टिका खतिवडा
इलाम, ३ कात्तिक । सूर्योदय र सूर्यास्तका लागि अब्बल मानिएको इलामको श्रीअन्तुमा यतिबेला पर्यटककको चहलपहल सुरु भएको छ । असोज महिनादेखि मंसिर अन्तिमसम्म घाम उदाएको र अस्ताएको हेर्नकै लागि दैनिक सर्यौँको संख्यामा पर्यटक पुग्ने गर्दछन् ।
सूर्योदय र सुर्यास्तको दृष्यका लागि देशका सुन्दर गन्तव्यहरुमध्ये एकका रुपमा परिचित इलामको सूर्योदय नगरपालिकाको श्रीअन्तु धेरै पर्यटकहरूको रोजाइमा पर्ने गरेको छ । तराईबाट नजिकै र सडकको सहजताका कारण पनि श्रीअन्तु धेरै पर्यटकहरूको पहिलो रोजाइ बन्ने गरेको हो । पूर्वी नेपालका सयौं पर्यटकीय स्थलमध्ये सूर्योदय नगरपालिकामा रहेको श्रीअन्तुमा बर्षेनी हजारौं पर्यटक आउने गरेका छन् । हुन त इलाममा धेरै पर्यटकीय गन्तव्यहरू छन् ।
हेर्दा निकै मनमोहक अन्तु डाँडामा सुर्योदय र सुर्यास्त अवलोकनको लागि आन्तरिक तथा बाह्य पर्यटकहरूको भिड लाग्ने गरेको छ । आगामी मंसिरमा यहाँ महोत्सवको तयारी समेत गरिएको छ । चियाबारी, सल्लाका सुरिला रुखले वरिपरिबाट घेरिएको यस क्षेत्रमा पुग्दा स्वर्गीय आन्नद प्राप्त हुने गरेको पर्यटकहरु बताउछन् । तर कच्ची सडकले गरेर भने अलि कठिन हुने गरेको गुनासो पनि पर्यटकहरुको रहेको छ ।
दृष्यावलोकनका लागि अन्तुडाँडामा बनाइएको टावरबाट मात्र होइन, वरपरबाट पनि सूर्याेदय र सूर्यास्त अत्यन्त आकर्षक देखिन्छ । अन्तुको विकासका लागि केही योजनाहरू बनेका भए पनि अझै केही योजनाहरू बनाउन बाँकी रहेका छन् । अन्तुमा बाह्रै महिना पर्यटक आइरहन्छन् । हरियो गलैंचा ओछ्याएझैं चटक्क मिलेको चियाबारी, कोणधारी धुपी, सल्ला, झुम्का–झुम्का अलैंची, सिजनअनुसार फलफूल तथा अरु बाली श्रीअन्तुको आकर्षण हुन् ।
सूर्योदय नगरपालिकाको केन्द्र फिक्कल बजारबाट १४ किलोमिटर पूर्वमा रहेको श्रीअन्तुमा सडक, सञ्चार र खाना बस्नका लागि उल्लेख्य होमस्टे सञ्चालनमा छन् । होमस्टेको स्वाद चाख्न र कामको थकान मेटाउन पनि यहाँ बर्षेनी पर्यटक बढ्ने गरेको अन्तु पर्यटक विकास समितिका अध्यक्ष धनकुमार आलेले बताउनुभयो ।
पर्यटकहरुको भीड लाग्ने भएपनि बसाई लम्बाउने पहलहरु गर्न जरुरी छ । त्यसका साथै यहाँ वरिपरी अव्यवस्थित रुपमा रहेका निर्माण सामाग्रीलाई हटाई श्रीअन्तुलाई सुन्दर बनाउन जरुरी देखिन्छ ।




