काठमाडाैं,२२ भदाै। नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४७ हजार २ सय ३६ पुगेको छ ।सोमबार ९ सय ७९ जना नयाँ संक्रमित थपिएसंगै संक्रमितको संख्या ४७ हजार २ सय ३६ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशका बिभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा विभिन्न जिल्लाका गरी ९ सय ७९ जनामा संक्रमण देखिएको जानकारी दिनुभयो। संक्रमितमध्ये उपत्यकाका ३ सय २६ जना रहेका छन् ।जसमा काठमाडौंका २ सय ९३, ललितपुरका २० र भक्तपुरका १३ जना रहेका छन् ।
यसैगरी नेपालमा कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय पुगेको छ । अहीलेसम्म पीसीआर विधिबाट ७ लाख ७७ हजार ५ सय ६३ जनाको नमूना परीक्षण भएको छ ।
हाल देशैभरी गरेर ४ हजार ४सय ३९ जना क्वारेन्टिनमा रहेका छन् । त्यसैगरी आइसोलेशनमा १६ हजार २ सय ५९ जना रहेका छन्। हालसम्म कूल संक्रमितमध्ये ३० हजार ६ सय ७७ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।