सर्जिकल व्यवसायीमाथि भएको कुटपिटको विरोध | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

सर्जिकल व्यवसायीमाथि भएको कुटपिटको विरोध

काठमाडौं, १६ भदौ । सर्जिकल व्यवसायीमाथि कुटपिट भएपछि काठमाडौंको त्रिपुरेस्वर क्षेत्रका व्यवसायीहरु आन्दोलित भएका छन् । सोमबार दिउसो २ बजेपछि स्थानीयहरुले हिमालयन सर्जिकलका युवराज बेल्बासेलाई कुटपिट गरेको भन्दै व्यवसायीहरुले विरोध जनाएका हुन् ।

सर्जिकल व्यवसायलाई राज्यले अत्यावस्यक सेवा अन्तर्गत चौविसै घण्टा सञ्चालन गर्न दिएको छ । तर व्यवसायीहरुको संगठन केमिकल एण्ड सर्जिकल सप्लायर्स एसोसिएसन नेपाल (केमसान)ले वडा कार्यालय र स्थानीय ब्वाइज युनियनलाई समेत बोधार्थ गरि विहान ११ बजे देखि दिउसो २ बजे सम्म मात्रै पसल सञ्चालन गर्न पत्र पठाएको व्यवसायीहरुले बताए ।

सोही नियमलाई लिएर स्थानीयले सोमबार दिउसो २ बजे भित्रै पसल बन्द नगरेको भन्दै आफुमाथि कुटपीट गरेको व्यवसायी बेल्बासेले बताउनुभयो । दिउसो २ बजेर केही मिनेट जाँदा पसलमा रहेका ग्राहकलाई सामान दिई पसल बन्द गर्नै लाग्दा केही व्यक्तिको समुहले कुटपिट गरेको उहाँले बताउनुभयो ।

व्यवसायीहरुले कुटपिट गर्ने व्यक्तिलाई पक्राउ गरी तत्काल कारबाही गर्न माग गरेका छन् । कोभिड १९ संक्रमणको जोखिमलाई ध्यान दिएर अहिले सम्म केमसान र स्थानीयले बनाएको नियमलाई मान्दै आएको तर व्यवसायी माथि नै कुटपिट हुन थालेपछि त्यस्तो नियम नमान्ने उनीहरुले बताए ।

सर्जिकल सप्लायर्स एसोसिएसन अफ नेपालका केन्द्रीय प्रवक्ता आशिष प्याकुरेलले कुटपिट गर्ने व्यक्तिमाथि कारबाहीको माग गर्नुभयो । उहाँले व्यवसायी माथि कुटपिट गर्नेहरुले बनाएको नियम गैह्र कानूनी भएको भन्दै राज्यले बन्द गर्न नभन्दा सम्म चौविसै घण्टा पसल सञ्चालन गर्ने बताउनुभयो ।

व्यवसायी भरतमणि सिलवालले राज्य ले नै अत्यावस्यक सेवा अन्तर्गत राखेको क्षेत्रलाई आफुखुसी बन्द गराउने अधिकार स्थानीयहरुसँग नभएको बताउनुभयो । उहाँले केही समय मात्रै पसल सञ्चालन गर्दा भिड बढेकोले संक्रमणको जोखिम समेत बढेको बताउनुभयो । त्यसैले अवदेखि चौविसै घण्टा पसल खोल्ने सिलवालले बताउनुभयो ।

व्यवसायी माथि भएको कुटपिटको विरोध जनाउन एकठाउँमा भेला भएका व्यवसायीलाई प्रहरीले भिडभाड नगर्न आग्रह गरेको छ । प्रहरीले माइकिङ गरी सर्जिकल क्षेत्रलाई राज्यले अत्यावस्यक सेवाको रुपमा राखेकोले निर्वाधरुपमा सञ्चालन गर्न पाउने बताएको छ । त्यस्तै व्यवसायीको सुरक्षाका लागि प्रहरी रहेको भन्दै प्रहरीले निर्वाधरुपमा पसल सञ्चालन गर्न माइकिङ गरेको हो ।

सर्जिकल व्यवसायलाई सरकारले अत्यावस्यक सेवा अन्तर्गत राखेको छ । तर पनि त्रिपुरेस्वर क्षेत्रका व्यवसायीहरुले स्थानीयहरुको आग्रहलाई स्वीकार गर्दै विहान ११ बजे देखि दिउसो २ बजे सम्म पसल सञ्चालन गर्दै आएका थिए ।

जोखिम मोलेर काम गरिरहेका व्यवसायीमाथि कुटपिट हुनुले आफुहरु असुरक्षित भएको महसुस भएको भन्दै घटनाको जिम्मेवारी केमसान, वडा कार्यालय र स्थानीय ब्वाइज युनियनले लिनुपर्ने व्यवसायीहरुले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);