काठमाडौं, २३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ विदेश मन्त्रीवाङ यी बीच शिष्टाचार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको शिष्टाचार भेटवार्तामा दुईपक्षीय हितका विविध बिषयमा कुराकानी भएको छ ।
भेटपछि प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराईले दिएको जानकारी अनुसार नेपाल र चीनबीचको सम्बन्धलाई अझ उचाईंमा पुर्याउन आफू प्रतिवद्ध रहेको प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले आफ्नो विगतको चीन भ्रमणको स्मरण गर्दै त्यस बेलामा भएका सहमती कार्यन्वयन गर्दै सम्बन्धलाई अझ उचाईंमा पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ ।
“हामी विगतका सहमती अनुसार अघि बढेर जान चाहन्छौं र तपाईंको यो भ्रमणले पनि त्यसतर्फ अघि बढ्नलाई प्रेरित गर्नेछ भन्ने विश्वास छ” भेटमा प्रधानमन्त्रीले भनेको कुरा उद्घृत गर्दै डा.भट्टराईले भन्नुभयो “दुई पक्षीय सम्बन्धका विभिन्न पक्षहरु छन् । शैक्षिक, सामाजिक क्षेत्र होस, चाहे पूर्वाधार विकासको क्षेत्र होस यी सहयोगका सबै क्षेत्रलाई बिस्तार गर्ने र चीनले नेपाललाई महत्वका साथ हेरेको छ र महत्वका साथ अगाडी बढाउने कुरा जुन गरेको छ त्यसमा नेपाल खुशी व्यक्त गर्दछ ।”
प्रधानमन्त्री ओलीले नेपाल एक चाइना नीतिको पक्षमा रहेको स्पष्ट पार्नुभएको छ । “नेपालको भूभाग हामी हाम्रा कुनै पनि छिमेकी र मित्र राष्ट्रका विरुद्धमा प्रयोग गर्न दिदैंनौ भन्नेमा हामी दृढ छौं” भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले नेपालले चीनबाट उच्च स्तरीय भ्रमण चाँडोहोस भन्ने चाहेको बताउनुभएको छ । चिनियाँ विदेशमन्त्रीले त्यसतर्फ तयारी भइरहेकोले यो अपेक्षा चाँडै पुरा हुने बताउनुभएको छ ।
“चीनबाट उच्च स्तरीय भ्रमणको तयारी हुँदैछ । त्यो भ्रमण उपयुक्त समयमा हुने नै छ” विदेश मन्त्री यी को भनाइ उद्घृत गर्दै डा.भट्टराईले भन्नुभयो ।
प्रधानमन्त्री ओलीलाई चिनीयाँ राष्ट्रपति सि जीङ पिङ र प्रधानमन्त्री लि खच्याङले सुस्वास्थ्यको लागि पठाएको शुभकामना विदेश मन्त्रीयीले सुनाउनुभएको थियो । यो सदासयताकोलागि प्रधानमन्त्री ओलीले धन्यवाद व्यक्त गर्नुभएको छ ।