाद प्रधानमन्त्री केपी शर्मा ओलीको चटृानी अडानसँगै केही समयको लागि ओझेलमा परेको थियो । यद्यपी भरतीय चलखेलको सूचना प्रधानमन्त्रीबाटै बाहिर आएको थियो । नेपालको शान्ति र स्थिरताको निमित्त संधैभरि बाधक बनेको भारतीय नीति फेरि पनि नेपालको अस्थिरताको निमित्त क्रियाशील हुने क्रम सुरु भएको छ ।

एक जासुसको जासुसी भ्रमणको पहुँच कुन तहसम्म छ ? त्यसको विवरण त केही दिनमा आउला नै । तथापी यस्ता विषयहरुमा सरकार संवेदनशील हुन सकेन भने विदेशी जासुसले घुंडा टेकाउन धेरै दिन पर्खिनु पर्दैन । विगतमा जस्तै एक सामान्य कर्मचारीले प्रधानमन्त्रीदेखि विपक्षी दलका नेतासम्म अनि पूर्व प्रधानमन्त्रीदेखि इच्छा लागेका सम्पूर्ण पदाधिकारीसँग भेट गर्ने परम्परागत शैलीमा यथाशीघ्र विराम लाग्नु जरुरत छ ।

छिमेकी राष्ट्रका पदाधिकारीहरु नेपाल आउँदा कसैले पनि भेटन हुँदैन भन्ने होइन । तर उपर्युक्त निकायभन्दा बाहिर भेट्ने तौर तरिका ठिक होइन । भेट गर्दा पनि हौसियत अनुसारको समकक्षीसँग भेट गर्ने अन्तर्राष्ट्रिय प्रचलन हुन्छ । त्यो पनि गोप्य रुपमा निजी भ्रमणको संज्ञा दिएर आउने कुनै पनि व्यक्तिले राज्यका महत्वपूर्ण ओहोेदामा रहेका व्यक्तित्वहरुसँग भेटघाट हुनु त हुँदैहुँदैन ।

यस्तै यस्तै अडान नभएकै कारण देशको मानमर्दन भएको विगतको इतिहास कसैले पनि बिर्सनु हुँदैन । सोच्नु प¥यो, जासुससँग भेट्ने जासुसले नै हो । सभ्य राजनीतिज्ञको वार्ता केवल राजनीज्ञसँग हुनुपर्छ । भारतको नेपालसँग अनेकौं प्रकारको स्वार्थहरु क्रियाशील छन् । देख्दा भारतसँग नेपालको बढी स्वार्थ देखिने तर वास्तविकता त्यसको ठिक उल्टो हुने वास्तविकता हामी सबै नेपालीले बुझ्नु जरुरत छ । नेपालबाट भारतले जति लाभ लिएको छ, त्यसको केही अंश पनि नेपालले लाभ लिन सकेको छैन ।

भरतसँग पैसा तिरेर भारतीय सामान किन्ने बाहेक नेपालले थप केही उपलव्धी लिन सकेको छैन । दुई देशको सम्बन्ध २१ औं शताव्दीमा पनि पुरातन प्रकारकै अनि हेपिने र चेपिने स्तरको रही रहनुलाई वास्तवमा बिडम्बना नै मान्नुपर्छ । नेपालको भूगोलको विशिष्ट अवस्थालाई संधैभरी आफ्नो लाभको निमित्त प्रयोग गर्न किंचित पछि नपर्ने भारतीय सोचलाई बुझेर पनि बुझ पचाउने नेतृत्व नै नेपालीको लागि बिडम्बना मान्न सकिन्छ ।

कालापानी लगायतका सीमा विवाद तिब्र भएको बेला भारतीय सोच सही थियो भने यतिबेला राजनीतिक भ्रमण हुनुपर्ने थियो, राजनीतिक तहमा छलफल हुनुपर्ने थियो । समस्याको निराकरणको निमित्त चासो दिनु पर्ने थियो । तर अपारदर्शी भरतीय सोच अनुसार छदम भेषमा छदम राजनीतिक क्रियाशीलताबाट अदृष्य शक्ति केन्द्रको रुपमा क्रियाशील हुँदै सरकार बनाउने र भत्काउनेसम्मका क्रियाकलापहरु हुन सक्नेप्रति सम्बन्धित सबै पक्ष सचेत र चनाखो हुन सक्नुपर्छ ।

नेपालको सरकार नेपाली जनताले बनाएको हो । राम्रो नराम्रो जे भए पनि भत्काउने बनाउने अधिकार केवल नेपाली जनताको हातमा हुनुपर्छ । विदेशी शक्ति केन्द्रहरुलाई मुखभरिको जवाफ दिंदै स्थिरताको सन्देश सहितको राजनीति आजको आवश्यकता हो । कुनै पनि विदेशीको सामू कुनै पनि तह र तप्काका नेताहरुले शीर झुकाएको नेपाली जनताले हेर्न नपरोस । दृढ अठोटका साथ अघि बढ्ने सोच र शक्ति सबैलाई प्राप्त हुन सकोस । शक्ति स्वरुपा नवदुर्गा भवानीले सबैलाई राष्ट्र र राष्ट्रियताको लागि डटेर बोल्न सक्ने शक्ति प्रदान गरुन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);