नेपालको अडान, नरम बनेको भारतको नेपाल नीति | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

नेपालको अडान, नरम बनेको भारतको नेपाल नीति


नेपालको हस्तक्षेपमा रमाउन चाहने भारतको नेपाल नीति क्रमश फेरिदै आएको छ । हर क्षेत्रमा हस्तक्षेप गरी नेपालको सरकार र राजनीतिलाई अस्थिर बनाउन खोज्ने भारतको मूल नीति नै हो । २०७२ साल साल यता क्रमश कमजोर हुँदै आएको भारतीय हस्तक्षेप २०७४ सालको आमनिर्वाचन यता त झनै कमजोर देखिएको छ । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले दुई देशबीच समानताको आधारमा सम्बन्ध हुनुपर्छ भनेर अडान राखेपछि त भारत झनै रन्थनिएको छ । अनेक दाउपेच गर्दा पनि भारतको षडयन्त्र असफल भएपछि अहिले भारत केही नरम जस्तो देखिएको छ ।

लामो समयसम्मको सम्वादहिनतालाई चिर्दै नेपाल र भारतका प्रधानमन्त्रीबीच कुराकानी भएको छ । नेपालमा विकसित राष्ट्रवादी गतिविधिसँगै वर्तमान सरकारसँग वार्ता नै गर्न नपरोस भनेर मुख लुकाएको भारत एकाएक टेलिफोनमै भएपनि जोडिनुलाई नेपालतर्फको स्पष्ट राजनीतिक अडानले काम गरेको परराष्ट्रविदहरु बताउँछन् । सामान्य सन्दर्भमा समेत नाकाबन्दीको धम्की दिंदै आफूले चाहेको निर्णय थोपर्न उद्दत रहेको भारतीय सत्ता यसपटक केही मात्रामा भएपनि गलेको देखियो ।

यस घटनाक्रमसंगै नेपाली राजनीतिज्ञहरुले बुझ्नु पर्ने धेरै कुराहरु अगाडि आएका छन् । स्पष्ट अडानले मात्रै छिमेकीसंगको सम्बन्ध सन्तुलित बन्न सक्छ । कुटनीतिको नाममा निरन्तर एकोहोरो रुपमा झुक्ने प्रवृत्तिले कहिल्यै सन्तुलन कायम हुन सक्दैन । भारत नेपालको लागि मात्रै होइन, नेपाल भारतको लागि पनि त्यति नै महत्वपूर्ण छ । सन्तुलनको सिद्धान्त नै वास्तविक कुटनीति हो । रोटीबेटी र धर्म संस्कृति कै आधारमा नेपालले आफ्नो राष्ट्रिय स्वार्थलाई भारतमुखी बनाउनु पर्छ भन्ने छैन ।

छिमेकी फेर्न सकिंदैन भन्ने केही नेपालमा रहेका भारतीय मन भएका राजनीतिक परजीवीहरुको भाषालाई सापट लिने हो भने, भारतले पनि छिमेकी त फेर्न सक्दैन नि । नेपाल पनि त भारतको छिमेकी हो नि । राजनीतिमा भारतकै आशिर्वादबाट जनाधार गुमाउँदै गएका र आफूलाई स्वघोषित विद्धान भनेर नथाक्ने व्यक्तित्वहरुले बुझ्नुपर्ने अवस्था आएको छ कि, नेपाल भारतको सम्बन्ध मात्रै होइन, सबै छिमेकीहरुसंगको नेपालको सम्बन्ध परस्पर हितमा आधारित हुनुपर्छ । भारतीयको चाकडी गरेर सत्तामा जाने पुरानो दिन अब छैन । यदि सत्तामा जाने हो भने जनताको अगाडि खरो उत्रनु पर्छ ।

प्रधानमन्त्रीसंगको कुराकानीको सुरुवातसंगै देशले भर्खरै लिएको राष्ट्रिय नीति अनुसार परिवर्तित नेपाली नक्साबारे यथाशीघ्र आफ्नो भनाई राख्नु पर्छ र सीमाना क्षेत्रमा भइरहेको भारतीय ताण्डव नृत्य यथाशीघ्र रोक्न लगाउनु पर्छ । नेपालको डुवान क्षेत्रको कारण बनेको भारतीय बाँध लगायतका भौतिक संरचना राज्य व्यवस्था समितिको निर्देशन अनुसार भत्काउन पहल गर्नुपर्छ । नेपाल भारतबीच भएको असमान सन्धी सम्झौताको बारेमा नेपालको अडान स्पष्ट झल्किने गरी यथाशीघ्र पत्राचार गर्नुपर्छ । भारतीय सामानहरुलाई विस्थापन गर्ने नीतिलाई तत्काल लागू गर्दै एक देशबाट मात्रै आयात गर्ने पुरानो चलनमा रोक लगाउनुपर्छ । हाम्रो बजार पहिले हाम्रो लागि हो अनि मात्र विदेशीको लागि हो भन्ने दृष्टिकोण अनुसार नीति अगाडि ल्याउनुपर्छ ।

राष्ट्रवादको कुरा गर्न सजिलो छ तर राष्ट्रवादी बन्न सजिलो छैन । नारा दिन सजिलो छ, कार्यान्वयन गर्न सजिलो छैन । नेपालको राजनीतिक पार्टीहरुले नेपाल भारतबीचको सवालहरुमा प्रश्न उठाएर राजनीति सुरु गरेको धेरै वर्ष भयो । तर सत्तामा पुगेपछि सबै कुरा बिर्सने गरेको प्रसंगलाई यो सरकारले क्रमभंग गर्न सफल भएको छ । अब कार्यान्वयनमा पनि केही गर्न सक्यो भने यसले नेपाली जनतालाई एउटा सुखद क्षणको अनुभव गराउने छ ।

नेपाली जनता त्यही सुखद क्षणको प्रतिक्षामा छन् । राजनीतिको आधार बलियो राष्ट्रवाद हुनुपर्छ । अर्काको मुख ताक्ने नेपालीहरुको विरासत कहिल्यै थिएन । सरकार र नेतृत्वमा रहनेले यो कुरालाई कदापी भुल्नु मिल्दैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);