प्रधानमन्त्रीको अयोध्या सन्दर्भ (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

प्रधानमन्त्रीको अयोध्या सन्दर्भ (भिडियोसहित)

sampadakiye

सम्पादकीय

काठमाडौं, ३० असार । भानु जयन्तीको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा व्यक्त विचारले नेपाल र भारत दुबै देश भित्र अनपेक्षित बहसको बिऊ रोपिदिएको छ । नितान्त पृथक र कहिल्यै पनि सन्दर्भ नआएको विषय, एकाएक देशकै शीर्ष नेतृत्वबाट आउँदा वातावरण तरंगित हुनु अनौठो कुरा होइन । त्यसैले पनि दुबै देशका महत्वपूर्ण संचार माधयमहरुको लागि यो विषयले ठूलै स्थान पाइरहेको छ ।

नेपाल भित्र धेरैले अप्रमाणित विषय मानेका छन भने, भारतमा प्रधानमन्त्री ओलीको भारत विरोधी श्रृंखलाको एउटा नयाँ अध्याय हो भनी, व्याख्या गरिएको छ । जसरी व्याख्या गरिए पनि यो विषय भने, निकै सम्वेदनशील छ । भारतमा भन्दा ज्यादा यो विषयलाई नेपालीहरुले नै व्याङग्यात्मक रुप दिएका छन र व्यङग्यात्मक शैलीमै यसलाई धज्जी उडाउने काम भएको छ । तर वास्तविकता के हो भने, प्रधानमन्त्री राजनीतिक व्यक्तित्व समेत भएको कारणले विना प्रमाण, बिना आधार भगवान बुद्धलाई भारतमा जन्मिएको भनेर अन्तर्राष्टिय मञ्चहरुमा आवाज उठाउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई उही प्रकारको समकक्षी ओलीको राजनीतिक जवाफ पनि हुन सक्छ ।

भारतीय प्रधानमन्त्री मोदीले बिना आधार अन्तर्राष्ट्रिय मञ्चहरुमा उठाएको सोही स्तरको आवाजको पक्षमा सिंगो भारत भित्र सकारात्मक टिप्पणी भयो तर प्रधानमन्त्री ओलीले दिएको जवाफप्रति भने, नेपाल भित्रै व्याङग्यात्मक रुपमा हेरियो र सामाजिक सञ्जालहरुमा टिप्पणी गरियो । यसबाट के देख्न र बुझ्न सकिन्छ भने, भारत नेपाल भित्र कतिसम्म व्याप्त छ ।

जहाँसम्म अयोध्याको सवाल छ, अहिलेको अयोध्या रामको जन्मभूमि होइन भनेर त त्यहाँकै धर्म गुरुहरुले पनि भनी रहेका छन् । धार्मिक लेखहरुमा पनि छ्यापछ्याप्ती पाइन्छ । अहिलेको अयोध्या हिन्दू र मुस्लिमहरुको लडाई गर्ने एउटा विवादित भूमिकाको रुपमा समेत रहेको कारणले पनि यो प्राचिन र ऐतिहासिक होइन भन्ने कुरा स्वंयम भारतीय टिप्पणीकारहरुले पनि बताइ रहेकै छन् तर राम जन्मभूमि कहाँ हो ? भन्ने कुराको निक्र्याैल भने अहिलेसम्म तथ्यगत आधारमा प्रमाणित रुपमा कहीं पनि सिद्ध हुन सकेको छैन ।

यस्तो सिद्ध हुनै नसकेको विषयमा प्रधानमन्त्री जस्तो गरिमापूर्ण पदमा आसिन व्यक्तित्वबाट किटानीका साथ स्थान बताइ दिनुलाई वास्तवमै अर्थपूर्ण मान्न सकिन्छ । उहाँसंग कुनै आधार नभएको पक्कै होइन होला । बरु उहाँसँग भएको प्रमाणलाई उहाँको सचिवालयले प्रष्ट पार्न सक्यो भने अझ उपलब्धीमूलक हुनसक्छ । प्रधानमन्त्री ओलीले व्यक्त गरेको विचारहरुलाई हेर्दा, नेपालबारे आफ्नो धरातल, आफ्नो संस्कृति र इतिहासप्रति उहाँलाई राम्रै जानकारी भएको स्पष्ट देखिन्छ ।

बनारसमा पढेर नेपालको सत्ता सम्हाल्ने यस भन्दा अघिका थुप्रै नेतृत्वका अगाडि पहिलो पटक नै भन्नुपर्छ, खासै औपचारिक शिक्षा नभएको भनिए पनि देशको सम्बन्धमा भने प्रधानमन्त्री ओलीलाई राम्रै जानकारी रहेछ । धर्म र संस्कृति विषयको प्रमाण र आधारहरु दिन त्यति सजिलो हुँदैन । स्वयं भानुभक्तले रामायण लेख्दा त्यसको आधार तुलसी रामायण र बाल्मीकी रामायणलाई बनाउनु भयो । तुलसीदासजी र बाल्मीकीजीले आफ्नो रामायणको आधार बेदलाई मान्नु भयो । बेद भगवानको श्वासबाट प्रकट भएको हो भनियो ।

अब आजको पुस्ताले भगवानको श्वासबाट पनि ग्रन्थ निस्कन्छ भन्दै ट्वीट गरे भने, त्यसको जवाफ कस्ले दिने ? आजको विषय पनि यस्तै खालको हो । आद्यात्मिक विषय स्वार्थपूर्ण राजनीतिको घेराबाट जान्न सम्भव नै छैन । एक आध्यात्मिक सभामा तत्कालिन भारतीय विदेशमन्त्री सुष्मा स्वराजले शिव स्तुत कण्ठस्थ वाचन गर्दा, त्यसको प्रशंसा गर्ने थुप्रै बुद्धिजीवहरु, भानुभक्तद्धारा लिखित रामायणको कण्ठस्थ वाचन गर्ने हाम्रो प्रधानमन्त्रीलाई प्रशंसा गर्न सक्दैनन् ।

चुनावको मतगणना आफ्नो पक्षमा होस भन्ने कामना गर्दै, तिर्थाटनमा तपस्वीको भेषमा भारतीय प्रधानमन्त्री मोदीलाई देख्दा वैज्ञानिक देख्ने वुद्धिजीवीहरु, प्रधानमन्त्री ओलीद्धारा व्यक्त आध्यात्मिक विचारलाई भने, अन्धविश्वासको पराकाष्ठा देख्छन । देश भित्र कुनै पनि नेताहरुलाई योग्य नदेख्ने नेपाली मनोविज्ञानले आखिर भन्न खोजेको के हो ? सबैले बुझ्नु पर्ने बेला आएको छ । नेपालमा कुनै पनि नेताहरु योग्य छैनन् भनेर प्रलाप गर्नेहरु, कतै विदेशीको चालबाजीमा गर्न खोजिएको शिकार त होइन ? नेता र नेतृत्व एउटा परिवेशनले जन्माउँछ । कोही योग्य हुँदैमा, बोल्न जान्दैमा, फेसबुक र ट्वीटरमा उफ्रिदैमा अनि टेलिभिजनको पर्दामा मच्चिंदैमा नेतृत्वको फैसला हुने होइन । नेतृत्व कहींबाट आयात हुन पनि सक्दैन । हरेक कुराको विरोध गर्ने मानसिकताबाट नेतृत्वले काम गर्न सक्दै सक्दैन ।

यतिखेर नेपाल र भारतको सम्बन्ध अत्यन्त संवेदनशील मोडमा पुगेको छ । यो बेलामा नेतृत्वले सानातिना गल्ती कमजोरी गरिहाले पनि त्यसलाई ढाकछोप गर्दै, विदेशीको अगाडि एक ढिक्का रहेको सन्देश प्रवाह गर्नुपर्ने बेलामा, त्यसको उल्टो हुनु आफैंमा राम्रो होइन । कुटनीति भन्दाभन्दै थकित नेपालीहरुले अब सिधासिधा जवाफ र प्रत्युत्तर भारतलाई दिनुपर्ने अवस्था छ ।

प्रधानमन्त्री ओली त्यसकै निरन्तरतामा भएको कुरा उहाँको व्यवहार र कार्यशैलीले देखाउंदै आएको छ । तर प्रधानमन्त्रीले पनि के बुझ्नु पर्छ भने, यस्ता अध्यात्मिक बहसमा तरंगित भएर समय खेर फाल्नु भन्दा, नेपाल भारतबीच थांती रहेका थुप्रै विषयलाई निष्कर्षमा पु¥याउनु आजको आवश्यकता हो । तत्काल अर्थतन्त्रमा ध्यान दिनु आजको आवश्यकता हो । कोरोनाका कारण सिल्ड गरिएको सीमालाई निरन्तरता दिनु आजको आवश्यकता हो । नेपालमा उत्पादन हुन सक्ने वस्तु तथा सेवाको आयातमा रोक लगाउनु आजको आवश्यकता हो ।

कुनै पनि प्रसंगलाई उठाउने मात्र होइन, त्यसलाई तार्किक निष्कर्षमा पनि पुर्याउनु पर्छ । ओठे जवाफले होइन, व्यवहारले उत्तर दिनसक्नुपर्छ । विषय उठान गरेर निष्कर्षमा पुग्न सकिएन भने, विस्तारै नेतृत्व आफैं हल्का हुँदै जान्छ । प्रधानमन्त्रीको विचार व्यक्तिगत नहुने भएकोले यसतर्फ प्रधानमन्त्रीको सचिवालय र सम्बन्धित पक्षको विशेष ध्यान जान आवश्यक देखिन्छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);