Our Network

माघ १० २०७८, सोमबार

हङकङमा चीनले बनाएको नयाँ सुरक्षा कानुन लागु भए लगत्तै विरोध प्रदर्शन

एजेन्सी, १७ असार । चीनले बनाएको विवादास्पद नयाँ सुरक्षा कानून लागु भए लगत्तै हङकङमा विरोध प्रदर्शन भएको छ । बुधबारदेखि लागू भएको नयाँ सुरक्षा कानूनले हङकङको स्वतन्त्रता हनन भएको भन्दै स्वतन्त्रता पक्षधरहरुले विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा प्रहरीले दर्जनौ प्रदर्शनकारीलाई पक्राउ गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । विरोध प्रदर्शन विथोल्न प्रहरीले पानीको फोहरा प्रयोग गरेको थियो । चीनले मंगलबार पारित गरेर बुधबारदेखि लागू गरेको नयाँ सुरक्षा कानून उल्लंघन गरेमा हङकङका बासिन्दाले आजीवन जेल सजाय भोग्नु पर्ने छ ।

स्वायत्त क्षेत्र हङकङमा शक्ति र उपस्थिति थप बलियो बनाउने प्रयासमा चीनले ल्याएको यो कानूनले हङकङको स्वतन्त्रता खुम्चिने भन्दै अन्तर्राष्ट्रिय समुदायले समेत गम्भीर चिन्ता व्यक्त गरिरहेका छन् ।

हङकङ बेलायतबाट चीनलाई हस्तान्तरण गरिएको २३ औं वर्षगाँठ बुधबारदेखि लागु भएको कानूनमा विखण्डन, आतंकवाद वा विदेशी शक्तिसँगको सहकार्यका कुनै पनि गतिविधिलाई आपराधिकरण गरी त्यसमा बेइजिङले हस्तक्षेप गर्न पाउने व्यवस्था गरिएको छ । सोही कानूनको आधारमा चीनले हङकङमा आफ्नो सुरक्षा कार्यालय खोल्ने तयारी पनि गरेको छ ।