नागरिकता ऐन विपरित नागरिकता प्रदान गर्नेलाई कारवाही गर्न माग | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८२, शनिबार

नागरिकता ऐन विपरित नागरिकता प्रदान गर्नेलाई कारवाही गर्न माग

hridayesh tripati

काठमाडौं, २१ साउन । स्वतन्त्र सांसद हृदयेश त्रिपाठीले नागरिकता ऐन विपरित नागरिकता प्रदान गर्ने अधिकारीलाई कारवाही गरेर त्यसको जानकारी सदनलाई गराउन माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको मंगलबारको विशेष समयमा बोल्दै सांसद त्रिपाठीले हालै मन्त्रिपरिषद् बैठकले केही नागरिकता खारेज गर्ने निर्णय गरेको सन्दर्भमा उहाँले नागरिकता दिने लाई पनि कारवाही गर्न माग गर्नुभएको हो । उहाँले ‘नागरिकता पाउनेलाई मात्रै कारवाही गर्ने तर नागरिकता दिनेमाथि कारवाही किन भएन ?’ भनी प्रश्न गर्नुभयो ।

सांसद त्रिपाठीले नागरिकता ऐन अनुसार गलत नागरिकता प्रदान गर्ने माथि कारवाही भएको सुन्नमा नआएको भन्दै उहाँले ती अधिकारीलाई कारवाही गरेर सरकारले सदनलाई जानकारी गराउन माग गर्नुभयो ।

सांसद त्रिपाठीले यस बर्ष पनि रासायनिक मलको अभावले कृषि क्षेत्र पुन प्रभावित हुने देखिएको भन्दै बर्षेनी मल अभावको कर्मकाण्डी समस्या समाधान तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

यसैगरी नेपाली काँग्रेसका सांसद मोहमद आफताब आलमले तराईका जिल्लामा बाढी र डुबानबाट प्रभावितका लागि रातह तथा पुनस्थापनामा सरकार गम्भीर नभएको भन्दै त्यस तर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

बिचार राख्ने क्रममा राजपाका सांसद लक्षमणलाल कर्णले बाढी पीडीतको उचित प्रबन्धका तत्काल कारवाही अघि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले बाढी प्रभावितको राहत तथा पुनस्थापनाका लागि सदनमा आवाज उठिराखेको भएपनि त्यसको सुनुवाई नभएको मा आक्रोश पोख्नुभयो ।

यसैगरी अन्य संसदहरुले पनि विभिन्न बिषयमा आफ्नो रायहरु राख्नुभयो ।