काठमाडौं, २२ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक पुन स्थगित भएको छ । विवाद समाधानकै लागि भनेर नेकपाको शनिबार बस्ने भनिएको स्थायी कमिटी बैठक आज बस्ने भनिएको थियो तर विवाद समाधान नभएपछि आजको बैठक पनि स्थगित गरिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको र अर्को बैठक असार २४ गते बुधबार बिहान ११ बजे बस्ने जानकारी दिनुभयो । पार्टी भित्र प्रधानमन्त्री ओलीको राजीनामा माग भएसँगै देखिएको अन्तरविरोध कारण बैठक स्थगित हुँदै आएको छ ।
विवाद समाधानका लागि ओली र दाहालबीच छलफल भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छफफलमा नेकपामा बढ्दो अन्तरबिरोधलाई समाधान गर्ने बिषयमा दुइ अध्यक्षबीच कुराकानी भएको हो । तर दुवै अध्यक्षबीच विवादित विषयमा ठोस सहमति भने नभएको जनाइएको छ ।
छलफलमा ओलीका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, पार्टी महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल पनि सहभागी रहनुभएको थियो भने दाहालका तर्फबाट उर्जामन्त्री वर्षमान पुन र जनार्दश शर्मा समेत सहभागी हुनुभएको थियो । आजपनि दुई अध्यक्षबीच छलफल हुने बताइएको छ ।