काष्ठमण्डप पुनःनिर्माणमा नातिदेखि बाजेसम्म | ईमाउण्टेन समाचार

Our Network

भदौ १३ २०८३, आइतबार

काष्ठमण्डप पुनःनिर्माणमा नातिदेखि बाजेसम्म

kasthamandap

काठमाडौं, २५ साउन । काठैकाठले बनेको विश्वप्रसिद्ध सत्तल काष्ठमण्डप पुनःनिर्माणमा भक्तपुर डिबुछो, गलसीको एउटा राजचल परिवार एक वर्षदेखि निरन्तर खटिइरहेको छ ।

सात पुस्तादेखि काठका बुट्टा कुँद्ने काम गर्दै आएको राजचल परिवारको तीन पुस्ता अहिले काठमण्डप पुनःनिर्माणमा जुटेको हो । हनुमानढोकास्थित पुरानो प्रहरी कार्यालयको भवन परिसरमा राँवो, बसिला, रन्दा र आरासँग दैनिकी बिताइरहेका ७३ वर्षे लक्ष्मीभक्त राजचलले भन्नुभयो, “जानेकै यही त हो, अरू के काम गर्ने ? स्कुल बिदा भएको बेला त नातिसमेत आएर सघाउँछ । ”

काष्ठमण्डपको दोस्रो तहको थाममाथि राख्ने निदालको गास बनाउन तल्लीन लक्ष्मीभक्तले दाउराको फेरले पसिना पुछ्दै भन्नुभयो, “ऐतिहासिक सम्पदा संरक्षणमा पसिना बगाउन पाउँदा गर्व लाग्छ । एउटा इतिहासमा इँटा थपेजस्तो हुन्छ । ” लक्ष्मीभक्तका दुई छोरा लक्ष्मीप्रसाद र कृष्णप्रसादसहित भाइ, भान्जा र भतिजा गरी १० जनाको समूहले काष्ठमण्डपको थाम, निदाल, मेठ, झ्यालका बुट्टा बनाइरहेका छन् ।

यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।