काठमाडौं, २५ चैत । सरकारी चिकित्सकहरूले आफूहरूलाई संघीय सरकारको मातहत राख्न माग गर्दै सोमबारपनि पनि आकस्मिक बाहेकका स्वास्थ्य सेवा बहिष्कार गरेका छन् ।
सरकारी चिकित्सकहरुले सोमवार उपत्यकाका कुनै पनि सरकारी अस्पतालमा आकस्मिक बाहेकका बिरामी हेरेका छैनन भने , देशभरनै सरकारी चिकित्सकहरुले आकस्मिक बाहेकका काम बन्द गरेका छन् । सरकारले सरकारी चिकित्सकहरूलाई निजामती कर्मचारी जस्तै तीन तहको सरकारमा समायोजन गर्न खोजेपछि उनीहरू आन्दोलित भएका हुन् ।
सरकारी चिकित्सक संघ गोदानले चिकित्सकहरूलाई संघीय सरकारको मातहत हुने गरी प्रदेश र स्थानीय तहमा परिचालन गर्नुपर्ने माग राख्दै आएको छ । मुलुकभर करिब १४ सय सरकारी चिकित्सक छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन १८ गते सरकारी चिकित्सकका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।
प्रधानमन्त्रीको प्रतिबद्धतापछि संघले त्यतिबेला गर्दै आएको आन्दोलन स्थगित गरेको थियो । तर माग पूरा नभएपछि सरकारी चिकित्सकहरु गत शुक्रवारदेखि पुनः आन्दोलनमा उत्रिएका हुन् । हड्तालमा रहेपनि हावा हुरी प्रभावित बारा र पर्सा जिल्लामा भने सरकारी चिकित्सकले नियमित सेवा दिने गोदानले जनाएको छ ।