एजेन्सी, ३ वैशाख । दक्षिण कोरियामा बुधवार संसदीय निर्वाचन अन्तर्गत मतदान भएको छ । कोरोना भाइरसको महामामारी बीच निकै कडा स्वास्थ्य व्यवस्था अपनाएर दक्षिण कोरियामा मतदान भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
मतदाताहरूका लागि मास्क अनिवार्य गरिएको , मतदानका लागि लाइनमा बस्दा कम्तीमा एक मिटरको दूरी कायम गरिएको मतदानअघि मतदाताहरुको ज्वरो नापिएको उनीहरूलाई पहिला पन्जा र पछि मतपत्र दिएपछि मात्र मत हाल्ने व्यवस्था गरिएको थियो ।
दक्षिण कोरियामा चार करोड ४० लाख मतदाता रहेका छन् । यस चुनावमा ३५ पार्टीले उम्मेद्वारी दिएका छन्। तर सत्तामा रहेका मिनजु डेमोक्रेटिक पार्टी र प्रतिपक्ष दल, द कन्जर्भेटिभ युनाइटेड फ्युचर पार्टीबीच कडा प्रतिस्पर्धा हुने बताइएको छ ।
कोरोना भाइरसको मध्यम लक्षण देखाएका बिरामीका लागि देशभर मतदानका लागि आठ वटा क्वारेन्टाइन सुविधाको मतदान केन्द्रहरू स्थापना गरिएको थियो ।
दक्षिण कोरियाको इतिहासमा कहिल्यै निर्वाचन रोकिएको छैन । सन् १९ सय ५२ मा कोरियाली युद्ध हुँदा पनि त्यहाँ राप्ट्रपतिको निर्वाचन भएको थियो ।